राष्ट्रिय टिमका दुई पूर्व प्रशिक्षकले ईपीएलमा प्रशिक्षण गर्ने

राष्ट्रीय क्रिकेट टिमका दुई पूर्व प्रशिक्षक पुबुदु दासानायके र उमेश पटवालले एभरेस्ट प्रिमियर लिग ( ईपीएल ) मा प्रशिक्षकको भूमिकामा देखिने भएका छन्।

श्रीलंका तथा क्यानडाका पूर्व क्रिकेटर दासानायकेले सन् २०११ देखि २०१५ सम्म ४ वर्ष नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकको रुपमा काम गरेका थिए। यस्तै वर्तमान मुख्य प्रशिक्षक डेभ व्हाटमोर भन्दा अघि नेपालको प्रशिक्षक रहेका भारतका पटवालले २०१९ देखि २०२० सम्म करिब एक वर्ष मुख्य प्रशिक्षण पद सम्हालेका थिए।

ईपीएलमा पुबुदु दासानायकेलाई शरद भेसावकर कप्तानीको टिम भैरहवा ग्ल्याडीएटर्सले मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो। गत सिजननै उनलाई नियुक्त गरेर नेपाल आएता पनि कोभिड-१९ का कारण प्रतियोगिता स्थगित हुँदा उनि घर फर्कनुपरेको थियो। नेपाल छाडेपछि अमेरिका क्रिकेट टिमको प्रशिक्षण पद सम्हालेका उनले २०१९ मा राजिनामा दिएका थिए। त्यसपछि उनि हाल कुनै पनि राष्ट्रिय टिमसंग आबद्ध छैनन्।

उमेश पटवालले पोखरा राइनोज टिमको प्रशिक्षण सम्हाल्नेछन्। टिममा क्रिकेट निर्देशकको रुपमा नेपाली राष्ट्रिय टिमका पूर्व क्रिकेटर दिपेन्द्र चौधरी रहेका छन् भने टिमसंग पोखराको गत सिजन प्रतिनिधित्व गरेका अर्का पूर्व क्रिकेटर शक्ति गौचन पनि प्रशिक्षण टिममा रहने छैन। गौचनलाई कुन भूमिका दिईने बताईएको छैन।

भैरहवाले टिममा विदेशी खेलाडीको रुपमा बंगलादेशका तामिम इक्बाल र श्रीलंकाका उपुल थारांगा र धम्मिका प्रशादलाई अनुबन्ध गरिसकेको छ। यस्तै पोखराले अघिल्लो सिजन पनि टिमसंग रहेका दक्षिण अफ्रिकी क्रिकेटर रिचर्ड लेभीलाई अनुबन्ध गरेको छ भने अन्य खेलाडीको घोषणा छिट्टै गर्ने बताएको छ। भैरहवा गत सिजन ईपीएलको उपविजेता टिम हो भने पोखरा गत सिजन एक खेल पनि नजिती प्लेअफ पुग्न असफल रहेको थियो।

सेप्टेम्बर २५ तारिख ( असोज ९ गते ) देखि सुरु हुने ईपीएलको उद्घाटन खेलमा सन्दिप लामिछाने कप्तानीको काठमाडौँ किंग्स-११ ले डिफेन्डिङ च्याम्पीयन ज्ञानेन्द्र मल्ल कप्तानीको ललितपुर पेट्रिएट्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल सेप्टेम्बर २५ तारिख ( असोज ९ गते ) शनिवार १२:१५ बजे दिउसो सुरु हुनेछ। लिगको खेलहरु त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान कीर्तिपुरमा खेलिनेछ।

ईपीएलमा काठमाडौँ किंग्स ११ , ललितपुर पेट्रिएट्स , बिराटनगर वारियर्स, भैरहवा ग्ल्याडीयटर्स, पोखरा राइनोज र चितवन टाइगर्स गरी प्रतियोगितामा ६ वटा टिम रहेका छन्। लिगको विजेताले नेपाली क्रिकेटकै सर्वाधिक ५० लाख रुपैयाँ प्राप्त गर्नेछ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy