एमएम कप : पुलिससंग कर्णाली प्रदेश निरिह सावित

सुनसरीको इनरुवामा जारि मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत समुह ‘बि’ अन्तर्गत पहिलो खेलमा विभागीय टोलि नेपाल पुलिस क्लबले कर्णाली प्रदेश बिरुद्ध २६७ रनको विशाल जित हात पारेको छ।

खेलमा नेपाल पुलिस क्लबले दिएको ३४७ रनको लक्ष्य पछ्याउने क्रममा कर्णाली प्रदेशले २७.१ ओभरमा ७९ रन बनाउदा सम्पूर्ण विकेट गुमाउन पुग्यो।

कर्णाली प्रदेशको लागि राज शाहले सर्वाधिक २३ रन बनाए भने टेक सलामीले १४, हेमन्त ओली र दिवान पुनले समान १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। पुलिसको बलिंगमा ललित भण्डारी, मन्जित श्रेष्ठ र सागर ढकालले समान २/२ विकेट लिए। दिपेन्द्र ऐरी, पवन सर्राफ, ललित राजबंशी र कुशल भुर्तेलले समान १/१ विकेट लिए।

यस अघि टस जितेर कर्णाली प्रदेशले बलिंग रोजेपछि ब्याटिंग गरेको नेपाल पुलिस क्लबले ४९.३ ओभरमा सबै विकेट गुमाएर ३४६ रन बनाएको थियो।

Kushal Bhurtel

पुलिसको लागि कुशल भुर्तेलले सर्वाधिक ७८ रन बनाए जुन क्रममा ४९ बलमा ७ चौका र ५ छक्का प्रहार गरे। सुनिल धमलाले ७० रन बनाए जुन क्रममा ९५ बलमा ६ चौका र १ छक्का प्रहार गरे। धमलाले ओपनर अमित श्रेष्ठसंग पहिलो विकेटको लागि ११ ओभरमा ६९ रनको साझेदारी गरेका थिए। अमितले २९ रन बनाए।

पुलिसका मध्यक्रमका ब्याट्सम्यानहरुले राम्रो सुरुवात गरे पनि ठुलो योगफल बनाउन सकेनन्। दिपेन्द्र ऐरी २५, अनिल साह ३६, दिलिप नाथ र पवन सर्राफ समान १५ रन, मन्जित श्रेष्ठ १८ रन बनाएर आउट भए। अनिल र पवन रन आउट हुन पुगे। यही बीचमा सुनिल धमला ३१ औं ओभरमा युनिश सिंहको बलमा विकेटकिपरबाट समातिन पुगे।

धमलाको विकेट पछि कुशल भुर्तेलले एक किनार सम्हाल्दै ३६ बलमा अर्धशतक पुरा गरेका थिए। तल्लो क्रममा ललित भण्डारीले २१ बलमा २ छक्का र १ चौका मदतले २७ रन बनाउदा पुलिसले विशाल योगफल बनायो।

Sunil Dhamala

कर्णाली प्रदेशको बलिंगमा रविन्द्र जंग शाहीले सर्वाधिक ३ विकेट लिए। यस्तै युनिष सिंह र राज शाहले समान २/२ विकेट लिए।

प्रतियोगिता अन्तर्गत बिहिबारको खेलमा कर्णाली प्रदेश र प्रदेश नम्बर-२ ले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिता अन्तर्गत यस अघि सम्पन्न समुह ‘ए’ र ‘सी’ को खेलहरुबाट त्रिभुवन आर्मी क्लब र प्रदेश नम्बर-३ टिम सेमीफाइनल प्रवेश गरिसकेका छन्।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy