निर्णायक तेश्रो वानडेमा ३ विकेटले घरेलु टिम इंग्ल्यान्डलाई पराजित गर्दै अस्ट्रेलियाले तिन वानडे म्याचको सिरिज २-१ ले जितेको छ। इंग्ल्यान्डले दिएको ३०३ रनको लक्ष्य भ्रमण टोलिले २ बल बाँकी छदा पुरा गरेको हो।
२०१६ पछि इंग्ल्यान्डलाई उसैको घरमा वानडे सिरिजमा पराजित गर्ने अस्ट्रेलिया पहिलो टिम हो। इंग्ल्यान्डले यो अवधिमा १० वटा सिरिज जितेको थियो।
असम्भव जस्तो देखिएको परिस्थितिबाट अस्ट्रेलियालाई विकेटकिपर ब्याट्सम्यान एलेक्स केरी र ग्लेन म्याक्सवेलले शतकीय इनिंग खेल्दै जित दिलाएका हुन्।
लक्ष्य पछ्याउने क्रममा १७ औं ओभरमा ७३ रनको योगफलमा ५ ब्याट्सम्यानलाई गुमाएको अस्ट्रेलियालाई ठूलो अन्तरको हारको खतरा थियो। डेभिड वार्नर २४, कप्तान आरोन फिंच १२, मार्कस स्टोइनिस ४, मार्नस लाबुसेन २० तथा मिचेल मार्श २ रन बनाएर पेभेलियन फर्किए।

छैठौं विकेटको लागि केरी र म्याक्सवेलले दोहोरो शतकीय साझेदारी गरे। दुवैले २१२ रनको साझेदारी गरे जुन अस्ट्रेलियाको एकदिवसीय इतिहासकै छैठौं विकेटको लागि सबैभन्दा ठूलो साझेदारी हो। यस अघि २००६ मा माइक हसी र ब्र्याड ह्याडीनले वेस्टइन्डिज बिरुद्ध १६५ रनको छैठौं विकेटको साझेदारी दुवैले १४ वर्षपछि तोडेका हुन्।
७३/५ को अवस्थाबाट म्याक्सवेल ४८ औं ओभरको तेश्रो बलमा आउट हुँदा अस्ट्रेलिया २८५/६ को अवस्थामा पुगेको थियो। अन्तिम ओभरमा २ ओभरमा जितको लागि १२ बलमा १४ रन आवस्यक हुँदा आर्चरले ओभरमा ४ रन दिंदै केरीलाई क्याच आउट गराए।
अन्तिम ओभरमा जितको लागि ६ बलमा १० रन आवस्यक रहंदा क्रिजमा आएका नयाँ ब्याट्सम्यान मिचेल स्टार्कले लेग स्पिनर आदील रशिदको पहिलो बलमै छक्का हिर्काएका थिए। त्यसपछि चौथो बलमा स्टार्कले चौका हिर्काउदै टिमलाई सनसनीपूर्ण जित दिलाए।
जितमा प्लेयर अफ द म्याच चुनिएका तथा प्लेयर अफ द सिरिज समेत चुनिएका म्याक्सवेलले करियरकै दोश्रो शतक बनाउने क्रममा ९० बलमा ४ चौका र ७ छक्का मद्दतले १०८ रन बनाए। केरीले करियरको पहिलो शतक बनाउदा ११४ बलमा ७ चौका र २ छक्का मद्दतले १०६ रन बनाए। मिचेल स्टार्कले ३ बलमा १ चौका र १ छक्का प्रहार गर्दै अविजित ११ तथा प्याट कमिन्सले अविजित ४ रन बनाए।

इंग्ल्यान्डको बलिंगमा क्रिस वोक्स ( १०-०-४६-२ ) र जोए रुट ( ८-०-४६-२ ) ले २/२ तथा जोफ्रा आर्चर ( ९-०-६०-१ ) र आदील रशिद ( ७.४-०-६८-१ ) ले १/१ विकेट लिए। मार्क वुड र टम करन विकेट विहिन रहे।
बेयरस्टोको शतक
खेलमा टस जितेर ब्याटिंग रोजेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३०२ रन बनाएको थियो।
इंग्ल्यान्डको लागि ओपनर जोनी बेयरस्टोले करियरको १० औं वानडे शतक बनाउने क्रममा सर्वाधिक ११२ रन बनाए। उनले १२६ बलमा १२ चौका र २ छक्का प्रहार गरे। यस्तै स्याम बिलिंग्सले ५७ बलमा ५८ रन ( ४ चौका र २ छक्का ) बनाए। क्रिस वोक्सले अविजित ३९ बलमा ५३ रन ( ६ चौका ) प्रहार गरे। ओएन मोर्गनले २३ तथा टम करनले १९ रन बनाए भने जेसन रोय र जोए रुटले खाता खोल्न सकेनन्। जोस बटलरले ८ रन तथा आदील रशिदले अविजित ११ रन बनाए।
खराब सुरुवात गरेको इंग्ल्यान्डले पहिलो ओभरको पहिलो २ बलमा मिचेल स्टार्कले जेसन रोयलाई खाता अमेत नखोल्दै पेभेलियन फर्काएका थिए। खाता नखोल्दै २ विकेट गुमाएपछि तेश्रो विकेटको लागि ओपनर जोनी बेयरस्टोले कप्तान ओएन मोर्गनसंग ६७ रनको साझेदारी गरेका थिए। ११ औं ओभरमा मोर्गनलाई लेग स्पिनर एडम जम्पाले क्याच आउट गराउदै साझेदारी तोडे। १९ औं ओभरमा जाम्पाले जोस बटलरलाई दोश्रो शिकार बनाए।
९६/४ को नाजुक अवस्थाबाट पाँचौ विकेटको लागि बेयरस्टोले स्याम बिलिंग्ससंग ११४ रनको साझेदारी गर्दै योगफल २ सय पार गराए। बिलिंग्सलाई जाम्पाले ३८ औं ओभरमा क्याच आउट गराउदै अस्ट्रेलियालाई खेलमा फर्काए। ४१ औं ओभरमा बेयरस्टोलाई कमिन्सले बोल्ड गर्दा इंग्ल्यान्ड २२०/६ को अवस्थामा पुग्यो।

त्यसपछि सातौँ विकेटको लागि क्रिस वोक्स र टम करनले ४६ रनको साझेदारी गर्दै इंग्ल्यान्डलाई राम्रो योगफलतर्फ डोर्याएका थिए। करनको विकेट पछि वोक्सले आदील रशिदसंग आठौँ विकेटको लागि अविजित ३६ रनको साझेदारी गर्दै टिमको योगफल ३ सय पार गराए।
अस्ट्रेलियाको बलिंगमा लेग स्पिनर एडम जाम्पाले उत्कृस्ट लय जारि राख्ने क्रममा ३ विकेट लिए जुन क्रममा १० ओभरमा ५१ रन खर्चिए। उनले पहिलो वानडेमा ४ तथा दोश्रो वानडेमा ३ विकेट लिएका थिए। यस्तै मिचेल स्टार्कले पनि ३ विकेट लिए जुन क्रममा १० ओभरमा ७४ रन खर्चिए। प्याट कमिन्सकोक नाममा १ विकेट रह्यो।
सिरिज अन्तर्गत पहिलो वानडे अस्ट्रेलियाले १९ रनले तथा दोश्रो वानडे इंग्ल्यान्डले २४ रनले जितेको थियो। अब दुवै टिमका खेलाडीहरु आईपीएलमा सहभागी हुन इंग्ल्यान्डबाट युएईतर्फ प्रस्थान गर्नेछन्। यो संगै इंग्ल्यान्डको क्रिकेट सिजन पनि समाप्त भएको छ।
यो पनि पढ्नुस :-
IPL : युएईको पिच र दिल्ली टिमबारे के भन्छन् भेट्रान लेग स्पिनर मिश्रा
गौतम गम्भीरको विश्लेषण- पहिलो खेलमा चेन्नाई भन्दा मुम्बईको ‘हात माथि’
IPL : स्टोक्स खेल्छन् कि खेल्दैनन् ? यसो भन्छन् राजस्थानका प्रशिक्षक
IPL : मुम्बई क्याम्पमा के गर्दै छन् सचिनका छोरा अर्जुन ?
आईपीएलका ८ रेकर्ड जुन टुट्न निकै मुस्किल छ