श्रीलंकन फास्ट बलर लासिथ मालिंगाले टि-ट्वान्टी क्रिकेटबाट मंगलबार सन्यास घोषणा गरेका छन्।
२९५ टि-२० मा ३९० विकेट लिएका मलिंगाले २०११ मा टेस्ट तथा २०१९ मा एकदिवसीय अन्तर्राष्ट्रियबाट सन्यासको घोषणा गरिसकेका थिए। यो वर्ष आईपीएल टिम मुम्बई इन्डीएन्सले टिममा समाबेश नगरेपछि मलिंगाले फ़्रेन्चाइज् क्रिकेटबाट सन्यास घोषणा गरिसकेका थिए।
१६.६० को स्ट्राइक रेट, ७.०७ को इकोनोमि र १९.६८ को औशतले टि-२० फर्म्याटमा बलिंग गरेका मालिंगा १०० टि-ट्वान्टी अन्तर्राष्ट्रिय विकेट लिने पहिलो बलर समे हुन्। उनले देशको लागि ८३ टि-२० अन्तर्राष्ट्रिय खेल्ने क्रममा १०७ विकेट हात पारे। उनि टि-२० अन्तर्राष्ट्रियमा अहिले पनि सर्वाधिक विकेटकर्ता हुन्। उनि पछि दोश्रो धेरै विकेट लिने बंगलादेशका शाकिब अल हसनले १०६ विकेट लिएका छन्। अन्य बलरले एक सय विकेट माथि लिन सकेका छैनन्।
“आज मेरो लागि विशेष दिन हो। मेरो टि-२० करियरको दौरान सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु। म आज मेरो टि-२० बलिंग गर्ने जुत्तालाई शत प्रतिशत आराम दिंदैछु।” उनले बताएका छन् “म श्रीलंका क्रिकेट, मुम्बई इन्डीएन्स, मेलबर्न स्टार्स, केन्ट क्रिकेट क्लब, रंगपुर राईडर्स, गायना वारियर्स, मराठा वारियर्स, मोन्टरियल टाइगर्सलाई धन्यवाद दिन चाहन्छु। म आगामी दिनमा मेरो अनुभव देश र फ़्रेन्चाइज् क्रिकेट खेल्न चाहने युवा क्रिकेटरहरुलाई दिन चाहन्छु। मेरो जुत्ताले आराम पाएता पनि मेरो खेलको लागि प्रेम अमर रहनेछ। अब युवा क्रिकेटरहरुले इतिहास बनाएको हेर्न चाहन्छु।”
टि-२० क्रिकेटका महान बलर मध्येका एक मालिंगाले आईपीएल टिम मुम्बई इन्डीएन्सले पांच पटक लिग जित्दा ४ पटक टिमको सदस्य रहेका थिए।
Hanging up my #T20 shoes and #retiring from all forms of cricket! Thankful to all those who supported me in my journey, and looking forward to sharing my experience with young cricketers in the years to come.https://t.co/JgGWhETRwm #LasithMalinga #Ninety9
— Lasith Malinga (@ninety9sl) September 14, 2021
मलिंगाको करियरको ६ रोचक तथ्य
१. डेब्युमै ६ विकेट : आफ्नो डेब्यु टेस्टमा छाप छोडेका मलिंगाले अष्ट्रेलिया बिरुद्द ६ विकेट लिएका थिए। खेल घरेलु टिम अष्ट्रेलियाले आफ्नो पक्षमा पारेपनि उनले पहिलो पारीमा अर्धशतक बनाएका ड्यारेन लेहम्यान (५७ रन ) र कप्तान एडम गिलक्रिस्ट (० रन) लाई तथा दोश्रो पारीमा ४ विकेट लिनेक्रममा डेमिन मार्टिन (७ रन), ड्यारेन लेहम्यान (५१ रन), शेन वार्न (१ रन) र माइकल कास्प्रोविक (१५ रन) लाई आउट गरेका थिए।
२. दुई पटक लगातार ४ विकेट : सन् २००७ को दक्षिण अफ्रीकामा सम्पन्न एकदिवसीय विश्वकपमा मलिंगाले दक्षिण अफ्रीका बिरुद्ध ह्याट्रिक सहित लगातार ४ विकेट लिंदै त्यस्तो गर्ने पहिलो क्रिकेटर बनेका थिए। सुपर-८ चरणको खेलमा दक्षिण अफ्रीकालाई जितको लागि ५ रन आवस्यक थियो भने साथमा ५ विकेट। मलिंगाले खेलको ४५ औं ओभरमा बलिंग गर्ने क्रममा लगातार ४ बलमा ४ विकेट लिंदै श्रीलंकालाई खेलमा फर्काएका थिए। तर दुर्भाग्य त्यसपछि दक्षिण अफ्रीकाले १ विकेटले सो खेल जित्न सफल रह्यो।
मलिंगाले पुनः २०१९ मा न्युजिल्यान्ड विरुद्धमा ४ बलमा ४ विकेट लिए। श्रीलंकाले दिएको १२६ रनको लक्ष्य पछ्याउने क्रममा खेलको तेश्रो ओभरमा मलिंगाले तेश्रो, चौथों, पाँचौ र छैठौं बलमा विकेट लिएका थिए। खेलमा उनले ४ ओभरमा १ मेडन ओभर गर्दै मात्र ६ रन खर्चेर ५ विकेट लिए जसको बलमा खेल श्रीलंकाले ३७ रनले जित्यो। टि-२० अन्तर्राष्ट्रियमा मलिंगा बाहेक अफगानिस्तानका लेग स्पिनर राशिद खानले पनि २०१९ मा आयरल्याण्ड बिरुद्ध ४ बलमा ४ विकेट लिएका थिए।
३. आईपीएल कम्ब्याक र उत्कृस्ट प्रदर्शन : सन् २०१८ को आईपीएलमा उनी खेलाडीको रुपमा कुनैपनि टिमको हिस्सा हुन सकेनन्। उनको बलिंगमा पहिलेको जस्तो धार नरहेको भन्दै उनले नियमित खेलिरहेको र उत्कृस्ट प्रदर्शन गरेको टिम मुम्बई इन्डियन्सले उनलाई टिममा लिएन। तर मुम्बईले उनलाई बलिंग मेन्टरको रुपमा भित्र्यायो।
उनलाई सन् २०१९ को आईपिएलमा भने मुम्बई इन्डियन्सले पुनः खेलाडीको रुपमा टिममा भित्रायो। उनले मुम्बईलाई उपाधी दिलाउन फाइनल खेलको अन्तिम बलमा चेन्नाई सुपर किंग्सका खेलाडी सार्दुल ठाकुरको विकेट लिए। चेन्नाईलाई जितको लागि अन्तिम बलमा २ रन आवस्यक रहेको थियो भने मुम्बईलाई जसरि पनि डट गराउनु थियो, यदि एक रन पनि आएको भए खेल सुपर ओभरमा जान्थ्यो।
४. एकदिवसीय क्रिकेटमा श्रीलंकाको तेश्रो सर्वाधिक विकेट लिने बलर
२२५ खेलको २१९ इनिंगमा ३३५ विकेट लिएका मालिंगा एकदिवसीय क्रिकेटमा धेरै विकेट लिने खेलाडीको सुचिमा नवौं नम्बरमा रहेका छन्। श्रीलंकाका लागि भने उनि तेश्रो सर्वाधिक विकेट लिने खेलाडी हुन्। उनिभन्दा धेरै विकेट मुथैया मुरलीधरन( ५३४ ) र चामिन्दा भास ( ४०० ) ले लिएका छन्।
५. विश्वकपमा उत्कृस्ट : एकदिवसीय विश्वकपमा कुल ५६ विकेट लिएका मलिंगा विश्वकपमा सर्वाधिक विकेट लिने बलरको सुचीमा तेश्रो स्थानमा रहेका छन्। अस्ट्रेलियाका म्याकग्राथ ( ७१ ) पहिलो र श्रीलंकाकै मुथैया मुरलीधरन ( ६८ ) दोश्रो स्थानमा रहेका छन्। २०१९ विश्वकपमा मलिंगाले उनले १३ विकेट लिए। यस्तै टि-२० विश्वकपमा पनि मलिंगा दोश्रो धेरै विकेट लिने बलर हुन्। पहिलो नम्बरमा ३९ विकेट सहित रहेका पाकिस्तानका शहिद अफ्रिदी पछि उनि १ विकेट कम लिंदै दोश्रो स्थानमा रहेका छन्।
६. विश्वकप विजेता टिमका कप्तान : नेपाल समेत सहभागी सन् २०१४ को टि-२० विश्वकप क्रिकेटको उपाधी श्रीलंकाले जितेको थियो। बंगलादेशमा सम्पन्न प्रतियोगिताको फाइनलमा भारतलाई हराएर उपाधी जित्दा मालिंगा टिम कप्तान थिए। न्युजिल्यान्ड बिरुद्दको सुपर-१० अन्तर्गतको खेल स्लो ओभररेटको कारण दिनेश चण्डीमालले गुमाउने भएपछी उपकप्तान मालिंगाले उक्त खेलमा कप्तानी गरेका थिए। त्यसपछि खराब फर्ममा रहेका चण्डीमल बाहिर बस्ने निर्णय लिंदा प्रतियोगिता भरिनै मालिंगाले कप्तानको जिम्मेवार पाएका थिए।
