नेपालद्वारा मलेसिया ६९ रनले पराजित, सयौं खेलमा सन्दिपको कीर्तिमान

२०७८ बैशाख ९, बिहीबार १६:५०

नेपालमा जारी त्रि-देशीय टि-ट्वान्टी सिरिज अन्तर्गत लिग चरणको अन्तिम खेलमा मलेसियालाई ६९ रनले सहजै पराजित गर्दै नेपाल समुह चरणको विजेताको रुपमा फाइनल प्रवेश गरेको छ। नेपालले समुह चरणमा ४ खेलमा ३ जित र १ हार पछि ६ अंक बटुल्यो भने नेदरल्याण्डको ४ खेलमा २ जित , १ हार र १ बराबरी नतिजा पछि ५ अंक रह्यो। नेदरल्याण्ड उप-विजेताको रुपमा फाइनल प्रवेश गर्यो। मलेसिया भने ४ खेलमा ३ हार र १ बराबरी अंक पछि १ अंक सहित पुछारमा रह्यो।

सिरिजको उपाधिको लागि नेपाल र नेदरल्याण्ड बीच शनिवार १:१५ बजे प्रतिस्पर्धा हुनेछ।

टियु अन्तर्राष्ट्रिय मैदान किर्तिपुरमा सम्पन्न खेलमा नेपालले दिएको २१८ रनको विशाल लक्ष्य पछ्याउने क्रममा मलेसियाले १९.१ ओभरमा सम्पूर्ण विकेट गुमाएर १४८ रन मात्र बनाउन सक्यो।

६९ रनको जित रन अन्तरको आधारमा नेपालको मलेसिया बिरुद्ध हालसम्मकै ठुलो जित हो। टि-२० अन्तर्राष्ट्रियमा नेपालको यो हालसम्मकै चौथो ठुलो जित हो। नेपालले सबै भन्दा धरै भुटानलाई १४१ रनले, माल्दिभ्सलाई ८४ रनले तथा हंगकंगलाई ८० रनले पराजित गरेको छ। मलेसिया बिरुद्ध यस अघि नेपालको ठुलो रन अन्तरको जित ६ रनको जित थियो।

सोमपाल, कमल र सन्दिप चम्किए 

लक्ष्य पछ्याउने क्रममा मलेसियन ओपनर सयद अजिज ४ तथा अनवर अरुदीन ६ रन बनाएर सोमपाल कामिबाट आउट भए। तेश्रो विकेटको लागि कप्तान एहमद फैज र भिरनदिप सिंहले ४३ रन जोडे।

डेब्युमा कमल सिंह ऐरीले ३ विकेट लिए

३१ रन बनएका फैजलाई आठौँ ओभरमा सुशन भारिले क्याच आउट गराए। लगत्तै ओभरमा कमल सिंह ऐरीले ३ रन बनएका शर्भीन मुनिएन्डी र १३ रन बनाएका भिरनदिप सिंहको विकेट लिए।

पाँचौ विकेटको लागि अमिनुद्दीन रामली र ऐनुल हफिजले ५० रन जोडे। १४ औं ओभरमा सन्दिप लामिछानेले आक्रामक ब्याटिंग गरिरहेका रामलीलाई क्याच आउट गराए। रामलीले १८ बलमा ५ छक्का र १ चौका मद्दतले ४१ रन बनाए। सन्दिपले त्यसपछि १६ औं ओभरमा १४ रन बनएका फित्री शाम र ११ रन बनएका ऐनुल हफिजलाई पेभेलियन फर्काए जसपछि नेपाल खेलमा पूर्णत हावी बन्यो।

नेपालको बलिंगमा सन्दिप लामिछाने ( ४-०-४२-३ ) , सोमपाल कामि ( ४-१-२०-३ ) र डेब्यु गरेका कमल सिंह ऐरीले ( ३.१-०-१६-३ ) समान ३ विकेट लिए। सुशन भरिको नाममा १ विकेट ( ३-०-३५-१ ) रह्यो।

यस अघि टस हारेर ब्याटिंग गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २१७ रन बनाएको थियो।

टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको यो दोश्रो ठुलो योगफल हो। सबै भन्दा धेरै नेपालले भुटान बिरुद्ध २०१९ मा २३६ रन बनाएको थियो। यस्तै मलेसिया बिरुद्ध नेपालले बनाएको यो सबैभन्दा ठुलो योगफल हो। यस अघि नेपालले मलेसिया बिरुद्ध बनाएको सर्वाधिक योगफल १७३ रन थियो।

ओपनर कुशल भुर्तेल र आसिफ शेखले ३३ रनको ओपनिंग साझेदारी गरे। पाँचौ ओभरमा भुर्तेल १६ रन बनाएर मुहमद वफिकबाट क्याच आउट भए।

दोश्रो विकेटको लागि आसिफले कप्तान ज्ञानेन्द्र मल्लसंग ७३ रन जोडे। २५ बलमा ४ छक्का र १ चौका मद्दतले ४१ रन बनाएका मल्ल १२ औं ओभरमा अनवर रहमानबाट क्याच आउट भए। सोहि ओभरमा आसिफ शेख पनि एलबिडब्लु भए। आसिफले ३२ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ४२ रन बनाए।

Karan KC

चौथो विकेटको लागि दिपेन्द्र ऐरी र बिनोद भण्डारीले ३७ रनको साझेदारी गरे। १६ औं ओभरमा बिनोद भण्डारी र दिपेन्द्र ऐरीलाई पेभेलियन फर्काए। बिनोद भण्डारीले ८ बलमा ८ रन बनाए भने दिपेन्द्र ऐरीले १७ बलमा ५ चौका र १ छक्का मद्दतले ३३ रन बनाए।

त्यसपछि कुशल मल्ल र करन केसीले आक्रामक ब्याटिंग गर्दै नेपालको योगफल २ सय पार गराए। करनले मोगनले गरेको १८ औं ओभरमा ४ वटा छक्का प्रहार गरे।

अन्तिम ओभरको पहिलो बलमा सयद अजिजबाट क्याच आउट हुनु अघि करन र कुशलले ६६ रनको साझेदारी गरे। करनले मात्र १३ बलमा ७ छक्का मद्दतले ४५ रन बनाए। कुशल मल्लले अविजित १९ रन बनाए जुन क्रममा १० बलमा २ छक्का प्रहार गरे।

करन केसीले ११ बलमा ४४ रन बनाएका थिए। १२ औं बलमा छक्का प्रहार गर्न सकेको भए उनि भारतका युबराज सिंह संगै टि-२० अन्तर्राष्ट्रिय क्रिकेटको सबैभन्दा छिटो अर्धशतक पुरा गर्ने ब्याट्सम्यान बन्ने थिए। १२ औं बलमा करनले १ रन लिएका थिए।

मलेसियाको बलिंगमा सयद अजिज ( १-०-४-२ ) फित्री शाम ( ४-०-३२-२ ) र अनवर रहमान ( ४-०-३७-२ ) ले समान २ विकेट लिए। मुहमद वफिकले १ विकेट लिए।

सन्दिप लामिछानेको किर्तिमान 

मलेसियासंग ३ विकेट लिए संगै सिरिजमा सन्दिपको विकेट संख्या ११ पुगेको छ। यो संगै सन्दिप लामिछाने नेपालले खेलेको एकै सिरिज या प्रतियोगितामा संयुक्त रुपमा सर्वाधिक विकेट लिने बलर बनेका छन्। सयौं टि-२० खेल्ने पहिलो बलरको रेकर्ड बनाएका सन्दिपले अर्को किर्तिमान पनि आफ्नो नाम गरेका हुन्।  करन केसीले ओमानमा २०१९ मा सम्पन्न ५ वटा देश सम्मिलित सिरिजमा ११ विकेट लिंदै यो रेकर्ड बनाएका थिए जसलाई सन्दिपले बराबरी गरेका छन्। नेपाल र नेदरल्याण्ड बीच शनिवार हुने फाइनलमा करन र सन्दिप मध्ये धेरै विकेट लिने बलरले यो रेकर्ड आफ्नो नाम गर्ने मौका रहेको छ।

जारि सिरिजमा सन्दिपले टि-२० अन्तर्राष्ट्रियमा धेरै विकेट लिने नेपाली बलरको किर्तिमान बनाउने क्रममा करन केसीलाई पछि पारेका थिए। सन्दिपले कुल ४५ विकेट लिएका छन् भने करनले ४१ विकेट लिएका छन्। तेश्रो सर्वाधिक विकेटकर्ता सोमपाल कामिले ३१ विकेट लिएका छन्।

यो पनि पढ्नुस 

https://wicketnepal.com/sandeep-100th-t20-kirtiman-wn21/

https://wicketnepal.com/ipl-14-m15-report-wn21/

https://wicketnepal.com/icc-ranking-kushal-shirsh-100/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy