महेन्द्रनगर क्रिकेट एकेडेमी निर्माण अन्तिम चरणमा, महिला क्रिकेटरलाई निशुल्क प्रशिक्षण

२०७६ श्रावण २८, मंगलवार १६:००

क्रिकेट संस्कृतिको विकास र खेलाडीहरुको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यका साथ महेन्द्रनगर क्रिकेट एकेडेमीको स्थापना हुने भएको छ।

महेन्द्रनगर वडा नम्बर-३ मा निर्माणाधीन एकेडेमीमा स्थानीय पुर्व राष्ट्रिय स्तरका खेलाडी तथा धनगढी प्रिमियर लिग डीपीएलका सह-मालिक निरज चन्दको लगानी रहेको छ।

एकेडेमीको निर्माणकार्य ७० प्रतिशत सम्पन्न भइसकेको र भदौ अन्तिम सातासम्म संचालनमा ल्याइने लक्ष्यका साथ अघि बढीरहेको संचालक चन्दले विकेटनेपाललाई बताएका छन्। ८ कट्ठा क्षेत्रफल ओगटेको एकेडेमीको लागत मूल्य १५ लाख रुपैयाँ रहेको छ।

“७० प्रतिशत काम सकिएको छ। मैदान सम्याउने र ड्रेनेज सिस्टमको काम मात्र बाँकी रहेको छ। लगातार वर्षाको कारण समयमा काम गर्न वाधा पुगेको हो”

नेपाली राष्ट्रिय टिमका पुर्व तिब्र गति बलर कलाम अलिलाई एकेडेमीको मुख्य प्रशिक्षकको जिम्मा दिईएको छ। यस्तै भारत दिल्लीका रणजी क्रिकेटर तथा नेपाली घरेलु टि-२० लिगमा प्रतिनिधित्व गरिसकेका पुनित मेहरालाई स्ट्रेन्थ र कन्डिनिंग कन्सल्टेन्टको रुपमा नियुक्त गर्ने समेत योजना रहेको चन्दले बताए। बिभिन्न राष्ट्रिय क्रिकेटरले समेत प्रशिक्षणमा सहायता गर्नेछन्।

“एकेडेमीले खेलाडीहरुलाई स्तरीय प्रशिक्षक उपलब्ध गराउनेछ भने खेलको भिन्न परिस्थितिमा प्रतिस्पर्धा गर्न तयार गर्नेछ। एकेडेमीले क्रिकेट संस्कृतिको विकासमा समेत महत्वपूर्ण भूमिका खेल्नेछ।” चन्दले बताए।

Kalam Ali
Kalam Ali

भविष्यमा खेलाडीहरुलाई विदेश टुर लैजाने तथा प्रतियोगिता आयोजना गर्ने समेत उद्देश्य एकेडेमीले लिएको छ।

“हामि ५० ओभर क्रिकेटलाई बढी प्राथमिकता दिएर अभ्यास गराउनेछौ। यस क्रममा खेलाडीहरुलाई टुर तथा लामो फर्म्याटको प्रतियोगिता समेत आयोजना गर्ने उद्देश्य लिएका छौँ”

एकेडेमीलाई एकेडेमिक पार्टनरको रुपमा इन्टरनेसनल पब्लिक स्कुलले तथा सह प्रायोजकको रुपमा ममताज वेडिंग वेल्सले सहयोग गर्नेछ।

महिला क्रिकेटरलाई निशुल्क 

एकेडेमीले अभ्यास गर्न आउने महिला क्रिकेटरहरुलाई शुल्क नलिएर प्रशिक्षण दिलाउने घोषणा गरेको छ। महिला क्रिकेटको विकास तथा उनीहरुको योगदानको कदर गर्दै निशुल्क प्रशिक्षण दिलाउन लागिएको चन्दले बताएका छन्।

निरज चन्द ( बायाँ ) राष्ट्रिय स्तरको खेलाडी रहीसकेका छन् भने डीपीएल टिम महेन्द्रनगर युनाइटेडका सह-मालिक रहेका छन् 

“महेन्द्रनगर क्रिकेट एकेडेमीले महिला क्रिकेटरलाई कुनै पनि शुल्क लिनेछैन। एकेडेमीले महिला क्रिकेटरहरुको योगदानको सम्मान गर्दै यो निर्णय गरेको हो। भोलेन्टियरको रुपमा रकम सहयोग गर्न सक्नुहुन्छ जुन खेलाडीहरुको व्यक्तिगत इच्छा हो। पैसाले महिला क्रिकेटरको एकेडेमीसम्म क्रिकेट सिक्ने यात्रामा बाधा बन्ने काम नगरोस् भन्ने चाहना हो।”

नेपालमा महिला क्रिकेटको विकास हुनुपर्ने स्वच्छ उद्देश्यले यो कदम चालेको चन्दले बताए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy