प्रम कप : कर्णालीलाई सहजै पराजित गर्दै लुम्बिनी सेमीफाइनल नजिक

लगातार दोश्रो जित दर्ता गर्दै लुम्बिनी प्रदेश प्रधानमन्त्री कप राष्ट्रिय महिला टि-२० प्रतियोगिताको सेमीफाइनल नजिक पुगेको छ।

समुह ‘ए’ अन्तर्गतको पहिलो खेलमा प्रदेश-२ लाई ९ विकेटले पराजित गरेको लुम्बिनीले आज दोश्रो खेलमा कर्णाली प्रदेशलाई पनि ९ विकेटलेनै सहजै पराजित गर्यो। स्कोरकार्ड 

आज हुने दोश्रो खेलमा एपीएफ र प्रदेश-२ प्रतिस्पर्धा गर्नेछन् जुन खेलमा एपीएफ विजयी भएको खण्डमा एपीएफ र लुम्बिनी दुवै समुह ‘ए’ बाट सेमीफाइनल प्रवेश गर्नेछ।

लमही क्रिकेट मैदानमा सम्पन्न खेलमा कर्णालीले दिएको ३५ रनको सामान्य लक्ष्य लुम्बिनीले मात्र १ विकेट गुमाएर ३.१ ओभरमा पुरा गर्यो।

लुम्बिनीको लागि कप्तान नेरी थापाले अविजित ९ , गीता गोसाईले ४ तथा सरस्वति जीएमले ३ रन योगदान दिए। कर्णलाईले २० रन अतिरिक्तको रुपमा दियो जसमा १७ वाइड सामेल थियो। कर्णालीको लागि १ मात्र विकेट अन्जु गुरुङले हात पारिन्।

यस अघि टस जितेर ब्याटिंग रोजेको कर्णालीले निर्धारित १३ ओभरमा ६ विकेट गुमाएर ३४ रन बनाएको थियो। कुहिरोको कारण खेल ढिला सुरु भएकोले इनिंग्स १३ ओभरमा झारिएको थियो।

कर्णालीको ब्याटिंगमा दिक्ष्या पुरीले सर्वाधिक ८ रन, अंशु शाक्यले अविजित ७ रन योगदान दिईन्। तृष्णा बिश्वकर्मा, मोनिका राना र लक्ष्मी रिमालले समान २ रन बनाए। अतिरिक्तको रुपमा पाएको १३ रन कर्णालीको स्कोरमा सर्वाधिक योगदान रह्यो।

कर्णालीको लागि दीक्षा पुरीले मात्र चौका प्रहार गर्न सकिन् जसले २ चौका प्रहार गरिन्।

लुम्बिनीको बलिंगमा नेरी थापाले २ ( ३-०-१३-२ ) तथा गीता गोसाई र सरिता जिसीले समान १ विकेट हात पारे। लुम्बिनीले २ वटा विकेट रन आउट मार्फत लियो।

खेलको प्लेयर अफ द म्याच लुम्बिनीको कप्तान समेत रहेकी नेरी थापा घोषित भईन्।

कर्णाली हिजो भएको खेलमा एपीएफसंग २०४ रनले पराजित भएको थियो जुन क्रममा एपीएफले दिएको २३६ रनको लक्ष्य पछ्याउने क्रममा कर्णालीले ३१ रन मात्र बनाउन सकेको थियो।

अन्तिम खेलमा कर्णालीले भोलि प्रदेश-२ संग प्रतिस्पर्धा गर्नेछ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy