सन्दिप र ललितको बलिङ्गमा म्यानमार २९ मै अलआउट

सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने ट्वान्टी-२० विश्वकपको एसिया उप-क्षेत्रिय छनौट प्रतियोगिता अन्तर्गत नेपालले पहिलो खेल म्यानमारसंग खेल्दैछ।

बायुमास ओभल मैदानमा टस जितेर ब्याटिंग रोजेको म्यानमारले अत्यन्त कमजोर ब्याटिंग प्रदर्शन गदै १० ओभरमा २९ रनमा सबै विकेट गुमाएर नेपाललाई ३० रनको लक्ष्य दिएको छ।

म्यानमारको लागि कप्तान लिङ्ग युङ्गले सर्वाधिक १६ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालको लागि सन्दिप लामिछानेले सर्वाधिक ४ विकेट लिनेक्रममा २ ओभरमा ३ रन खर्चिए। यस्तै ललित राजबंशीले ३ विकेट लिए जुन क्रममा ३ ओभरमा ३ रन खर्चिए। ललित भण्डारी र करन केसीले समान १/१ विकेट हात पारे।

Lalit Rajbanshi bowling
Lalit Rajbanshi bowling ( File Photo )

नेपालको अन्तिम ११ :- पारस खड्का ( कप्तान ) , ज्ञानेन्द्र मल्ल ( उपकप्तान ) , अनिल साह,बिनोद भण्डारी, दिपेन्द्र ऐरि , करन केसी, ललित भण्डारी, ललित राजबंशी, आरिफ शेख, प्रदिप ऐरि, सन्दिप लामिछाने

इतिहासमा पनि नेपालसंग कमजोर म्यानमार 

सन् २००६ को एसीसी ट्रफीमा नेपालले पहिलो पटक म्यानमारसंग पहिलो र अन्तिम पटक खेलेको थियो। त्यस बाहेक नेपाली यु-१६ क्रिकेट टिमले गत बर्ष एसीसी यु-१९ ( इस्टर्न रिजन ) मा म्यानमारसंग खेल्नु बाहेक कुनै पनि स्तरको नेपाली टिमले म्यानमारसंग खेलेको छैन।

२००६ मा नेपाली सिनियर टिमले म्यानमारलाई १० विकेटले पराजित गर्दा मात्र १० रनमा म्यानमारलाई समेट्दै नेपालले २ बलमै खेल जितेको थियो। उक्त खेललाई बिश्व क्रिकेटमै सबैभन्दा छोटो खेल मध्येको एक खेलको रुपमा लिईने गरिन्छ।

यस्तै नेपाल यु-१६ टिमले गत बर्ष डिसेम्बरमा एसीसी यु-१९ ( इस्टर्न रिजन ) प्रतियोगितामा म्यानमारलाई ३३७ रनको बिशाल अन्तरले पराजित गरेको थियो। त्यस खेलमा नेपालले निर्धारित ३५ ओभर ३५० रन बनाएको थियो र ३५१ रनको लक्ष्य पछ्याउने क्रममा म्यानमार १३ रनमै समेटिएको थियो।

सन् २००६ मा आईसीसीको एफिलीएट सदस्यता पाएको म्यानमारले त्यसपछि सन् २०१७ जुनमा बल्ल एसोसीएट राष्ट्रको मान्यता पाएको हो।

एसिया “बि” उप-क्षेत्रिय छनौट ( पूर्वी ) प्रतियोगितामा नेपाल सहित मलेसिया, भुटान, म्यान्मार, चिन, सिंगापुर, र थाईल्याण्ड रहेका छन्। यस उप-क्षेत्रबाट शिर्ष ३ टोलि एसियाली क्षेत्रिय छनौट प्रतियोगिताका लागि अगाडी बढ्नेछन्। एसियाली क्षेत्रिय छनौट प्रतियोगिताका लागि यसअघि नै एसिया “ए” उप-क्षेत्रबाट ( पश्चिमी ) युएई, कुवेत र कतार छनौट भैसकेका छन्।

प्रतियोगितामा सबै टोलीले एक अर्कासंग खेल्नुपर्नेछ। पहिलो खेलमा बुधबार म्यान्मारको सामना गरेपछि नेपालले दोस्रो खेल मलेसिया बिरुद्ध अक्टोबर ६ तारिकमा, तेस्रो खेल अक्टोबर ७ तारिकमा थाइल्याण्ड बिरुद्ध, चौथो खेल अक्टोबर ९ तारिकमा भुटान बिरुद्ध, पाँचौ खेल अक्टोबर १० तारिकमा चिन बिरुद्ध र अन्तिम तथा छैठौं खेल अक्टोबर १२ तारिकमा सिंगापुर बिरुद्ध खेल्ने तालिका रहेको छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy