नेपाल ‘ए’ संग माल्दिभ्स विशाल अन्तरले पराजित, शरद र प्रदिपको विस्फोटक इनिंग

२०७६ मंसिर १३, शुक्रबार १४:११

दक्षिण एसियाली खेलकुद ( साग ) को तयारीको लागि खेलिएको अभ्यास खेलमा नेपाल ‘ए’ टिमले माल्दिभ्सलाई लगातार दोश्रो खेलमा सहजै पराजित गरेको छ।

पहिलो खेलमा बिहिबार ४९ रनको जित हाँसिल गरेको नेपाल ‘ए’ ले शुक्रबार माल्दिभ्सलाई १०७ रनले पराजित गर्यो।

मुलपानी मैदानमा सम्पन्न खेलमा टस हारेर पहिले ब्याटिंग गरेको नेपाल ‘ए’ ले दिएको २१७ रनको लक्ष्य पछ्याउने क्रममा माल्दिभ्सले २० ओभर ब्याटिंग गरेता पनि ७ विकेट गुमाएर मात्र १०९ रन बनाउन सक्यो।

माल्दिभ्स क्रिकेट टिम

माल्दिभ्सको लागि मोहमद आजमले सर्वाधिक २६ तथा एडम उमरले अविजित २१ रन बनाए। नेपालको बलिंगमा बिक्रम सोब ( ४-०-१७-२ ) , मन्जित श्रेष्ठ ( ४-०-३०-२ ) र तिलक राज भण्डारी ( ४-०-१५-२ ) ले समान २/२ विकेट तथा शेर मल्लले १ विकेट ( ४-०-१९-१ ) लिए।

शरद र प्रदिपको विस्फोटक ब्याटिंग 

यस अघि पहिले ब्याटिंग गर्ने क्रममा नेपालले २० ओभरमा ३ विकेट गुमाएर २१६ रन बनाएको थियो।

नेपालको लागि ओपनिंग ब्याटिंग गरेका कप्तान शरद भेसावकरले सर्वाधिक ८४ रन बनाए। विस्फोटक ब्याटिंग गरेका उनले मात्र ४२ बलमा ८ छक्का र ४ चौका प्रहार गरे। शरदले पहिलो विकेटको लागि दिलिप नाथसंग ५१ रनको साझेदारी गरेका थिए।

दिलिप नाथ २७ रन ( १९ बलमा ३ चौका र १ छक्का ) बनाएर छैठौं ओभरमा आउट भएपछि शरदले प्रदिप ऐरीसंग ८.१ ओभरमा १०२ रनको साझेदारी गरेका थिए। शरद १४ औं ओभरमा लिम शफिकबाट एलबिडब्लु भए। त्यसपछि प्रदिप ऐरीले अमित श्रेष्ठसंग तेश्रो विकेटको लागि ६३ रनको साझेदारी गरे।

शरद भेसावकर र दिलिप नाथ ओपनिङ्ग ब्याटिंग गर्न जाने क्रममा। फोटो – इश्वर रायमाझी/विकेटनेपाल

प्रदिप ऐरी इनिंगको अन्तिम बलमा शफिकबाट क्याच आउट हुनु अघि ३६ बलमा ६९ रन बनाए जुन क्रममा ४ चौका र ६ छक्का प्रहार गरे। अमित श्रेष्ठले अविजित २३ बलमा ३ चौका मदतले २५ रन बनाए।

माल्दिभ्सको लागि सबै ३ विकेट लिम शफिकले लिए जसले ४ ओभरमा ३४ रन खर्चिए। माल्दिभ्सले कुल ९ जना बलर प्रयोग गरेको थियो।

सागमा नेपालको खेल तालिका

सागको पुरुष क्रिकेट अन्तर्गत नेपालले आफ्नो पहिलो खेल डिसेम्बर ३ मा श्रीलंका अन्डर-२३ टिमसंग खेल्दैछ।

भारत र पाकिस्तान सहभागी नभए पछि साग क्रिकेटतर्फ आयोजक नेपाल सहित, श्रीलंका यु-२३, बंगलादेश यु-२३, माल्दिभ्स र भुटान गरि ५ टिम सहभागी रहेका छन्। सबै ५ टिमले एक अर्का बिरुद्ध खेलेपछि अंकतालिकामा पहिलो र दोश्रो हुने टिमले स्वर्ण पदकको लागि खेल्नेछन्। यस्तै तेश्रो र चौथो हुने टिमले रजत पदकको लागि खेल्नेछ।

नेपालले पहिलो खेल श्रीलंका यु-२३ संग डिसेम्बर ३ मा, दोश्रो खेल भुटानसंग डिसेम्बर ५ मा, तेश्रो खेल माल्दिभ्ससंग डिसेम्बर ६ मा तथा चौथो खेल बंगलादेशसंग डिसेम्बर ७ मा खेल्नेछ। श्रीलंकासंगको खेल ११ बजे, भुटानसंग ९ बजे, माल्दिभ्ससंग १ बजे तथा बंगलादेशसंग ११ बजे सुरु हुनेछ। कास्य पदकको लागि र स्वर्ण पदकको लागि खेल ११ बजे सुरु हुनेछ।

डिसेम्बर ९ ( मङ्सिर २३ ) मा कास्य पदकको लागि अंकतालिकामा तेश्रो र चौथो हुने टिमबीच खेल हुनेछ भने स्वर्ण पदकको लागि फाइनल खेल डिसेम्बर १० ( मङ्सिर २४ ) मा खेलिनेछ।

सागको लागि नेपाली पुरुष टिम :- ज्ञानेन्द्र मल्ल ( कप्तान ) , दिपेन्द्र ऐरि , पारस खड्का, करन केसी, सोमपाल कामि, सन्दिप लामिछाने, बिनोद भण्डारी, अविनाश बोहरा, सुशन भारि, कुशल भुर्तेल, सन्दिप जोरा, आरिफ शेख, पवन सर्राफ, ललित राजबंशी, रासिद खान

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy