युएसए माइनर लिग : ब्लास्टर्सको पाँचौ हार, पृथुको राम्रो ब्याटिंग

२०७८ श्रावण ३२, सोमबार ०७:०४

अमेरिकामा जारि माइनर लिग टि-२० अन्तर्गत लगातार पाँचौ खेलमा पनि हलिवुड मास्टर ब्लास्टर्स ९ विकेटले सहजै पराजित हुन पुगेको छ। क्लाहेन पार्कमा सम्पन्न खेलमा मास्टर ब्लास्टर्सले दिएको १०९ रनको लक्ष्य सीएटल थन्डरबोल्ट्सले मात्र १ विकेट गुमाएर १५ ओभरमा भेटायो। दक्षिण अफ्रिकी यु-१९ टिमका लागि खेलीसकेका ओपनर एन्ड्रीस गोसले अविजित ७५ रन बनाउदै थन्डरबोल्ट्सलाई सहज जित दिलाए।

खेलमा पाँचौ नम्बरमा ब्याटिंग गरेका पृथु बास्कोटाले अविजित १६ रन बनाए जुन क्रममा ७ बलमा २ छक्का प्रहार गरे। यस अघि बास्कोटा ओपनिंग ब्याटिंग गर्दै आएका थिए। बसन्त रेग्मीले ८ बलमा ४ रन बनाए जसले चौथो नम्बरमा ब्याटिंग गरेका थिए। बलिंगतर्फ विकेटविहिन रहेका बसन्त रेग्मीले ४ ओभरमा १ मेडन ओभर गर्दै २० रन खर्चिए।

टस हारेर ब्याटिंग गरेको ब्लास्टर्सले २० ओभरमा ३ विकेट मात्र गुमाएता पनि १०८ रन मात्र बनाउन सक्यो। ओपनर कोडी चेट्टीले ५४ तथा निसर्ग पटेलले २७ रन बनाए जसले १२ ओभरमा ६१ रनको ओपनिंग साझेदारी गरेका थिए। सुस्त ब्याटिंग गरेका पटेलले ४२ बलमा मात्र १ चौका प्रहार गरे। भारतीय यु-१९ राष्ट्रिय टिमको लागि खेलीसकेका देब्रे हाते स्पिनर हर्मित सिंहले ४ ओभरमा मात्र ९ रन खर्चेर १ विकेट लिए।

लिगमा पृथुले हालसम्म ५ खेलमा १०४ रन बनाएका छन् भने बसन्तले ५ खेलमा ३ विकेट लिएका छन्।

हलीवुड मास्टर्स ब्लास्टर्सले आगामी खेल अगस्ट २१ तारिखमा खेल्ने तालिका रहेको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy