राष्ट्रिय क्रिकेट टिमको बन्द सत्रमा बोलाइएका क्रिकेटरहरुको मंगलबार गरिएको कोभीड-१९ जांचमा कुल १६ राष्ट्रिय क्रिकेटर मध्ये ३ जना क्रिकेटरहरुको तथा १ जना स्टाफ गरि ४ जनाको रिपोर्ट पोजेटिभ आएको छ।
बुधबार बेलुका आएको रिपोर्टमा कप्तान ज्ञानेन्द्र मल्ल सहित उपकप्तान दिपेन्द्र ऐरी र ब्याट्सम्यान रोहित पौडेलको पनि रिपोर्ट पोजेटिभ आएको हो। यस्तै नेपाली टिमको बस चालक प्रदिप लामाको पनि रिपोर्ट पोजेटिभ आएको छ। सबै खेलाडीहरुको अवस्था भने सामान्य रहेको छ। नेपाल क्रिकेट संघले फेसबुक मार्फत ४ जनाको रिपोर्ट पोजेटिभ आएको जानकारी गराएको हो।
कप्तान मल्ल तथा उपकप्तान ऐरीले फेसबुक मार्फत आफुलाई कोरोना संक्रमण भएको जानकारी गराएका छन्। दुवैले आफ्नो स्वास्थ्य सामान्य रहेको बताउदै आफुसंग सम्पर्कमा आएका सबैलाई स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेका छन्।
“सम्पूर्ण स्वास्थ्य सावधानि अपनाउनुको बाबजुद मेरो कोभिड-१९ रिपोर्ट पोजेटिभ आएको छ। मेरो सम्पर्कमा आउनु भएका सम्पूर्ण व्यक्तिहरुलाई स्वास्थ्य सावधानी अपनाउन आग्रह गर्न चाहन्छु। म पूर्णत फिट छु र अहिलेसम्म कुनै पनि स्वास्थ्य समस्या देखिएको छैन। तै पनि अब निको हुनको लागि म आगामी केहि दिन क्वारेन्टाइनमा बिताउने छु।” मल्लले सबैलाई कोभीड-१९ लाई लिएर सावधानी अपनाउन समेत आग्रह गरेका छन्।” मल्लले लेखेका छन्।
मल्ल बन्द प्रशिक्षणमा सहभागी हुन आउनु अघि चितवन भ्रमणमा पुगेका थिए जुन दौरान उनले निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला समेत भ्रमण गरेका थिए। यस क्रममा उनले सीताराम कट्टेल ‘धुर्मुस’संग समेत भेटघाट गरेका थिए जुन दौरान दुवै जना बिना मास्क देखीएका थिए।
३ जना खेलाडीलाई कोरोना देखिएपछि बन्द प्रशिक्षणमा बिहिबार मात्र १३ जना उपस्थित हुने भएका छन्। बन्द प्रशिक्षणको लागि बोलाइएका २२ जना मध्ये ६ जना स्वाव संकलनमा उपस्थित रहेका थिएनन् जसकारण खेलाडीहरुको संख्या कम हुने भएको हो। ६ जना खेलाडीहरु ( शरद भेसावकर, बसन्त रेग्मी, सुबास खकुरेल, सन्दिप लामिछाने, करन केसी र कुशल मल्ल ) भने अत्यावश्यक व्यक्तिगत कारण देखाएर उपस्थित हुन सकेनन्। श्रोतका अनुसार क्यानले थप केहि खेलाडीहरुलाई प्रशिक्षणमा बोलाउने सम्भावना रहेको छ।
संक्रमित खेलाडीहरु अब गौशाला स्थित टिम बसेको होटल शिभम प्लाजामा सेल्फ क्वारेन्टाइनमा बस्नेछन्। उनीहरुको रिपोर्ट नेगेटिभ आएपछि मात्र पुनः प्रशिक्षणमा सहभागी हुन पाउनेछन्।
क्यानले आईसीसीले दिएको प्रोटोकलको आधारमा बन्द प्रशिक्षण सुरु गर्न लागेको हो। गत वर्ष चैत पछि पहिलो पटक एक साथ नेपाली टिम प्रशिक्षण गर्न लागेको हो।
बन्द प्रशिक्षणको लागि घोषित २२ सदस्यीय टिम : ज्ञानेन्द्र मल्ल ( कप्तान ) , दिपेन्द्र सिंह ऐरी ( उपकप्तान ) , पारस खड्का, सन्दिप लामिछाने, शरद भेसावकर, करण केसी, बसन्त रेग्मी, बिनोद भण्डारी, सोमपाल कामी, सुसन भारि, ललित राजबंशी, आरिफ शेख, पवन सर्राफ, अभिनाश बोहरा, सुबास खकुरेल, रोहित पौडेल, कुशल मल्ल, रासिद खान, कमल सिंह ऐरी, सन्दिप जोरा, किशोर महतो, भुवन कार्की , प्रशिक्षक – जगत बहादुर टमाटा