- विकेटनेपाल – १३ चैत्र, मंगलबार
बहुप्रतिक्षित दोस्रो संस्करणको धनगढी प्रिमियर लिग डिपीएलको टिम महेन्द्रनगर युनाइटेडले २ बिदेशी खेलाडीको नाम सार्वजनिक गरेको छ।
डिपीएलमा प्रत्येक टिमले २ जना बिदेशी खेलाडी अनिवार्य टिममा राख्नुपर्ने ब्यबस्था गरेको छ। नियमानुसार बिदेशी खेलाडी सार्वजनिक गर्ने महेन्द्रनगर तेस्रो टिम बनेको छ। यस अघि रुपन्देही च्यालेन्जर्स र काठमाडौं गोल्डेन्सले २-२ जना बिदेशी खेलाडी सार्वजनिक गरिसकेका छन्।
बिनोद भण्डारी रणनीतिक खेलाडी रहने महेन्द्रनगर युनाइटेडले यसअघि एभरेष्ट प्रिमियर लिगको दोस्रो सिजनमा भैरहवा ग्ल्याडीएट्रसबाट खेलिसकेका दुई खेलाडीलाई अनुबन्धित गरेको छ। अनुबन्धितहुने दुई खेलाडीहरुमा पुनित बिष्ट र पुनित मेहरा रहेका छन्। पुनित बिष्ट दायाँहाते विकेटकिपर ब्याट्सम्यान हुन् भने पुनित मेहरा बायाँ हाते स्पिन बलर र बायाँ हाते ब्याट्सम्यान हुन्।
ज्ञानेन्द्र मल्ल रणनीति खेलाडी रहेको काठमाडौँ गोल्डेन्सले यस अघि एभरेस्ट प्रिमियर लिग इपिएलमा ललितपुर प्याट्रिएट्सको लागि खेलेका दुई भारतीय क्रिकेटर जयकिशन कोल्सावाला र सन्नी पटेललाई अनुबन्धित गरेको छ। जयकिशन विकेटकिपर तथा ओपनिंग ब्याट्सम्यानको भूमिकामा खेल्छन् भने सन्नी पटेल आक्रामक ब्याट्सम्यान तथा लेग स्पिन बलिंग गर्ने गर्छन्।
यस्तै शक्ति गौचन कप्तान तथा रणनितिक खेलाडी रहेको रुपन्देही च्यालेनजर्सको टोलिमा रहने दुई खेलाडीमा एक भारतीय खेलाडी र एक ओमानका खेलाडी रहेका छन्। भारतका दिपक प्रसाद र ओमानका सुफ्यान मेहमुद डिपिएल दुईमा रुपन्देहि टोलिको हिस्सा रहनेछन्। सुफ्यान ओमानका अन्तर्राष्ट्रिय खेलाडी हुन् भने दिपक प्रसाद भारत कोलकाताका घरेलु खेलाडी रहेका छन्।
महेन्द्रनगरले डिपीएल अक्सनमा करन केसी र आरिफ शेखलाई सर्वाधिक मूल्य रु १,५०,००० मा अनुबन्धित गरेको थियो। यस्तै भूबन कार्की र रोहित कुमार पौडेललाई समान रु १,००,००० रुपैयाँमा अनुबन्धित गरेको थियो।
इपिएलमा पुनित बिष्टको राम्रो प्रदर्शन :
२०१७ डिसेम्बरमा सम्पन्न इपिएलमा भैरहवा ग्ल्याडीएट्रसका लागि खेलेका पुनित बिष्टले राम्रो प्रदर्शन गरेका थिए। रोमान्चक फाइनल खेलमा बिराटनगर वारियर्ससंग झिनो अन्तरले पराजित भएपनि भैरहवाको प्रदर्शन प्रतियोगितामा उत्कृस्ट प्रदर्शन गरेको थियो। शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवालाई फाइनलसम्म पुर्याउन पुनित बिष्टले आफुले खेलेका ३ खेलमा ११७ रन बनाएका थिए। बिष्ट दिल्लीका खेलाडी हुन् र उनले सन् २०१२ को सिजनमा दिल्ली डेयरडेभिल्सबाट आइपिएल समेत खेलेका थिए। यस्तै अर्का खेलाडी पुनित मेहेराभने दिल्लीबाट रणजी ट्रफी खेल्ने गर्छन्।
पुनित बिस्टले घरेलु क्रिकेटमा दिल्ली तथा जम्मु कश्मिरबाट प्रथम श्रेणीको क्रिकेट खेल्ने गर्दछन भने सन् २०१२ को आइपिएल क्रिकेटमा दिल्ली डेयरडेभिल्सबाट पनि खेलिसकेका छन् । सन् २००६ मा दिल्लीबाट प्रथम श्रेणीको क्रिकेट खेल्न सुरु गरेका बिस्टले अहिले जम्मु कश्मिरबाट खेल जीवन अगाडी बढाइरहेका छन् ।

विकेटकिपरको भूमिकामा खेल्ने ३१ बर्षीय बिस्टले ७७ प्रथम श्रेणी खेलको १०४ इनिंगमा २६७९ रन बनाएका छन् जसमा ५ शतक सहित सर्बाधिक अविजित २२३ रन रहेको छ ।
लिस्ट ए क्रिकेटको ५४ इनिंगमा ३३.८३ को औसतमा १४५५ रन बनाएका छन भने २८ टी२० इनिंगमा १५ को औसतमा ३९० रन बनाएका छन् ।
पुनित मेहरा
पुनित मेहराले पनि एभरेस्ट प्रिमियर लिगमा भैरहवा ग्लाडीएटर्सबाट नै खेलेका थिए । प्रतियोगिताको ८ खेल खेलेका उनले भैरहवालाई फाइनलसम्म पुर्याउन ११३ भन्दा माथिको स्ट्राइक रेटमा १०६ रन बनाएका थिए भने ६ भन्दा थोरैको ईकोनोमीमा ८ विकेट समेत हात पारेका थिए ।
पुनित मेहराले भारतको दिल्लीबाट सन् २०१० देखि २०११ सम्म लिस्ट ए क्रिकेट खेल्ने गर्दथे भने २०१२ सम्म टी२० क्रिकेट खेलेका थिए । उनि देब्रे हाते ब्याट्सम्यान हुन् भने स्लो लेफ्ट आर्म अर्थोडोक्स बलिंग पनि गर्दछन । २९ बर्षीय उनले ६ लिस्ट ए खेलको ५ इनिंगमा ११२ रन बनाएका छन् भने ३ विकेट समेत लिएका छन् ।
त्यस्तै टी२० क्रिकेटमा १२ इनिंगमा ११७ भन्दा माथिको स्ट्राइक रेटमा २१३ रन बनाएका छन् भने ८ इनिंगमा ५ विकेट समेत हात पारेका छन् ।
डिपीएलमा अन्य टिमहरुले आफ्नो टिममा खेल्ने बिदेशी खेलाडीको नाम सार्वजनिक गरेको छैनन्। पारस खड्काको टिम बिराटनगर किंग्सले एभरेस्ट प्रिमियर लिगमा उनको टिम बिराटनगर वारियर्सबाट खेलेका अंशुमन रथ र बाबर हयातलाई टिममा समाबेश गर्ने बताईएता पनि घोषणा भने गरिसकेको छैन।
डीपीएलको दोस्रो संस्करणको खेल तालिका सार्वजनिक भइसकेको छ। चैत्र १७ गतेबाट धनगढीमा सुरुहुने प्रतियोगिताको पहिलो खेलमा सोमपाल कामी रणनीतिक खेलाडी रहेको टिम चौराहा धनगढीले ज्ञानेन्द्र मल्ल रणनीतिक खेलाडी रहेको काठमाडौं गोल्डेनसको सामना गर्ने छ। खेल दिउँसो १:०० बजेबाट सुरुहुने छ।
केहिदिन अघि मात्र आईसीसीबाट मान्यता प्राप्त गरेको दोस्रो सिजनको डीपीएलको बिजेताले २५ लाख रुपैयाँ पाउनेछ जुन नेपाली घरेलु क्रिकेटकै सर्बाधिक पुरस्कार राशी हो। यस्तै उपविजेताले रु. १० लाख, तेश्रो हुने टिमले रु. ३ लाख तथा चौथो हुने टिमले रु. २ लाख पुरस्कार पाउनेछ। यस्तै उत्कृष्ट हुने खेलाडीले टिभीएस अपाचे १८० सिसिको मोटरसाइकल पाउनेछ भने प्रत्येक खेलको म्यान अफ द म्याचले रु. १० हजार पाउनेछ। आयोजकले प्रतियोगिताको पुरस्कारको लागि मात्रै ५० लाख रुपैयाँ कम्तिमा खर्च हुने बताएको छ। प्रतियोगिताको अनुमानित लागत ३ करोड रुपैयाँ रहेको छ।
प्रतियोगितामा खेलाडी छनौट गर्नका लागि गत महिना सम्पन्न अक्सन मार्फत सम्पन्न बसन्त रेग्मी, करन केसी, सागर पुन र आरिफ शेख सर्वाधिक महंगा खेलाडी बनेका थिए। बसन्त रेग्मीलाई बिराटनगर किंग्स, करन केसी र आरिफ शेखलाई महेन्द्रनगर युनाईटेड र सागर पुनलाई रुपन्देही च्यालेन्जर्सले रु १,५०,००० को बोलि लागाएका थिए। सबै खेलाडी “ए” श्रेणीका खेलाडी हुन्। अक्सनमा ‘ए’ श्रेणी मा रहेका खेलाडीहरुको न्यूनतम मूल्य १ लाख बाट बोलि लाग्न सुरु हुने र अधिकतम १ लाख ५० हजारसम्म बोलि लाग्ने नियम थियो।