कोभिड-१९ प्रोटोकल उल्लङ्घन गरे पछि पाकिस्तानी दायाँ हाते फास्ट बलर नसिम शाहलाई आगामी महिना अबुधाबीमा सुरु हुने पाकिस्तान सुपर लिगबाट निस्कासन गरिएको छ।
क्वेटा ग्ल्याडीएटर्स टिमको प्रतिनिधित्व गर्ने १८ वर्षीय शाह टिम होटलमा सोमबार पुगेका थिए। उनिसंग मिति नाघीसकेको कोभिड-१९ रिपोर्ट रहेको थियो जसकारण उनलाई पाकिस्तान क्रिकेट बोर्डले प्रतियोगिताबाट बाहिरको बाटो देखाएको हो।
पाकिस्तान क्रिकेट बोर्डको ( पिसिबी ) प्रोटोकल अनुसार बुधबार अबुधाबी प्रस्थान गर्ने सबै खेलाडीहरुले होटल पुग्दासम्म बढीमा ४८ घण्टा पुरानो कोभिड-१९ रिपोर्ट लिएर आउनुपर्ने थियो। शाहले सोमबार बुझाएको रिपोर्ट मे १८ तारिखको थियो।
पिसिबीले तुरुन्त शाहलाई आइसोलेसनमा राखेको थियो जसपछि पाकिस्तान सुपर लिगको स्वतन्त्र मेडिकल सल्लाह कमिटिले शाहलाई निस्कासन गर्ने निर्णय लिएको थियो।
“पाकिस्तान क्रिकेट बोर्डले कुनै हिच्किचाहट बिना आफ्नो युवा फास्ट बलरलाई प्रतियोगिताबाट बाहिर गर्ने निर्णय गरेको छ। यदी हामीले थोरै पनि लापरबाही गर्यौं भने पुरै प्रतियोगितालाई खतरा हुनेछ।” पिसिबीका डीरेक्टर कमर्सियल बाबर हमिदले बोर्डद्वारा जारी बिज्ञप्तिमा बताएका छन्।
बिज्ञप्तिमा हमिदले शाहलाई प्रतियोगिताबाट निस्कासन गर्नुले “पिसिबी पीएसएल आयोजना गर्न थोरै पनि सम्झौता गर्न तयार नभएको स्पस्ट सन्देश दिने” बताएका छन्।
शाह क्वेटा ग्ल्याडीएटर्सको मुख्य खेलाडी रहेका थिए जसले २०१८ मा अस्ट्रेलिया बिरुद्ध टेस्ट डेब्यु गरेपछि आफुलाई उच्चकोटीको बलर सावित गरेका छन्। बंगलादेश बिरुद्ध गत वर्ष टेस्टमा ह्याट्रिक लिएका शाहले ९ टेस्टमा २० विकेट लिएका छन्। यो सिजन पीएसएलमा शाहले २ खेल खेल्दा विकेटविहिन छन्।
पाकिस्तान सुपर लिगको बाँकी रहेको २० वटा खेलको लागि ६ वटा फ़्रेन्चाइज टिमहरु यो साता अबुधाबी पुगीसक्ने तालिका रहेको छ। लिगको बाँकी खेलहरु जुन १ तारिखबाट सुरु हुने तालिका रहेको छ भने फाइनल जुन २० तारिखमा खेलिनेछ।
धेरै खेलाडीहरु तथा कोचिंग स्टाफहरुमा कोभिड-१९ संक्रमण देखिएपछि पाकिस्तान सुपर लिग मार्च महिनामा बीचमै रोक्नु परेको थियो। त्यसपछि पाकिस्तानबाट सारेर प्रतियोगिता युएईको अबुधाबीमा आयोजना गर्न लागिएको हो। पिसिबीले कराँचीमा पुनः लिग आयोजना गर्ने योजना बनाएता पनि बढ्दो कोभिड-१९ केसहरुको कारण असम्भव भएको थियो।
यो पनि पढ्नुस
https://wicketnepal.com/puma-sponsor-ryan-burl-wn21/
https://wicketnepal.com/ipl-baki-khel-sep-oct/
https://wicketnepal.com/cpl-sandeep-retain-bhayenan-wn21/
https://wicketnepal.com/sl-cricket-bibad-wn21-5-21/