धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि काठमाण्डौंको टीम घोषणा गरिएको छ ।
गो ड्रिमर्सको आयोजनामा यस बर्षदेखि नेपाल क्रिकेट संघको बार्षिक क्यालेण्डरमा समावेश भएको प्रतियोगिताका लागि काठमाण्डौंको क्रिकेट एक्सीलेन्स सेन्टर (सिईसी) ले १४ सदस्यीय टोली घोषणा गरेको हो ।
विभिन्न उमेर समुहका राष्ट्रिय तथा अन्तराष्ट्रिय क्रिकेटर समावेश गरेर काठमाण्डौंले टीम घोषणा गरेको हो । टीममा नन्दन यादव, अभिनाश बस्याल, दिपेन्द्र रावत, राजप्रसाद शाह, सचिन लेखक, सुर्य तामाङ रहेका छन् ।
यस्तै युनिश विक्रम सिंह, विपिन आचार्य, शिवम तिवारी, अर्जुन घर्ती, सोनु अन्सारी, सिद्धार्थ साउँद, सन्दीप विष्ट र दिपेश अधिकारी रहेका छन् ।
काठमाण्डौंले माघ २१ गते सिवाईसी अत्तरियासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । माघ २३ गते न्यु होराईजन बुटबलसँग खेल्ने छ भने माघ २४ गते दशरथ चन्द एकेडेमी बैतडीसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको खेललाई प्रत्यक्ष रुपमा मैदानमा गएर हेर्नका लागि खल्ती एपबाट टिकट काट्न सकिने सुविधा दिईएको आयोजकले जनाएको छ ।
प्रतियोगिताका खेलहरु हेर्नका लागि खल्ती एपमा अर्जुन ट्रफीको टिकट काट्ने सुविधा सुरु भईसकेको छ । डिजिटल वालेट खल्तीबाट टिकट काटेर खेल हेर्ने दर्शकहरुलाई टिकट बराबरको आकर्षक उपहार पनि दिईने भएको छ ।
गो ड्रिमर्सको आयोजनामा यस बर्षदेखि नेपाल क्रिकेट संघको बार्षिक क्यालेण्डरमा समावेश भएको प्रतियोगिताका लागि भिआईपी तर्फ दुई सय र साधारण तर्फ एक सय रुपैया टिकट दर तोकिएको छ ।
प्रतियोगिताका सबै खेलहरू एक्सन स्पोट्र्स एचडी वान टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिने छ । धनगढी र सुदुरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका स्वर्गीय अर्जुन खड्काप्रति समर्पित अर्जुन ट्रफीमा झण्डै २० लाख नगद पुरस्कार प्रदान गरिनेछ । रनिङ ट्रफीको रुपमा टी–२० फमर््याटको प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०÷५० हजार पाउनेछन् । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ । प्रतियोगितामा देशभरका ८ वटा क्लबका टीमहरुको सहभागीता रहेको छ ।
सबै टोलीहरुले ए क्याटोगोरीका चार जना, बी क्याटोगोरीका पाँच जना र बाँकी सी क्याटोगोरीका गरी १४ खेलाडी समावेश गर्न पाउनेछन् । ए क्याटोगोरीमा नेपाली राष्ट्रिय टीमका खेलाडी रहेका छन् भने बी क्याटोगोरीमा नेपाली राष्ट्रिय टीम ए, यु– १९ नेपाली राष्ट्रिय टोली र प्रदेश स्तरीय सिनियर खेलाडी रहेका छन् ।
सी क्याटोगोरीमा यु– १६ नेपाली राष्ट्रिय टोली, प्रदेशका यु–१९ र यु–१६ का खेलाडी र अन्य खेलाडीहरु रहेका छन् ।