राष्ट्रिय क्रिकेट टिमको मूख्य प्रशिक्षक नियुक्त भएपछि पुबुदुले के भने

नेपाली क्रिकेट टिमको मूख्य प्रशिक्षक नियुक्त भएपछि पुबुदु दासानायकेले खुसि व्यक्त गरेका छन्। उनलाई क्यानले दुई वर्षे सम्झौता गर्दा नियुक्त गरेको छ।

सन् २०११ देखि २०१५ सम्म पनि नेपाली टिमको मूख्य प्रशिक्षण सम्हालेका ५१ वर्षीय दासानायकेको कार्यकालमा नेपालले २०१४ टि-ट्वान्टी विश्वकप खेलेको थियो। पुनः नेपालको प्रशिक्षकको रुपमा फर्किएका पूर्व श्रीलंकन टेस्ट क्रिकेटरले दोश्रो अवसर प्रति कृतज्ञता व्यक्त गरेका छन्।

“नेपाल क्रिकेट संघसंग काम गर्ने अवसर पाउँदा म खुसि छु र आफूलाई धन्य ठान्छु। मलाई आशा छ कि म नेपाल क्रिकेटलाई उचाईमा लैजान सक्नेछु। हामिसंग सिनियर र जुनियर स्तरमा पर्याप्त प्रतिभाशाली खेलाडीहरु छन्।” उनले बताए।

“म नेपाल क्रिकेट संघ, समस्त व्यवस्थापन र नेपालका क्रिकेट फ्यानहरुलाई यो सुन्दर अवसरको लागि धन्यवाद व्यक्त गर्न चाहन्छु।” उनले थपे।

श्रोतका अनुसार दासानायकेले मूख्य प्रशिक्षक भए बापत मासिक करिब १२ लाख नेपाली रुपैयाँ प्राप्त गर्नेछन्।

पुबुदुलाई प्रशिक्षक नियुक्त गरेपछि नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्दले स्वागत गरेका छन् – “क्यान पुबुदु दासानायकेलाई नेपालको पुरुष टिमको मूख्य प्रशिक्षकको रुपमा स्वागत गर्न चाहन्छु। नेपाली क्रिकेटमा योगदान तथा एसोसीएट क्रिकेटमा उनको बिज्ञताको हामि सम्मान गर्छौं। म आशा गर्छु उनको दुई वर्षे कार्यकालमा नेपाली क्रिकेटले ठूलो फड्को मार्नेछ।”

चन्दले थप बताएका छन् – “प्रमूख प्रशिक्षक पुरुष राष्ट्रिय टिमको अन्तर्राष्ट्रियस्तरमा राम्रो प्रदर्शनमा निरन्तरताको नेतृत्व गर्न जिम्मेवार हुनेछन्। उनि क्रिकेट म्यानेजर ( बिनोद दास ) संग नजिक रहेर प्रशिक्षण कार्यक्रम, वर्तमान र भविष्यका क्रिकेटलाई प्रेरणा बन्न काम गर्नेछन्।”

पुबुदुले नेपाल बाहेक क्यानडा क्रिकेट टिमको र अमेरिकी क्रिकेट टिमको प्रशिक्षण सम्हालीसकेका छन्। उनको कार्यकालमा क्यानडाले २०११ को एकदिवसीय विश्वकप खेलेको थियो भने २०१९ मा अमेरिकाले एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता पाएको थियो। उनले २०१९ सम्म अमेरिकाको प्रशिक्षण सम्हालेपछि राष्ट्रिय टिमको प्रशिक्षण सम्हालेका थिएनन्।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy