नेपालको दोश्रो जित, युएई सहजै पराजित

२०७५ फाल्गुन १०, शुक्रबार ११:०४

  • विकेटनेपाल, फाल्गुन-१० , शुक्रबार 

आईसीसी टि-२० विश्वकप एसिया छनौट प्रतियोगिता आफ्नो तेश्रो खेलमा नेपालले युएईलाई ७ विकेटले सहजै पराजित गरेको छ।

खेलमा टस जितेर पहिले ब्याटिंग गरेको युएईले १७.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर ४१ रन बनाउदै नेपाललाई ४२ रनको लक्ष्य प्रस्तुत गरेको थियो। निर्धारित लक्ष्य नेपालले १०.२ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको हो।

प्रतियोगिता अन्तर्गत नेपालले पहिलो खेलमा मलेसियालाई ३४ रनले पराजित गरेको थियो भने दोश्रो खेलमा थाईल्याण्डसंग ५७ रनले पराजित हुन पुगेको थियो। प्रतियोगितामा युएईको यो चौथो खेल खेल्दा पहिलो हार हो। प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो चौथो खेलमा आइतबार हंगकंगसंग प्रतिस्पर्धा गर्नेछ।

जित पछि पनि नेपाल अंकतालिकामा चौथो स्थानमा रहेको छ। युएई ४ खेलमा ३ जित र १ हार सहित शिर्ष स्थानमा, थाईल्याण्ड २ खेलमा २ जितको साथ दोश्रो र चिन ३ खेलमा २ जित र १ हारको साथ तेश्रो स्थानमा रहेको छ ।

नेरीको उत्कृस्ट बलिंग, इतिहासकै दोश्रो उत्कृस्ट  

पहिले ब्याटिंग गर्ने क्रममा खराब सुरुवात गरेको युएईले सुरुवात देखि लगातार विकेट गुमाउन पुगेको थियो। ओपनर छाया मुगल ( ३ ) , इशा ओजा ( २ ) , इगोडागे ( ४ ) , भेन्कटरमन ( ३ ), हुमैरा तस्निम ( १ ) र उडेनी डोना ( ० ) आउट हुन युएई ९ ओभरमा १९/६ को अवस्थामा पुगेको थियो।

सातौं विकेटको लागि सेनेभीरत्ना र नेहा शर्माले १६ रनको साझेदारी गरे। १३ रन बनाएपछि सेनेभीरत्ना १३ रन बनाएर नेरी थापाबाट आउट हुँदा साझेदारी टुटेको थियो। त्यसपछि युएई ब्याट्सवुमनहरुले योगफलमा खास योगदान दिन सकेनन् र ४१ रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो।

टि-२० अन्तर्राष्ट्रियमा युएईले बनाएको ४१ रन नेपाल बिरुद्ध कुनै पनि टिमले बनाएको दोश्रो कम योगफल हो। जनवरीमा सम्पन्न थाईल्याण्ड टि-२० स्म्यासमा इन्डोनेसिया २७ रनमा नेपालसंग समेटिन पुगेको थियो।

Nary Thapa

नेपालको बलिंगमा प्लेयर अफ द म्याच समेत चुनिएकी नेरी थापाले सर्वाधिक ४ विकेट लिईन्। ३.३ ओभरमा उनले १ मेडन ओभर सहित ६ रन खर्चिन्। यस्तै सिता राना मगर ( ४-१-७-२ ) , कविता कुँवर ( ३-०-७-२ ) र सोनु खड्का ( २-०-६-२ ) ले २/२ विकेट हात पारे।

नेरी थापाले लिएको ४ विकेट टि-२० अन्तर्राष्ट्रिय महिला क्रिकेटमा नेपालको लागि दोश्रो उत्कृस्ट बलिङ्ग स्पेल हो। यस अघि गत महिना थाईल्याण्डमा सम्पन्न थाईल्याण्ड टि-२० स्म्यास प्रतियोगितामा रुबिना क्षेत्रीले इन्डोनेसिया बिरुद्ध ३.१ ओभरमा २ मेडन ओभर गर्दै २ रन खर्चेर ४ विकेट हात पारेकी थिईन् जुन सबैभन्दा उत्कृस्ट स्पेल हो। टि -२० अन्तर्राष्ट्रिय महिला क्रिकेटमा ४ विकेट लिएको भने नेपालको लागि यो तेश्रो अवसर हो। सरिता मगरले थाईल्याण्ड टि -२० स्म्यासमा मलेसिया बिरुद्ध ४ विकेट हात पारेकी थिईन्।

नेपालको ब्याटिंग 

४२ रनको लक्ष्य पछ्याउने क्रममा नेपाली ओपनर काजल श्रेष्ठ र सिता राना मगरले २३ रनको साझेदारी गरे। सिता ६ रन तथा टि-२० अन्तर्राष्ट्रियमा डेब्यु गरिरहेकी अप्सरी बेगम खाता नखोल्दै आउट हुन पुगिन्।

rubina chhetry
Rubina Chhetry ( File Photo )

२ विकेट गुमेपछि काजल र कप्तान रुबिना क्षेत्रीले तेश्रो विकेटको लागि १८ रनको साझेदारी गरे। काजल १५ रन बनाएर आउट हुन पुग्दा रुबिनाले अविजित १८ रन बनाउदै नेपाललाई जितसम्म पुर्याईन्।

रुबिनाले अविजित १८ रन बनाउन १७ बलमा २ चौका र १ छक्का प्रहार गरिन्। रुबिनाले प्रहार गरेको छक्का टि-२० अन्तर्राष्ट्रिय महिला क्रिकेटमा प्रहार भएको नेपालको लागि दोश्रो छक्का हो। यस अघि थाईल्याण्ड टि-२० स्म्यासमा डली भट्टले युएई बिरुद्धनै छक्का प्रहार गरेकी थिईन्।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy