पूर्व वेस्टइन्डिज फास्ट बलर माइकल होल्डिंग उच्चस्तरीय क्रिकेट कमेन्ट्रिको लागि प्रसिद्ध छन्। गत वर्ष वेस्टइन्डिजको इंग्ल्यान्ड भ्रमणमा होल्डिंगले नश्लभेद बिरुद्ध प्रस्तुत गरेको विचारको पुरा क्रिकेट जगत र बाहिरबाट समेत तारिफ भएको थियो।
भारतीय दैनिक पत्रिका द इन्डीएन एक्सप्रेससंग कुराकानी गर्ने क्रममा होल्डिंगले टि-२० क्रिकेट बारे तिखो टिप्पणी गरेका छन्। त्यस क्रममा उनले इन्डीएन प्रिमियर लिगमा कमेन्ट्रि नगर्नुको कारण सोध्दा पेचिलो प्रतिक्रिया दिएका हुन्।
सन् २०१६ मा टि-२० विश्वकप जितेपछि वेस्टइन्डिजको क्रिकेटको माहोलमा परेको असरबारे जिज्ञासामा होल्डिंगले छोटो फर्म्याटलाई ‘क्रिकेटनै नमान्ने’ जवाफ दिए-
“जब तपाई टि-२० प्रतियोगिता जित्नु हुन्छ यो कुनै पुनरागमन हैन, म त यसलाई क्रिकेटनै मान्दिन। टि-२० क्रिकेटकै कारण वेस्टइन्डिजलाई टेस्ट क्रिकेटमा उत्कृस्ट हुन कठिन छ।”
“विश्वभर हुने टि-२० प्रतियोगिता यो खेलको लागि विष हो। तपाई गरिब हुनुहुन्छ र इंग्ल्यान्ड, अस्ट्रेलिया, भारतजस्ता देशजस्तो पैसा खर्चने हैसियत छैन भने खेलाडीहरु टि-२० क्रिकेट खेल्न जान्छन्।”
पछिल्लो समय वेस्टइन्डिज क्रिकेटरहरु देशको लागि खेल्ने प्रवृत्तिबारे बोल्दै होल्डिंगले त्यसो हुनुमा खेलाडी भन्दा व्यवस्थापन दोषी भएको बताए –
“जब तपाई ६ हफ्ता खेलेर ६/८ लाख डलर कमाउनु हुन्छ भने तपाईको रोजाइमा के पर्छ ? म खेलाडीलाई दोष दिन्न, म व्यवस्थापनलाई दोष दिन्छु। उनीहरु टेस्ट क्रिकेटलाई देखावटी प्रेम गर्छन् तर उनीहरुको इच्छा कसरि आफ्नो अल्मारीमा पैसा भित्र्याउने मात्र छ। वेस्ट इन्डिजले टि-२० प्रतियोगिता जित्नेछ जुन क्रिकेटनै हैन, उनीहरु टेस्ट क्रिकेटमा शक्तिशाली हुने छैनन्।” होल्डिंगले बताए।
आईपीएलमा कमेन्ट्रि गर्न रुची नभएको बारे सोधिएको प्रश्नमा उनले भने – “म क्रिकेटमा मात्र कमेन्ट्रि गर्छु।”
६७ वर्षीय होल्डिंग १९७९ को विश्वकप वेस्टइन्डिजले जित्दा तथा १९८३ मा उपविजेता बन्दा टिमको सदस्य रहेका थिए। क्लाइभ लोयड वेस्टइन्डिजको कप्तान रहंदा उनि वेस्टइन्डिज फास्ट बलिंगको मेरुदण्ड रहेका थिए जतिबेला वेस्टइन्डिज टेस्ट क्रिकेटमा शक्तिशाली थियो। १९७५ देखि १९८७ सम्म वेस्ट इन्डिजको लागि खेलेका होल्डिंगको नाममा ६० टेस्ट खेल्दा २४९ विकेट तथा १०२ एकदिवसीय अन्तर्राष्ट्रियमा १४२ विकेट रहेको छ।