एलपीएल-६ : खत्री चम्किंदा उद्घाटन खेलमा सत्यवती एकेडेमी विजयी

२०७८ फाल्गुन २, सोमबार १८:१५

कैलालीको धनगढीमा सोमबार देखि अन्डर-१९ बिद्यालय स्तरीय धनगढी मेयर लिटर फ्लावर प्रिमियर लिग टि-ट्वान्टी प्रतियोगिताको ( एलपीएल ) छैठौं संस्करण सुरु भएको छ।

धनगढी स्थित संघीय प्रहरीको खेल मैदानमा सम्पन्न प्रतियोगिताको उद्घाटन खेलमा सत्यवती एकेडेमीले आयोजक लिटल फ्लावरलाई ७३ रनले पराजित गर्यो।

खेलमा सत्यवती एकेडेमीले दिएको १९८ रनको लक्ष्य पछ्याउने क्रममा लिटल फ्लावरले पुरै २० ओभर ब्याटिंग गरेता पनि ८ विकेट क्षेतीमा १२४ रन मात्र बनाउन सक्यो।

लिटल फ्लावरको ब्याटिंगमा कप्तान बिपिन रावलले सर्वाधिक ६२ रन बनाए जुन क्रममा ४५ बलमा ८ चौका र २ छक्का प्रहार गरे। यस्तै नरेन भट्टले २८ रन बनाए। सत्यवती एकेडेमीका बलर निरज भट्ट र युवराज खत्रीले समान दुई विकेट लिए भने सन्तोष कार्की, सन्दिप खत्री र सुजन गौतमले समान एक विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको सत्यवती एकेडेमीले निर्धारित २० ओभरमा ८ विकेट क्षेतीमा १९७ रन बनाएको थियो।

सत्यवती एकेडेमीको लागि सन्दिप खत्रीले सर्वाधिक ६६ रन बनाए जुन क्रममा २९ बलमा २ चौका र ७ छक्का प्रहार गरे। यस्तै सन्तोष कार्कीले ३३ रन, खगेन्द्र जोशीले ३२ रन तथा आदील अन्सारीले ३० रन योगदान दिए। लिटल फ्लावरका बलर प्रकाश जैसी, अनुराग सिंह र सुवास ऐरले समान दुई विकेट लिए।

खेलको प्लेयर अफ द म्याच सत्यवती एकेडेमीका सन्दिप खत्री घोषित भए। यस्तै गेम चेन्जरस निरज भट्ट तथा म्याक्सीमम सिक्सर सन्दिप खत्री घोषित भए।

प्रतियोगिता अन्तर्गत मंगलबार दुई खेल हुनेछन्। बिहान ९:३० बजे हुने पहिलो खेलमा होलिल्याण्ड इंगलिश बोर्डिंग स्कुल र एभरेष्ट एकेडेमीले तथा दिउँसो १:३० बजे गुरुकुल इंगलिश मिडियम स्कुल र स्टेपिंग इंगलिश स्कुलले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितामा १० बिद्यालय टिम सहभागी छन्। सहभागी टिमहरुलाई ‘ए’ र ‘बि’ गरि दुई समुहमा बिभाजन गरिएको छ। जस अनुसार समूह ‘ए’ मा हिमालयन ह्वाइट हाउस वर्ल्ड स्कुल काठ्माण्डौँ, सैनिक आवासीय महाविद्यालय तेघरी कैलाली, होली ल्यान्ड इङ्लिस बोर्डिङ स्कुल अत्तरिया, शारदा सरस्वती सेकेन्डरी दोधारा चाँदनी कञ्चनपुर र एभरेस्ट एकेडेमी अत्तरिया कैलाली रहेका छन् । त्यसै गरी समूह ‘बी’ मा आयोजक लिटल फ्लावर बोर्डिङ हाई स्कुल धनगढी, गुरुकुल इङ्लिस मिडियम स्कुल लम्की, स्टेपिङ्ग स्टोन इङ्लिस बोर्डिङ स्कुल धनगढी, विद्या भूषण पब्लिक स्कुल धनगढी र सत्यवती एकेडेमी अत्तरिया रहेका छन् ।

प्रतियोगिताको विजेता टिमले १ लाख ५० हजार तथा उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै प्रतियोगिताको उत्कृस्ट खेलाडीले २० हजार रुपैयाँ, उत्कृस्ट ब्याट्सम्यान र बलरले समान १० हजार रुपैयाँ, प्रत्येक खेलको प्लेयर अफ द म्याचले २ हजार रुपैयाँ, प्रत्येक खेलको गेम चेन्जरले १ हजार रुपैयाँ तथा प्रत्येक खेलको सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीले ५०० रुपैयाँ प्राप्त गर्नेछन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy