जितका साथ सुरुवात गर्ने लक्ष्यमा लुम्बिनी

२०८२ मंसिर ५, बिहीबार ०९:५९

काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल) मा आज एक खेल हुदैछ । आजको खेलमा लुम्बिनी लायन्सले चितवन राइनोजको सामना गर्दैछ । दुई टोलीबीचको खेल नेपालीसमयअनुसार अपरान्ह ४ बजे पछि टियु अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुदैछ ।

यस सिजनको पहिलो खेल खेल्दै गरेको लुम्बिनी अघिल्लो संस्करणमा खासै राम्रो प्रदर्शन गर्न नसकेकोमा जितको साथ यस संस्करणको सुरुवात गर्ने लक्ष्यमा छ । दोस्रो खेल खेल्दै गरेको चितवन पनि जितको लयलाई निरन्तरता दिने लक्ष्यमा रहेको छ ।

पहिलो खेलमा चितवनले कर्णाली याक्सलाई पराजित गरेको थियो । लुम्बिनीले अघिल्लो संस्करणमा चितवनसँगको खेल मात्र जितेको थियो । लुम्बिनी सोही लयलाई निरन्तरता दिने लक्ष्यमा छ । चितवन भने अघिल्लो संस्करणको हारलाई जितमा बदल्ने लक्ष्यमा रहने छ ।

राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनीको टोलीमा अस्ट्रेलियाका क्रिकेटर डार्सी शर्ट, अफगानीस्तानका गुलबदीन नैब, नामिबियाका रुबेन ट्रम्पलम्यान तथा जेजे स्मिथ जस्ता विदेशी खेलाडी रहेका छन् ।

लुम्बिनीमा सन्दीप जोरा, दिलिप नाथ, शेर मल्ल, अबिशेष गौतम, तिलक राज भण्डारी, दुर्गेश गुप्ता तथा सुमित महर्जन जस्ता राष्ट्रिय खेलाडी रहेका छन् । लुम्बिनीको मुख्य प्रशिक्षकमा भारतीय टोलीका पुर्व खेलाडी टिनु याहानान रहेका छन् ।

उता, कुशल मल्लको कप्तानीमा रहेको चितवनमा डाबिड मिलान, सैफ जैब, सोहेल तनविर तथा रवि बोपारा जस्ता बिदेशी खेलाडी रहेका छन् । चितवनमा देव खनाल, अर्जुन साउद, कमलसिंह ऐरी, रिजन ढकाल लगायतका राष्ट्रिय खेलाडी रहेका छन् । चितवनको मुख्य प्रशिक्षकमा कलाम अलि रहेका छन् ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy