कप्तान मल्लको ट्वीटले अमेरिकी एम्बेसी क्लिन बोल्ड

सामाजिक संजालमा कमै सक्रिय राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल क्रिकेट मैदान बाहिर बिरलै चर्चामा हुने गर्छन्। तर सोमबार उनले नयाँ रुप देखाए।

आइतबार मल्लले ट्वीट गर्दै पहिले जस्तै सामान्य अवस्थामा फर्केर क्रिकेटमा फर्कन आतुर रहेको ट्वीट गरे। ट्वीटसंगै मल्लले यसै वर्ष फेब्रुअरीमा नेपालमा आयोजित आईसीसी विश्वकप लिग-२ अन्तर्गत अमेरिका र नेपाल बीच खेलको टसको तस्बिर राखेका थिए। “फेरी सामान्य अवस्थामा फर्कन र खेल्न व्यग्र छु , सुरक्षित रहनु होला।” मल्लले लेखेका छन्।

मल्लको ट्वीटमा रिप्लाई दिंदै अमेरिकी राजदूतावास नेपालले लेख्यो “फेरी नेपाल र अमेरिका भन्न खोज्नु भएको ?” भन्दै ट्वीट गर्यो।

दूतावासको ट्वीटमा मल्लले दिएको जवाफ हेर्न लायक थियो।

“अवस्य फेरी खेल्न चाहनेछु …. फेरी उही स्कोरकार्ड दोहोरिएपनि फरक पर्दैन।” मल्लले ट्वीटको अन्तमा आँखा झिम्क्याएको इमोजी राखेका छन्। मल्लको ट्वीटपछि दूतावासले रिप्लाई गरेको छैन।

सबैलाई अवगत छ कि नेपालले आईसीसी विश्वकप लिगको खेलमा अमेरिकालाई ३५ रनमा अल-आउट गरेको थियो। खेलमा लेग स्पिनर सन्दिप लामिछानेले करियरकै उत्कृस्ट बलिंग गर्ने क्रमम ६ विकेट ( ६-१-१६-६ ) तथा देब्रे हाते स्पिनर सुशन भारीले पनि करियरकै उत्कृस्ट स्पेल दर्ता गर्ने क्रममा ४ विकेट ( ३-१-५-४ ) लिएका थिए। नेपालले खेल ५.२ ओभरमा २ विकेट गुमाएर जितेको थियो। मल्ल १ रन तथा सुबाश खकुरेल खाता नखोली आउट भएपछि पारस खड्का र दिपेन्द्र ऐरीले क्रमशः २० र १५ रन बनाएर जितसम्म पुर्याएका थिए।

नेपाली राष्ट्रिय क्रिकेट टिमले अन्तिम पटक यसै वर्ष मार्चमा एसीसी इस्टर्न रिजन टि-२० प्रतियोगिता खेलेपछि कुनै खेल खेलेको छैन। उक्त प्रतियोगितामा नेपाल सिंगापुर, हंगकंग र मलेसियासंग पछि पर्दै चौथो स्थान हाँसिल गरेपछि एसिया कप छनौट प्रतियोगिता खेल्न छनौट हुन असफल रहेको थियो।

कोभीड-१९ पछि राष्ट्रिय टिम अभ्यासमा पनि फर्किएको छैन भने आईसीसीले नयाँ तालिका पनि सार्वजनिक गरेको छैन। यो वर्ष भने नेपालले कुनै आईसीसी प्रतियोगिता नखेल्ने निश्चित भैसकेको छ।

सम्बन्धित :-

ज्ञानेन्द्र मल्लको नाममा छ टि-२० अन्तर्राष्ट्रियको ७ कीर्तिमान

क्यानले वितरण गर्यो खेलाडीहरुको २०१९ को तलब, कसले कति रकम पाए

कहाँ छन् नेपालबाट १९९६ मा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने १४ क्रिकेटर

२०२० मा नेपालले विश्वकप लिग-२ को खेल नखेल्ने, सर्ने भयो प्रशिक्षण

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy