मलेसियासंग जुलाई १३ र १४ तारिकमा २ वटा टि-२० अन्तर्राष्ट्रिय सिरिज र त्यहीं १० दिन अभ्यास पछि नेपाली क्रिकेट टिम आईसीसी टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) खेल्न शनिबार सिंगापुर पुगीसकेको छ। मलेसियालाई २-० ले पराजित गर्दै पहिलो टि-२० अन्तर्राष्ट्रिय सिरिज जित हाँसिल गरेको नेपाल सामु अब अस्ट्रेलियामा १८ अक्टोबर २०२० देखि आयोजना हुने टि-२० विश्वकप खेल्न छनौट हुने चुनौती रहेको छ।
सन् २०१४ मा पहिलोपटक बंगलादेशमा सम्पन्न टि-२० विश्वकप खेलेको नेपाल त्यसपछि २०१६ को टि-२० विश्वकपमा भने छनौट हुन असफल रह्यो। २०१५ मा आयरल्याण्ड र स्कटल्याण्डमा आयोजित छनौट प्रतियोगिताको समुह चरणमा नेपालले ६ खेलमा मात्र १ खेल जित्दै असफलता हाँसिल गरेको थियो। टि-२० विश्वकप अब ४-४ वर्षमा आयोजना हुने हुनाले बल्ल नेपालले छनौट हुने अर्को मौका पाएको हो।
२०१४ टि-२० विश्वकपमा यसरी छनौट भएको थियो नेपाल
त्यस बेला विश्वकप छनौट हुनको लागि सबैभन्दा पहिलो प्रतियोगिता एसीसी टि-२० रहेको थियो। सन् २०१३ मा नेपालमै आयोजना भएको उक्त प्रतियोगिताबाट उत्कृस्ट २ टिम ग्लोबल क्वालिफायरमा छनौट हुने थियो। तथापी प्रतियोगिता अघिनै अफगानिस्तान एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त रास्ट्रको रुपमा तथा युएई ग्लोबल क्वालिफायर आयोजकको रुपमा छनौट भइसकेको थियो। त्यस प्रतियोगितामा नेपाल र अफगानिस्तान फाइनल पुगेको थियो भने युएई र हंगकंग सेमीफाइनलसम्म पुगेका थिए। फाइनलमा नेपाल पराजित हुँदै उप-विजेता भएको थियो। युएई र अफगानिस्तानसंगै नेपाल र हंगकंग ग्लोबल क्वालिफायरको लागि छनौट भएको थियो।
२०१३ नोभेम्बरमा युएईमा आयोजित ग्लोबल क्वालिफायरमा सहभागी १६ टिम मध्ये उत्कृस्ट ६ टिम विश्वकप छनौट हुने थियो। समुह चरणमा नेपाल समुह ‘बि’ को तेश्रो स्थानमा रहँदै हंगकंगलाई क्वाटरफाइनलमा पराजित गर्दै विश्वकप खेल्न छनौट भएको थियो।

२०२० विश्वकप छनौट हुने नेपालको बाटो
गत वर्ष अक्टोबरमा मलेसियामा आयोजित टि-२० विश्वकप ( एसिया पूर्वी छनौट ) प्रतियोगिताको विजेता हुँदै पहिलो खुड्किलो पार गरेको नेपालले करिब १ वर्ष पछि दोश्रो खुड्किलोको रुपमा टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) खेल्न लागेको हो।
– टि-२० विश्वकप छनौट ( एसिया फाइनल )
सिंगापुरमा जुलाई २२ देखि २८ सम्म ( साउन ६ देखि – १२ सम्म ) आयोजना हुने प्रतियोगिताको विजेता टिम ११ अक्टोबर देखि युएईमा आयोजना हुने टि-२० विश्वकप ग्लोबल खेल्न छनौट हुनेछ।
सहभागी रास्ट्रहरु – नेपाल, सिंगापुर, कुवेत, मलेसिया, कतार
फर्म्याट – सिंगल राउण्ड रोबिन ( सबैले सबैसंग १-१ खेल खेल्नेछ ) , अंकतालिकामा उत्कृस्ट हुने १ टिम छनौट हुनेछ।
नेपालको खेलतालिका : जुलाई २३ – कतारसंग, जुलाई २४ – मलेसियासंग, जुलाई २७ – कुवेतसंग , जुलाई २८ सिंगापुरसंग
– टि-२० विश्वकप ग्लोबल क्वालीफायर
युएईमा ११ अक्टोबर देखि ३ नोभेम्बरमा आयोजना हुने प्रतियोगितामा कुल १४ टिम सहभागी हुनेछन्। १४ बाट उत्कृस्ट हुने ६ वटा टिम टि-२० विश्वकप २०२० मा छनौट हुनेछ।
२०१८ डिसेम्बर ३१ सम्म टि-२० वरियतामा ११ देखि १६ नम्बरमा रहेका टिमहरु स्वतः छनौट भइसकेका छन्। यस्तै आयोजकको रुपमा युएई सिधा छनौट भएको छ। यस्तै इस्ट एसिया प्यासिफिक छनौटबाट पपुवा न्यु गिनी, अफ्रीकाबाट केन्या र नामिबिया, युरूपबाट जर्सी छनौट भएका छन्। अब एसियाबाट २ टिम र अमेरिकाजबाट २ वटा टिम छनौट हुन बाँकी रहेको छ।
ग्लोबल छनौट खेल्न छनौट भइसकेका टोलिहरु ( कुल ११ ) – स्कटल्याण्ड, जिम्बाबे, नेदरल्याण्ड, हंगकंग, ओमान, आयरल्याण्ड, युएई, पपुवा न्यु गिनी, केन्या, नामिबिया, जर्सी , ३ टिम बाँकी ( एसियाबाट १ र अमेरिकाजबाट २ )
नोट – जिम्बाबेलाई आईसीसीले निलम्बन गरेको हुँदा ग्लोबल छनौट खेल्न नखेल्ने अनिश्चित रहेको छ। पछिल्लो निर्णय अनुसार जिम्बाबेले आईसीसीले आयोजना गर्ने प्रतियोगिता खेल्न नपाउने भनिएको छ।
नेपालको बाटो समग्रमा – टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) जितेमा ग्लोबल छनौट खेल्न छनौट हुनेछ। ग्लोबल छनौटमा १४ टिम मध्ये उत्कृस्ट ६ टिम हुन सके नेपाल दोश्रो पटक टि-२० विश्वकप खेल्न छनौट हुनेछ।
२०२० विश्वकपमा डिसेम्बर ३१ २०१८ सम्म आईसीसी टि-२० वरियतामा उत्कृस्ट ९ स्थानमा रहेका देशहरु र आयोजकको रुपमा अस्ट्रेलिया छनौट भइसकेका छन्। २०२० टि-२० विश्वकप छनौट भइसकेका राष्ट्रहरु – अस्ट्रेलिया, पाकिस्तान, भारत, इंग्ल्याण्ड, दक्षिण अफ्रीका, न्युजिल्याण्ड, वेस्टन्दिज, अफगानिस्तान, श्रीलंका, बंगलादेश