अमेरिकाको माइनर लिग क्रिकेट प्रतियोगिता खेलीरहेका तिन नेपाली राष्ट्रिय क्रिकेटरले आफ्नो दोश्रो खेलमा मिश्रित प्रदर्शन गरेका छन्।क्यालीफोर्निया स्थित वुडले पार्क मैदानमा सम्पन्न खेलमा नेपाली खेलाडी सम्मिलित टिम हलिवुड मास्टर ब्लास्टर्स लगातार दोश्रो खेलमा पराजित हुन पुग्यो। गोल्डेन स्टेट ग्रिजलाईजले ब्लास्टर्सलाई ५ विकेटले पराजित गर्यो।
टस जितेर ब्याटिंग गर्दै मास्टर ब्लास्टर्सले दिएको १३१ रनको लक्ष्य गोल्डेन स्टेट ग्रिजलाईजले १६.५ ओभरमा भेटायो। जितमा गोल्डेन स्टेट ग्रिजलाईजको प्रतिनिधित्व गरेका पाकिस्तानी प्रथम श्रेणी क्रिकेटर रहीसकेका जिया मुहम्मद शहजादले बलिंगमा २ विकेट तथा ब्याटिंगमा अविजित ५० रन बनाए। लक्ष्य पछ्याउने क्रममा पहिलो ४ विकेट ४७ रनमा गुमेपछि शहजादले हम्माद आजमसंग ६९ रनको साझेदारी गर्दै टिमलाई जिततर्फ डोर्याएका थिए।
नेपाली खेलाडीहरुको मिश्रित प्रदर्शन
पृथु बास्कोटा : तेश्रो नम्बरमा ब्याटिंग गर्न आएका पृथु बास्कोटाले २२ बलमा १ चौका र १ छक्का मद्दतले १६ रन बनाए। उनले कनिस्क चौगाईंसंग दोश्रो विकेटको लागि ४१ रनको साझेदारी गरे। अधिकांश बल डट खेलेका पृथुले फ्री हिटमा एउटा छक्का प्रहार गरेका थिए। लीग स्पिनर जिया मुहम्मद शाहजादको बलमा अन साइडमा खेल्ने क्रममा उनि स्टम्पिंग आउट हुन पुगेका थिए।
कनिस्क चौगाईं : ओपनिंग ब्याटिंग गरेका कनिस्कले २६ बलमा २ चौका र २ छक्का प्रहार गर्दै ३५ रन बनाए। राम्रो लयमा देखिएका चौगाईं लेग स्पिनर जिया मुहम्मद शाहजादको बलमा अन साइडमा आक्रामक सट खेल्ने क्रममा बोल्ड हुन पुगेका थिए।
बसन्त रेग्मी : खेलमा ब्याटिंगतर्फ राम्रो प्रदर्शन गरेका रेग्मीको बलिंग भने बिपरित रह्यो। अघिल्लो खेलको प्रदर्शन रेग्मीले दोश्रो खेलमा दोहोर्याउन सकेनन्। महँगो सावित भएका रेग्मीले ३.५ ओभर बलिंग गर्दा ३९ रन खर्चिए र विकेटविहिन रहे। उनले गरेको पहिलो ओभरमा १६ रन खर्चिए भने बाँकी २ ओभरमा १० रन खर्चिए। ब्याटिंगमा भने रेग्मीले राम्रो योगदान दिए। छैठौं नम्बरमा ब्याटिंग गर्न आएका रेग्मीले टिमको लागि १५ बलमा १ छक्का मद्दतले अविजित रहँदै महत्वपूर्ण २१ रन बनाए। उनले पाँचौ विकेटको लागि करन विरादियासंग ३९ रनको महत्वपूर्ण साझेदारी गरे।
प्रतियोगिता अन्तर्गत यस अघि सम्पन्न पहिलो खेलमा बसन्त रेग्मीले १ विकेट लिएका थिए भने पृथुले ९ रन तथा कनिस्क चौगाईंले ५ रन बनाएका थिए।