सागरको घातक बलिंगमा नेपालद्वारा दिल्ली सहजै पराजित

देब्रे हाते स्पिनर सागर ढकालले घातक बलिंग गर्दा भारत भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले दोश्रो अभ्यास खेलमा दिल्ली जिल्ला क्रिकेट संघ ( डीडीसीए ) लाई ६ विकेटले सहजै पराजित गरेको छ। पहिलो खेलमा नेपाल २ विकेटले पराजित भएको थियो।

अरुण जेटली स्टेडियममा सम्पन्न खेलमा डीडीसीएले दिएको  १५९ रनको लक्ष्य नेपालले २८.२ ओभरमा ४ विकेट गुमाएर भेटायो।

नेपालको ब्याटिंगमा ज्ञानेन्द्र मल्लले सर्वाधिक ४८ रन बनाए जुन क्रममा ५६ बलमा ५ चौका प्रहार गरे। ओपनर आसिफ शेखले ३० तथा अर्जुन साउदले २८ रन बनाए। कप्तान रोहित पौडेलले २४, आरिफ शेखले १५ तथा कुशल भुर्तेलले अविजित ११ रन बनाए।

ओपनर अर्जुन र आसिफले ४५ रनको ओपनिंग साझेदारी गरे। तेश्रो विकेटको लागि ज्ञानेन्द्र र रोहितले ५६ रनको साझेदारी गर्दै जितको आधार तयार गरे।

दिल्लीको बलिंगमा सिद्धान्त शर्मा, पार्थ वधरा, ध्रुभ चौहान र रभी रोशनले १/१ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको दिल्ली जिल्ला क्रिकेट संघले ( डीडीसीए ) ४०.५ ओभरमा १५८ रनमा सबै विकेट गुमायो।

डीडीसीएको लागि काभ्य गुप्ताले सर्वाधिक ३४ रन बनाए। सलिल मलहोत्राले ३१, भैभव शर्माले २६ तथा कनभ गम्भीरले २१ रन बनाए।

नेपालको बलिंगमा देब्रे हाते स्पिनर सागर ढकालले सर्वाधिक ५ विकेट लिए जुन क्रममा ५ ओभरमा १ मेडन ओभर गर्दै १२ रन खर्चिए। लेग स्पिनर कुशल भुर्तेलले २ तथा सोमपाल कामि, ललित राजबंशी र हरिशंकर शाह समान १ विकेट लिए।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy