टि-२० विश्वकप छनोट : बन्द प्रशिक्षणको लागि ३० सदस्यीय राष्ट्रिय टिमको घोषणा

२०७८ पुष १५, बिहीबार २०:४५

Nepal Cricket Team

ओमानमा फेब्रुअरी १५ तारिख देखि आयोजना हुने टि-ट्वान्टी विश्वकप ग्लोबल छनोट प्रतियोगिताको पहिलो चरणको बन्द प्रशिक्षणको लागि नेपाल क्रिकेट संघले ३० सदस्यीय टोलिको घोषणा गरेको छ।

क्यानको छनोट समिति र मुख्य प्रशिक्षक पुबुदु दासानायेकेले टिमको छनोट गरेका हुन्। जनवरी २ तारिख देखी काठमाडौँमा बन्द प्रशिक्षण सुरु हुनेछ।

घोषित टिम : सन्दिप लामिछाने ( कप्तान ), ज्ञानेन्द्र मल्ल, दिपेन्द्र ऐरी, शरद भेसावकर, करन केसी, सोमपाल कामि, आरिफ शेख, बिनोद भण्डारी, कुशल मल्ल, कुशल भुर्तेल, आसिफ शेख, कमल सिंह ऐरी, शाहब आलम, सन्दिप जोरा, अविनाश बोहरा, सुशन भारि, पवन सर्राफ, बिक्रम सोब, भिम शार्की, रोहित पौडेल, प्रदिप ऐरी, गुल्सन झा, नन्दन यादव, जितेन्द्र मुखिया, बिबेक यादव, सौरभ खनाल, राजेश पुलामी, किशोर महतो, सागर ढकाल, हरि शंकर शाह छन्।

घरेलु प्रतियोगितामा राम्रो प्रदर्शन गरेका युवा देब्रे हाते स्पिनर सागर ढकाल, बिबेक यादव, जितेन्द्र मुखिया, भिम शार्की, राजेश पुलामी, नन्दन यादव जस्ता क्रिकेटरहरुले टिममा मौका पाएका छन्। यस्तै सौरभ खनाल, हरि शंकर शाह, किशोर महतो, प्रदिप ऐरीले पनि टिममा स्थान बनाएका छन्।

प्रतियोगितामा नेपाली राष्ट्रिय टिम पहिलो पटक सन्दिप लामिछानेको कप्तानीमा खेल्नेछ। हाल बिग ब्यास लिग खेल्न अस्ट्रेलियामा रहेका सन्दिप लिगको समाप्ति पछि जनवरीको अन्तिम साता नेपाल पुग्नेछन्।

टि-२० विश्वकप २०२२ मा कुल १६ टोलि सहभागी हुँदैछन् जसको लागि १२ टोलिको टुंगो लागिसकेको छ। आयोजक अस्ट्रेलिया सहित इंग्ल्यान्ड, भारत, पाकिस्तान, न्युजिल्यान्ड, दक्षिण अफ्रीका, अफगानिस्तान, बंगलादेश सुपर-१२ चरणको लागि स्वतः छनोट भैसकेका छन् भने समुह चरणको लागि वेस्टइन्डिज, श्रीलंका, नामिबिया र स्कटल्याण्ड पनि छनोट भैसकेका छन्। त्यस बाहेक बाँकी ४ टिमको टुंगो लगाउन आईसीसीले दुई वटा ग्लोबल क्वालीफायर आयोजना गर्दैछ।

ग्लोबल क्वालीफायरमा कुल १६ टोलि सहभागी हुँदैछन्। १६ टिमलाई दुई वटा समुहमा बिभाजन गरेर दुई वटा ग्लोबल छनोट प्रतियोगिता आयोजना गरिनेछ। ग्लोबल क्वालीफायर ‘ए’ २०२२ फेब्रुअरी १५ देखि २५ सम्म ओमानमा आयोजना हुनेछ भने ग्लोबल क्वालीफायर ‘बि’ २०२२ जुलाई ८ देखि १८ सम्म जिम्बाब्वेमा आयोजना हुनेछ। दुवै ग्लोबल क्वालीफायरमा उत्कृस्ट हुने दुई/दुई टिम २०२२ टि-२० विश्वकपमा छनोट हुनेछन्।

टि-ट्वान्टी विश्व कप ग्लोबल छनोट ( ए ) मा नेपाल सहित आयोजक ओमान, बहराइन, क्यानडा, जर्मनी, आयरल्याण्ड, फिलिपिन्स र युएई सहभागी हुँदैछन्। यस्तै जिम्बाब्वेमा आयोजना हुने ग्लोबल क्वालीफायर ‘बि’ मा आयोजक जिम्बाब्वे सहित अमेरिका, युगान्डा, सिंगापुर, पपुवा न्यु गिनी, नेदरल्याण्ड, जर्सी र हंगकंग सहभागी हुनेछन्। सबै टिमले एक अर्का बिरुद्ध एक/एक खेल खेलेपछि समुहको उत्कृस्ट दुई टिम थाहा हुनेछ।

सन् २०१४ मा बंगलादेशमा आयोजना भएको टि-२० विश्वकप खेलेपछि नेपाल टि-२० विश्वकपमा छनोट हुन सकेको छैन। २०१५ को टि-२० विश्वकप क्वालीफायरमा कमजोर प्रदर्शन गरेको नेपालले त्यसपछि २०२१ टि-२० विश्वकपको एसिया छनोटबाटै बाहिरिएको थियो। यस पटक भने नेपाल टि-२० अन्तर्राष्ट्रिय वरियताको आधारमा सोझै ग्लोबल छनोटमा पुगेको हो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy