१३ औं सिजनको आईपीएल टि-२० अन्तर्गत उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डीएन्स र चेन्नाई सुपर किंग्सले प्रतिस्पर्धा गर्दैछन्। खेल नेपाली समय राति ७:४५ बजे सुरु हुनेछ। सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म चल्ने प्रतियोगिताको उद्घाटन खेलमा लिग इतिहासकै २ सर्वाधिक सफल टिम आमने-सामने हुँदैछन्। पढ्नुस दुवै टिमको कमजोर र बलियो पक्ष के-के हुन्।
मुम्बई इन्डीएन्सको बलियो पक्ष
रोहित शर्माको कप्तानी आफैमा टिमको बलियो पक्ष हो। रोहितको कप्तानीमा मुम्बईले ४ पटक लिगको उपाधि जितीसकेको छ। रोहितले १०४ खेलमा टिमलाई ६० जित दिलाएका छन्। यस्तै रोहितले लिग इतिहासमा ३१.६ को औशतमा ४ हजार ८ सय ९८ रन पनि बनाइसकेका छन्। उनको अनुभव र कप्तानी बलमा यो पटक पनि मुम्बई उपाधि जित्ने प्रमुख दावेदार हो।
ब्याटिंग मुम्बईको बलियो पक्ष हो। रोहित शर्मा र क्विन्टन डीकक जस्ता ओपनर त्यसपछि हार्दिक पान्ड्या, काइरन पोलार्ड, क्रिस लिन जस्ता आक्रामक ब्याट्सम्यानहरु ब्याटिंग लाइनअपमा छन्। पोलार्डले लिग इतिहासमा १४६.७८ को स्ट्राइक रेटमा रन बनाएका छन् जसले आफ्नै दममा खेल जिताउन सक्छन। भर्खरै सम्पन्न सिपिएल टि-२० मा पोलार्ड प्रतियोगिताकै उत्कृस्ट खेलाडी चुनिएका थिए।
फास्ट बलिंग जस्प्रित बुम्राह टि-२० क्रिकेटमा उत्कृस्ट बलरहरु मध्येका हुन् जसले आफ्नो योर्कर तथा सटिक बलिंगले ब्याट्सम्यानलाई आच्छु-आच्छु पार्नेगर्छन्। मालिंगाको अनुपस्थितिमा पनि टिममा फास्ट बलरको कमि छैन। स्टार न्युजिल्यान्ड बलर ट्रेन्ट बोल्ट, मिचेल म्याक्लेनघन , जेम्स प्याटिन्सन र नाथन कोल्टर नाइल जस्ता बलरको उपस्थितिले फास्ट बलिंगमा बिकल्पको कमि छैन।
मुम्बई इन्डीएन्सको कमजोर पक्ष
स्पिन : अन्य पक्षमा बलियो देखिएता पनि युएईको सुस्त पिचमा अत्यन्त आवस्यक स्तरीय स्पिनरको भने टिममा कमि रहेको छ। मायाँक मारकन्डे राजस्थानमा पुगेका छन् जसले बिगतमा राम्रो प्रदर्शन गरेका थिए। उनको अनुपस्थितिमा क्रुनाल पान्ड्या, अनुकुल रोय तथा राहुल चाहरमा स्पिन पक्ष सम्हाल्ने जिम्मेवारी रहेको छ। देब्रे हाते स्पिनर क्रुनालले आईपीएलमा ५५ खेलमा ४० विकेट लिन सकेका छन्। आईपीएलमा चौथो सिजन खेल्न लागेका लेग स्पिनर चाहरबाट टिमले धेरै आशा गर्नेछ। चाहरले यस अघि ३ सिजनमा १६ खेलमा १५ विकेट लिएका थिए। प्रतियोगितामा मुम्बईको स्पिन पक्ष कमजोर हुनाले टिमलाई ठूलो धक्का पुग्न सक्छ।
मुम्बई टिम :- रोहित शर्मा ( कप्तान ), आदित्य तारे, अनमोलप्रीत सिंह, ईशान किशान, क्विंटन डिकक (✈️), सूर्य कुमार यादव, हार्दिक पान्ड्या , जयन्त यादव, काइरन पोलार्ड(✈️), क्रुनल पान्ड्या, शेरफन रदरफर्ड(✈️), अनुकूल रोय, धवल कुलकर्णी, जसप्रीत बुमराह, जेम्स प्याटिन्सन(✈️), मिचेल म्याक्क्लेनेघन(✈️), राहुल चाहार, ट्रेन्ट बोल्ट(✈️), क्रिस लिन(✈️), सौरभ तिवारी, न्याथन कुल्टर नाइल(✈️), मोहसिन खान, बलवंत सिंह र दिग्विजय देशमुख।
चेन्नाई सुपर किंग्सको बलियो पक्ष
धोनीको कप्तानी : ३ पटक उपाधि जिताएका कप्तान धोनीले टिमलाई प्ले-अफ सम्म सधै पुर्याएको इतिहास छ। गत सिजन फाइनलमा मुम्बईसंग १ रनले पराजित भएको चेन्नाई धोनीको कप्तानीमा त्यो चुक दोहोर्याउने पक्षमा छैन र चौथो उपाधि जित्दै मुम्बईको बराबरी गर्न चाहनेछ। चतुर कप्तानी र निर्णयक्षमता मात्रै हैन धोनीले ब्याटिंग र विकेटकिपिंगमार्फत खेल जिताउने गर्छन। लिग इतिहासमा १९० खेलमा उनले ४२.२ को औशतमा ४,४३२ रन बनाइसकेका छन्।
स्पिन : गत सिजनको पर्पल क्याप विजेता लेग स्पिनर इमरान ताहिर, लिग इतिहासकै चौथो सर्वाधिक विकेटकर्ता लेग स्पिनर पियुष चावला मात्रै हैन स्टार भारतीय देब्रे हाते स्पिनर रभिन्द्र जडेजाको उपस्थितिले चेन्नाईको स्पिन पक्ष मजबुत छ। यस्तै अर्का देब्रे हाते किवी स्पिनर मिचेल स्यान्टनर, लेग स्पिनर कर्न शर्मा पनि बिकल्पमा छन्। ताहिर भर्खरै सम्पन्न सिपिएल टि-२० मा ११ खेलमा १५ विकेट लिंदै उत्कृस्ट लयमा थिए। जडेजा लिगकै दशौँ सर्वाधिक विकेटकर्ता हुन् जसले १०८ विकेट लिईसकेका छन्। उनको किफायती बलिंग र साझेदारी तोड्ने क्षमता लुकेको छैन।
अनुभवी खेलाडीहरु : लिगकै सबैभन्दा पाका र अनुभवी खेलाडीहरु टिममा छन्। धोनी, शेन वाटसन, फाफ डु प्लेसिस, अम्बाती रायडु, मुरली विजय, केदार जाधाब जस्ता ब्याट्सम्यानहरुमा ब्याटिंग क्षमता मात्रै हैन अनुभव पनि उत्तिकै छ। ३५ काटेका ब्याट्सम्यानहरुको उपस्थितिले टिमका अन्य ब्याट्सम्यानहरुलाई निकै सहयोग पुग्नेछ।
प्रशस्त अल-राउण्डर : रभिन्द्र जडेजा, मिचेल स्यान्टनर , शेन वाटसन, ड्वेन ब्राभो, केदार जाधव, स्याम करनको उपस्थितिले धोनीलाई बलिंगमा प्रशस्त बिकल्प दिनेछ। अर्कोतर्फ टिमको ब्याटिंग गहिराइ पनि यसले देखाउछ। जडेजा बलिंगमा जत्तिकै ब्याटिंग र फिल्डिंगबाट खेल जिताउन सक्षम छन् जुन उनले कैयौं पटक देखाईसकेका छन्। करन, स्यान्टनर, ब्राभोको उपस्थितिले ब्याटिंग मजबुती बढाउछ। केदार जाधव र वाटसन बलिंग गर्न सधै तयार हुने गर्छन्।
चेन्नाई सुपर किंग्सको कमजोर पक्ष
हरभजन र रैनाको अनुपस्थितिले टिमको सन्तुलनमा फरक पर्नेछ। नियमित नम्बर-३ ब्याट्सम्यान रैनाको स्थान पूर्ति गर्नु असम्भव जस्तो छ। पछिल्लो सिजनहरुमा राम्रो लयमा रहेका हरभजनको अनुभवी स्पिन पनि टिमले मिस गर्नेछ। दुवै खेलाडीले व्यक्तिगत कारण देखाएर नाम फिर्ता लिएका थिए। दुवैको प्रतिस्थापनमा टिमले खेलाडीहरु अझै अनुबन्ध गरेको छैन।
फिटनेस र म्याच अभ्यासको कमि : अधिकांश खेलाडीहरु अन्तर्राष्ट्रिय क्रिकेटबाट टाढा रहेका छन्। अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका धोनी आफै २०१९ विश्वकप सेमीफाइनल पछि पहिलो पटक कुनै प्रतियोगिता खेलीरहेका छन्। यस्तै वाटसन, अम्बाती रायडु, मुरली विजय, केदार जाधव जस्ता खेलाडीहरु पनि अन्तर्राष्ट्रिय क्रिकेट खेलीरहेका छैनन्। प्रतिस्पर्धात्मक क्रिकेट नखेलेकाले फिटनेस र म्याच अभ्यासको कमि रहेको छ। कुनै खेलाडी घाइते भएको खण्डमा टिमको सन्तुलन बिग्रन पनि सक्नेछ।
चेन्नाई टिम :- महेन्द्र सिंह धोनी ( कप्तान ), अंबाती राएडु, दीपक चाहार, रवींद्र जडेजा, शेन वाटसन(✈️), फाफ डुप्लेसिस(✈️), केएम आसिफ, ड्वेन ब्राभो(✈️), इमरान ताहिर(✈️), जगदीशन नारायण, कर्न शर्मा, केदार जाधव, लुंगी एन्गिडि(✈️), मिचेल स्यान्टनर(✈️), मोनू सिंह, मुरली विजय, रितुराज गायकवाड़, शार्दुल ठाकुर, स्याम करन(✈️), पीयुष चावला, जोश हेजलवुड(✈️) र साइ किशोर।
सम्बन्धित :-
आज सुरु हुँदै १३ औं आईपीएल ( सम्पूर्ण जानकारी एकै ठाउँमा )
आईपीएलका ८ रेकर्ड जुन टुट्न निकै मुस्किल छ
यस्तो छ यो सिजन IPL मा कमेन्टेटरहरुको सूची
IPL 2020 : ८ कप्तान मध्ये कोहलीको कमाइ सबैभन्दा धेरै, कुन कप्तानको तलब कति