मुम्बई बिरुद्ध ७ विकेटको शानदार जित दर्ता गर्दै कोलकाता नाइट राइडर्स आईपीएल अंकतालिकाको चौथों स्थानमा उक्लेको छ। दुबईको अबुधाबीमा सम्पन्न खेलमा मुम्बईले दिएको १५६ रनको लक्ष्य कोलकाताले मात्र ३ विकेट गुमाएर १५.१ ओभरमै भेटायो।
कोलकाताको लागि राहुल त्रिपाठीले आक्रामक ब्याटिंग गर्ने क्रममा ४२ बलमा ८ चौका र ३ छक्का मद्दतले ७४ रन बनाए भने भेंकटेस ऐयरले ३० बलमा ४ चौका र ३ छक्का मद्दतले ५३ रन बनाए। शुबमन गिलले १३ रन बनाए। गिल र भेंकटेस बीच पहिलो विकेटको लागि ४० रनको तथा भेंकटेस र त्रिपाठी बीच दोश्रो विकेटको लागि ८८ रनको साझेदारी भएको थियो। मुम्बई बलर जस्प्रित बुम्राहले ३ विकेट ( ४-०-४३-३ ) लिएता पनि जितको लागि पर्याप्त थिएन।
यस अघि टस हारेर ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ६ विकेट क्षेतीमा १५५ रन बनाएको थियो। उसको लागि ओपनर क्विन्टन डीककले सर्वाधिक ५५ रन बनाए जुन क्रममा ४२ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। यस्तै कप्तान रोहित शर्माले ३० बलमा ३३ रन, काइरन पोलार्डले १५ बलमा २१ रन बनाए। इशान किशानले १४ तथा क्रुनाल पान्ड्याले १२ रन बनाए।
पहिलो विकेटको लागि रोहित शर्मा र क्विन्टन डीककले ७८ रनको साझेदारी गरेका थिए। दुई ब्याट्सम्यान आउट भएपछि मध्यक्रम ब्याट्सम्यानहरुले लगातार विकट गुमाउन पुगे। पाँचौ विकेटको लागि पोलार्ड र क्रुनाल पान्ड्याले ३० रनको साझेदारी गरे। अन्तिम ओभरमा पोलार्ड र पान्ड्या आउट हुँदा मुम्बईले अझ ठूलो योगफल बनाउन सकेन।
कोलकाताको बलिंगमा लकी फर्गुसन ( ४-०-२७-२ ) र प्रसिध कृष्णाले ( ४-०-४३-२ ) समान २ विकेट तथा सुनिल नारायण ( ४-०-२०-१ ) ले १ विकेट लिए। वरुण चक्रवर्ती विकेट विहिन रहेता पनि ४ ओभरमा मात्र २२ रन खर्चिए।
जित पछि लिग अंकतालिकामा चौंथो स्थानमा उक्लेको कोलकाताको ९ खेलमा ४ जित र ५ हार पछि ८ अंक रहेको छ। समान ८ अंक रहेता पनि राजस्थान रोयल्स र मुम्बई इन्डीएन्स पाँचौ र छैठौं स्थानमा रहेको छ। मुम्बईले ९ खेलमा ४ जित र ५ हार व्यहोरेको छ।

