Nepal T20 : लुम्बिनीको पहिलो हार, शेख दाजुभाईको उत्कृष्ट साझेदारीमा पोखराको जित

दोस्रो विकेटका लागि दाजु-भाइ आरिफ र आसिफले ९५ रनको साझेदारी गरेसँगै नेपाल टी २० लिगमा पोखरा एभेन्जर्सले लुम्बिनी अल स्टार्सलाई ९ विकेटले पराजित गरेको छ। स्कोरकार्ड 

शुक्रबार फार वेस्टर्न युनाइटेडलाई पराजित गरेको पोखराको यो सात खेलमा दोस्रो जित हो।  सुरुआती पाँच खेलमा सतप्रतिशत नतिजा निकालेको लुम्बिनी पहिलो पटक पराजित भएको हो।

त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको लुम्बिनीले १९.५ ओभरमा सबै विकेट गुमाएर एक सय २७ रनको योगफल तयार गरेको थियो।

जवाफी ब्याटिङमा उत्रिएको पोखराले १८.२ ओभरमा एक विकेट गुमाएर लक्ष्य पूरा गर्यो। पोखराका लागि ६२ बलको सामना गरेका आसिफले ९ चौकासहित अविजित ७७ रनको इनिङ खेले। आरिफ ३७ बलमा २६ रन बनाएर अविजित रहे। त्यसअघि ओपनर सुमित महर्जन १३ रनमा आउट भएका थिए। लुम्बिनीका लागि किशोर महतोले एक विकेट लिँदा अन्य बलर असफल रहे।

पहिलो इनिङमा लुम्बिनीका लागि हरमित सिंहले ३८ रनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। बलिङतर्फ विपिन खत्री र जहिर खानले तीन-तीन विकेट लिए। त्यसबाहेक आरिफ शेख, तुल थापा र सिद्धान्त लोहनीले एक-एक विकेट लिएका थिए।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy