मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को सम्पूर्ण तयारी पूरा भएको छ।
आगामी बैशाख १३ गतेदेखि २० गतेसम्म कोशी प्रदेशको राजधानी विराटनगरस्थित गिरीजा प्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट मैदान, बैजनाथपुरमा प्रतियोगिता भव्य रूपमा सम्पन्न हुने आयोजक एम.एम. कप फाउण्डेशनले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
२०७५ सालमा स्थापना भएको एम.एम. कप फाउण्डेशनले स्थापना कालदेखि नै विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको छ । स्वास्थ्य शिविर, खेलाडी प्रोत्साहन कार्यक्रम, कोरोना महामारीका बेला राहत वितरणजस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको यस संस्थाले विशेषगरी नेपाली क्रिकेटको विकासमा योगदान दिँदै आएको छ ।
फाउण्डेशनले २०७५ सालमा सुनसरीको इनरुवामा एम.एम. कपको पहिलो संस्करण सफलतापूर्वक सम्पन्न गरेको थियो । सो प्रतियोगितामा सात प्रदेशका टोलिहरू, तीन विभागीय टोली, भारतको विहार राज्यबाट एक टोली र आयोजक टोलीसहित जम्मा १२ टोलीको सहभागिता रहेको थियो। उक्त संस्करणमा त्रिभुवन आर्मी क्लब विजेता बनेको थियो भने नेपाल प्रहरी क्लब उपविजेता भएको थियो।
२०७६ सालमा दोस्रो संस्करण पुनः इनरुवामै सम्पन्न भएको थियो । सो संस्करणमा पनि सातै प्रदेश, तीन विभागीय टोली, आयोजक टोली र विशेष अतिथिको रूपमा मलेसियाको राष्ट्रिय टोलीले पहिलोपटक नेपालको घरेलु प्रतियोगितामा सहभागिता जनाएको थियो । यस्तै दोस्रो संस्करणमा पनि त्रिभुवन आर्मी क्लबले उपाधि जितेको थियो ।
तीन वर्षको अन्तरालपछि यसपटक तेस्रो संस्करणलाई थप व्यवस्थित र भव्य बनाउन लागिएको आयोजक एम.एम. कप फाउण्डेशनले जनाएको छ । प्रतियोगिता ५० ओभरको एक दिवसीय ढाँचामा अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइ.सिसि) को नियमअनुसार खेलाइनेछ । प्रतियोगिता ‘लिग कम नकआउट’ ढाँचामा हुनेछ । सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब (टि.ए. सि), सशस्त्र प्रहरी बल (ए.पि.एफ ), वाग्मती प्रदेश रहेका छन्। समूह ‘बी’ मा नेपाल प्रहरी क्लब (एन.पि.सि), कोशी प्रदेश र भारतको आसाम क्रिकेट टोली रहेका छन्।
खेल तालिका अनुसार बैशाख १३ गते त्रिभुवन आर्मी क्लब (टि.ए. सि) र सशस्त्र प्रहरी बल (ए.पि.एफ ) बीच उद्घाटन खेल हुनेछ । बैशाख १४ गते सशस्त्र प्रहरी बल (ए.पि.एफ) र वाग्मती, बैशाख १५ गते वाग्मती र त्रिभुवन आर्मी क्लब (टि.ए. सि) भिड्नेछन् । बैशाख १६ गते नेपाल प्रहरी क्लब (एन.पि.सि) र कोशी, १७ गते कोशी र आसाम, १८ गते आसाम र नेपाल प्रहरी क्लब (एन.पि.सि) बीच खेल हुनेछ । बैशाख १९ गते विश्राम दिन तोकिएको छ भने बैशाख २० गते समूह विजेता दुई टोलीबीच फाइनल खेल हुनेछ ।
प्रतियोगितामा आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । विजेता टोलीले रु. ४ लाख नगदसहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ । उपविजेता टोलीलाई रु. २ लाख नगदसहित ट्रफी, प्रमाणपत्र र मेडल दिइनेछ। त्यस्तै, प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई रु. २५ हजार, उत्कृष्ट ब्याट्सम्यान र बलरलाई जनही रु. १५ हजार तथा प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई रु. ४ हजार नगदसहित ट्रफी प्रदान गरिनेछ ।