सुनसरीको इनरुवामा जारि दोश्रो मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत शनिवार सम्पन्न समुह ‘डी’ अन्तर्गतको पहिलो खेलमा सुदुरपश्चिम प्रदेशले मलेसिया-११ लाई पराजित गरेको छ।
इनरुवा रंगशालामा सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिंग गर्दै मलेसियाले दिएको ५० रनको लक्ष्य सुदुरपश्चिमले २ विकेट गुमाएर ७.२ ओभरमा पुरा गर्यो। स्कोरकार्ड
सुदुरपश्चिमको लागि लोकेश बम र खडक बोहराले अविजित समान १५ रन बनाए। गजेन्द्र बोहरा ११ तथा अरुण ऐरी ६ रन बनाएर आउट भए। मलेसियाको लागि अनवर रहमान र धीभेन्द्रन मोगनले समान १/१ विकेट लिए।
टस जितेर ब्याटिंग रोजेको मलेसियाले कमजोर ब्याटिंग गर्दै २२ ओभरमा सबै विकेट गुमाएर ४९ रन मात्र बनाएको थियो।
पहिलो ओभर देखि विकेट गुमाउन सुरु गरेको मलेसियाले लगातार विकेट गुमाएको थियो। पहिलो ८ विकेट २८ रनमै गुमाएपछि नवौं विकेटको लागि भिरनदिप सिंह र अनवर रहमानले १९ रनको साझेदारी गरेका थिए।अनवर ३ रन बनाएर आउट भएपछि सिंह पनि २२ औं ओभरमा आउट हुन पुगे।
भिरनदिप सिंहले ६९ बलमा ३ चौका मदतले २२ रन बनाउनु बाहेक अन्य मलेसियन ब्याट्सम्यानहरुले दोहोरो अंकमा रन बनाउन सकेनन्। ३ मलेसियन ब्याट्सम्यानहरु खाता नखोली आउट भए।
मलेसियालाई सानो योगफलमा समेट्न सुदुर पश्चिमका स्पिनर शेर मल्लले ५ तथा बिनोद लामाले ४ विकेट लिए। मल्लले १० ओभरमा ३ मेडन ओभर गर्दै ११ रन मात्र खर्चिए। लामाले ९ ओभरमा ३ मेडन ओभर गर्दै २१ रन खर्चिए। बिक्रम ठगुन्नाले १ विकेट लिए।
प्रतियोगिता अन्तर्गत आइतबार हुने समुह ‘डी’ अन्तर्गतकै दोश्रो खेलमा सुदुरपश्चिम प्रदेश र गण्डकी प्रदेशले प्रतिस्पर्धा गर्नेछन्। भोलिको खेल सुदुरपश्चिमले जितेको खण्डमा सेमीफाइनलमा स्थान सुरक्षित गर्नेछ।
प्रतियोगिता अन्तर्गत यस अघि समुह ‘ए’ , ‘बि’ र ‘सी’ का खेलहरु सम्पन्न भइसकेका छन् जसबाट त्रिभुवन आर्मी क्लब, प्रदेश-३ र नेपाल पुलिस क्लब सेमीफाइनल प्रवेश गरिसकेका छन्।