नेपाली क्रिकेट टिमको ओमान त्रिकोणात्मक सिरिज स्थगित, बन्द प्रशिक्षण के हुन्छ ?

२०७७ माघ ३०, शुक्रबार १२:०८

नेपालले मार्च १९ तारिख देखि ओमानमा आयोजक ओमान, नेपाल र अमेरिका सम्मिलित विश्वकप लिग-२ अन्तर्गत खेल्ने त्रिकोणात्मक सिरिज स्थगित भएको छ।

नेपाल क्रिकेट संघले शुक्रबार प्रेस बिज्ञप्ति जारि गर्दै आईसीसीले अधिकारिक रुपमा सिरिज स्थगित गरेको बताएको छ। यस्तै आईसीसीले अप्रिलमा हुने पपुवा न्यु गिनी, ओमान र स्कटल्याण्ड बीचको सिरिज तथा मेमा पपुवा न्यु गिनी, अमेरिका र नामिबिया बीचको सिरिज पनि स्थगित गरेको छ।

गत वर्ष मार्चमा थाइल्याण्डमा सम्पन्न एसीसी टि-२० इस्टर्न पछि नेपाली राष्ट्रिय क्रिकेट टिमले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको छैन।

नेपालले गत वर्ष फेब्रुअरीमा ओमान र अमेरिकासंग घरेलु मैदानमा विश्वकप लिग-२ अन्तर्गतको पहिलो सिरिज खेलेको थियो। त्यसपछि कोरोनाका कारण बारम्बार सिरिजहरु स्थगित हुँदै आएको छ। विदेशमा प्रतियोगिता खेल्न जाँदा अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्ने हुँदा खर्च निकै बढी आउनु सिरिज स्थगित हुनु पछाडीको कारण हो।

आईसीसीले गत महिना विश्वकप लिग-२ को खेलहरु पुनः सुचारु हुने बताउदै खेल तालिका सार्वजनिक गरेको थियो। त्यस अनुरुप नेपालले ओमान सिरिज पाच जुलाईमा स्कटल्याण्डमा त्रिकोणात्मक सिरिज खेल्ने तालिका रहेको थियो। नेपालले त्यसपछि २०२२ फेब्रुअरीमा नेपालमा युएई र पपुवा न्यु गिनी सम्मिलित त्रिकोणात्मक सिरिज आयोजना गर्ने तालिका रहेको थियो। आईसीसीले भने विश्व कप लिग-२ को सिरिज सरेको अधिकारिक रुपमा जानकारी गराएको छैन।

दोश्रो चरणको प्रशिक्षण सुरु हुने 

त्रिकोणात्मक सिरिज स्थगित भएता पनि नेपाल क्रिकेट संघले राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणलाई भने निरन्तरता दिने भएको छ।

क्यानले गत साता ३२ सदस्यीय प्रारम्भिक टिम घोषणा गर्दै २१ जना खेलाडीहरुलाई समाबेश गर्दै पहिलो चरणको अभ्यास सुरु गरेको थियो।

पहिलो चरणको अभ्यास बिहिबार सकिएपछि अब दोश्रो चरणको अभ्यास शनिवार देखि सुरु हुनेछ। दोश्रो चरणको अभ्यासमा २०-२१ जना खेलाडीहरु सहभागी हुने क्यानका सचिव अशोकनाथ प्याकुरेलले जानकारी गराएका छन्। पहिलो चरणमा सहभागी भएका २१ जना खेलाडीबाट आधा खेलाडी मात्र दोश्रो चरणको बन्द प्रशिक्षणमा सहभागी हुनेछन्। तथापी क्यानले पहिलो चरणको अभ्यासबाट घर फर्कने खेलाडीहरुको सुची भने सार्वजनिक गरेको छैन।

दोश्रो चरणमा कप्तान ज्ञानेन्द्र मल्ल सहित, पारस खड्का, सन्दिप लामिछाने, दिपेन्द्र ऐरी, शरद भेसावकर, सोमपाल कामि, करन केसी, अविनाश बोहरा, कुशल मल्ल र आरिफ शेख पनि जोडिनेछन्।

यो पनि पढ्नुस :-

फोटोहरुमा हेर्नुस कसरि हुँदैछ राष्ट्रिय क्रिकेट टिमको बन्दप्रशिक्षण

आईपीएल मिनी अक्सन : नेपालबाट सन्दिपलाई मात्र बोलि लाग्ने, बेस प्राईस ४० लाख भारु

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy