टेस्ट राष्ट्र आयरल्याण्ड बिरुद्ध नेदरल्याण्डको ऐतिहासिक सिरिज जित

२०७८ जेष्ठ २४, सोमबार २१:२८

आयरल्याण्डलाई निर्णायक खेलमा ६ विकेटले पराजित गर्दै नेदरल्याण्डले तिन वटा एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज २-१ ले जितेको छ। नेदरल्याण्डले आयरल्याण्डलाई सिरिजमा पराजित गरेको यो पहिलो अवसर हो।

सिरिज अन्तर्गत पहिलो खेलमा नेदरल्याण्ड १ रनले विजयी भएको थियो भने दोश्रो खेलमा आयरल्याण्ड ८ विकेटले विजयी भएको थियो।

यो संगै नेदरल्याण्ड टेस्ट राष्ट्र बिरुद्ध लगातार दुई वटा एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज जित्ने पहिलो टिम बनेको छ। पछिल्लो सिरीजमा नेदरल्याण्डले जिम्बाब्वेलाई पराजित गरेको थियो।

आईसीसी पुरुष विश्वकप सुपर लिग अन्तर्गत खेलिएको सिरिजपछि नेदरल्याण्ड अंकतालिकामा नवौं स्थानमा उक्लेको छ जसको २० अंक रहेको छ। समान २० अंक रहेता पनि नेदरल्याण्ड दशौँ स्थानमा रहेको छ। जिम्बाब्वे, दक्षिण अफ्रीका र श्रीलंका क्रमशः ११ औं, १२ औं र १३ औं स्थानमा रहेको छ।

अलट्रेक स्थित स्पोर्ट्सपार्कमा सम्पन्न खेलमा आयरल्याण्डले दिएको १६४ रनको लक्ष्य नेदरल्याण्डले ४५.५ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो।

लक्ष्य पछ्याउने क्रममा नेदरल्याण्ड ओपनर स्टेफेन माइबर्गले सर्वाधिक ७४ रन योगदान दिए जुन क्रममा १११ बलमा ६ चौका र ३ छक्का प्रहार गरे। माइबर्गनै प्लेयर अफ द म्याच चुनिए। अर्का ओपनर म्याक्स ओ डोडले ३६ रन, मुसा एहमदले १९ रन तथा बास डी लिडेले १८ रन बनाए।

माइबर्गले पहिलो विकेटको लागि ओ डोडसंग ६६ रनको तथा चौथो विकेटको लागि बास डी लिडेसंग ६२ रनको साझेदारी गर्दै जितको आधार तयार गरेका थिए।

आयरल्याण्डको बलिंगमा सिमि सिंहले ३ विकेट ( ९.५-२-२९-३ ) लिए भने ब्यारी म्याकर्थी, जोशुआ लिटल र एन्डी म्याकब्रायनले समान १ विकेट लिए।

माइबर्ग प्लेयर अफ द म्याच चुनिए ( फाइल फोटो / क्रिकइन्फो )

यस अघि टस जितेर ब्याटिंग रोजेको आयरल्याण्डले ४९.२ ओभरमा सम्पूर्ण विकेट गुमाएर १६३ रन बनाएको थियो।

आयरल्याण्डको लागि ह्यारी टेक्टरले सर्वाधिक ५८ रन, जर्ज डकरेलले ४० रन, सिमि सिंहले अविजित २१ रन तथा एन्डी बालबर्नीले १३ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

२८ रनमा ३ विकेट गुमाएको अवस्थामा टेक्टर र डकरेलले ८९ रनको साझेदारी गरे। ३३ औं ओभरमा डकरेल र ३७ औं ओभरमा टेक्टर आउट भएपछि भने आयरल्याण्डले लगातार विकेट गुमाउन पुगेको थियो।

नेदरल्याण्डको बलिंगमा फ्रेड क्लासेन ( १०-१-२३-३ ) र लोगान भान बिक ( ९.२-०-२९-३ ) ले समान ३ विकेट लिए। भान डर गुटेनले २ विकेट ( ९-१-२२-२ ) र भीभीएन किंग्माले १ विकेट ( ९-१-४०-१ ) लिए।

प्रतियोगिताकै उत्कृस्ट खेलाडी लोगान भान बिक चुनिए। उनले सिरिजमा ६ विकेट लिनुको साथै ५५ रन समेत बनाए।

धेरैले पढेको 

डेब्युमा ७ विकेट लिने इंग्ल्यान्ड बलर रोबिन्सन ईसीबिद्वारा निलम्बित, कारण यस्तो

सन्दिपको स्थानमा वर्सेस्टरशायरले बोलायो न्युजिल्यान्डका लेग स्पिनर

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy