ओ डोड र किंग्मा चम्किदा नेदरल्याण्डद्वारा स्कटल्याण्ड पराजित

२०७८ जेष्ठ ६, बिहीबार ०७:५६

स्कटल्याण्डको नेदरल्याण्ड भ्रमण अन्तर्गत दुई वटा एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत पहिलो खेलमा घरेलु टोलि नेदरल्याण्ड १५ रनले विजयी भएको छ। सिरिजमा घरेलु टोलिले १-० को अग्रता हाँसिल गरेको छ।

रोटरड्याम, हेज्लरवेगमा सम्पन्न खेलमा टस जितेर ब्याटिंग गरेको नेदरल्याण्डले दिएको १६५ रनको लक्ष्य पछ्याउने क्रममा स्कटल्याण्डले निर्धारित ३३ ओभरमा ८ विकेट क्षेतीमा १४९ रन मात्र बनाउन सक्यो। वर्षाका कारण ढिला सुरु हुँदा खेल ३३ ओभरमा झारिएको थियो।

लक्ष्य पछ्याउने क्रममा स्कटल्याण्डको लागि रिची बेरिंगटनले सर्वाधिक ४१ रन तथा जर्ज मुनसेले २७ रन बनाए। सुरुवाती ३ विकेट ३१ रनमा गुमाएपछि बेरिंगटन र मुनसेले चौथो विकेटको लागि ६९ रनको साझेदारी गरेका थिए।

२२ औं ओभरमा मुनसेलाई लोगान भान बिकले क्याच आउट गराएपछि स्कटल्याण्डले लगातार विकेट गुमाउन पुग्यो। २४ औं ओभरमा बेरिंगटनलाई भिभियन किंग्माले क्याच आउट गराए।

२१.३ ओभरमा १००/३ को बलियो रहेको स्कटल्याण्डले त्यसपछि थप ५ विकेट गुमाउदा पुरै ३३ ओभर ब्याटिंग गरेता पनि १४९ रन मात्र बनाउन सक्यो।

नेदरल्याण्डको बलिंगमा दायाँ हाते पेसर भिभियन किंग्माले सर्वाधिक ३ विकेट ( ७-१-२१-३ ) लिए जुन क्रममा माथिल्लो क्रमक कायल कोट्जर, म्याथु क्रस र रिची बेरिंगटनको महत्वपूर्ण विकेट लिए। पल भान मिकीरनले २ विकेट ( ७-१-२८-२ ) तथा लोगान भान बिक र आर्यन दत्तले समान १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको नेदरल्याण्डले ३३ ओभरमा ८ विकेट क्षेतीमा १६४ रन बनाएको थियो।

एक समय ५९ रनको योगफलमा ५ विकेट गुमाएको नेदरल्याण्डको इनिंग्स ओपनर म्याक्स ओ डोडले सम्हालेका थिए। अर्को किनारमा विकेट गुमेता पनि डो डले अन्तिम ओभरसम्म ब्याटिंग गरे।

म्याक्स ओ डोडले अन्तिम ओभरको चौथो बलमा रन आउट हुनु अघि १०२ बलमा ५ चौका र १ छक्का मद्दतले ८३ रन बनाए। ओ डोडले छैठौं विकेटको लागि सकिब जुल्फिकरसंग ३९ रनको, सातौं विकेटको लागि भान बिकसंग ४२ रनको साझेदारी गरेका थिए। भान बिकले २४ रन तथा जुल्फिकरले १२ रन बनाए।

स्कटल्याण्डको बलिंगमा गाभिन मेन ( ७-२-१६-२ ) र मार्क वाट ( ६-१-२९-२ ) ले समान २ विकेट लिए। अलसडेर इभान्स, सफ्यान सरिफ र हम्जा ताहिरले समान १ विकेट लिए।

सिरिज अन्तर्गत दोश्रो तथा अन्तिम खेल मे २१ तारिख शुक्रबार खेलिनेछ।

धेरैले पढेको 

https://wicketnepal.com/russel-hetmyer-include-prv-squad-wn21/

https://wicketnepal.com/sanyas-firta-ab-bare-d-villiers-wn21/

https://wicketnepal.com/t20-world-cup-team-sankhya-icc-wn2/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy