सन्दिप लामिछानेले घातक बलिंग गर्दै नयाँ कीर्तिमान बनाउदा गर्दा दोश्रो खेलमा पपुवा न्यु गिनीलाई १५१ रनले पराजित गर्दै नेपालले २ खेलको एकदिवसी अन्तर्राष्ट्रिय सिरिज २-० ले जित्न सफल भएको छ।
१५१ रनको जित नेपालको अन्तर्राष्ट्रिय क्रिकेटकै सबैभन्दा ठूलो रन अन्तरको जित हो। यस आघ नेपालले सन् २०१९ मा युएईलाई १४५ रनको अन्तरले पराजित गरेको थियो जुन कीर्तिमान आज तोडीएको छ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले दिएको २३४ रनको लक्ष्य पछ्याउने क्रममा पपुवा न्यु गिनीले १९.१ ओभरमा सबै विकेट गुमाएर ८२ रन मात्र बनाउन सक्यो। उसको लागि टोनी उराले सर्वाधिक १९ रन, चार्ल्स अमिनीले १६ रन, नोर्मन भानुवाले १२, सिसि बाउले ११ तथा गौडी टोकाले १० रन बनाए।
नेपालको बलिंगमा सन्दिप लामिछानेले घातक बलिंग गर्दै ६ विकेट लिए। यस क्रममा सन्दिपले आफ्नै कीर्तिमान तोड्दै नेपालको अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा उत्कृस्ट बलिंग स्पेल दर्ता गरेका छन्। ५.१ ओभरमा लेग स्पिनरले ११ रन मात्र खर्चिए। यस अघि सन्दिपले गत वर्ष अमेरिका बिरुद्ध घरेलु मैदानमा ६ विकेटनै लिने क्रममा ६ ओभरमा १ मेडन ओभर गर्दै १६ रन खर्चेका थिए। सन्दिपको ५.१-०-११-६ को स्पेल विश्वकै एकदिवसीय अन्तर्राष्ट्रियमा १४ औं उत्कृस्ट स्पेल हो।
सन्दिप बाहेक नेपालको बलिंगमा सोमपाल कामि, बिक्रम सोब र सुशन भारिले समान १ विकेट लिए।
यस अघि टस जितेर ब्याटिंग गरेको नेपालले ४९.२ ओभरमा सम्पूर्ण विकेट गुमाएर २३३ रन बनाएको थियो। नेपालको लागि रोहित पौडेलले एकदिवसीय अन्तर्राष्ट्रिय करियरको सर्वाधिक व्यक्तिगत स्कोर बनाउने क्रममा सर्वाधिक ८६ रन बनाए जुन क्रममा उनले १२३ बलमा २ चौका र ३ छक्का प्रहार गरे। यस्तै करन केसीले पनि एकदिवसीय अन्तर्राष्ट्रियमा व्यक्तिगत सर्वाधिक स्कोर बनाउने क्रममा आक्रामक ब्याटिंग गर्दै मात्र २६ बलमा २ चौका र ४ छक्का मद्दतले ४२ रन बनाए। कप्तान ज्ञानेन्द्र मल्लले ७० बलमा ३ चौका र २ छक्का मद्दतले ४५ रन तथा सोमपाल कामिले ११ रन बनाए।
रोहितले यस अघि २०१९ मा युएई बिरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा अर्धशतक बनउने क्रममा ५५ रन बनाएका थिए। यस्तै रोहित एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पारस खड्का ( ११५ रन ) पछि दोश्रो सर्वाधिक व्यक्तिगत स्कोर बनाउने ब्याट्सम्यान समेत बनेका छन्।
नेपालको सुरुवात खराब रह्यो। ओपनर आसिफ शेख तेश्रो ओभरमा ३ रन बनाएर नोर्मन भानुवाबाट विकेटपछाडी समातिन पुगे। अर्का ओपनर कुशल भुर्तेल पनि ३ रन बनाएर चौथों ओभरमा कबुवा मोरीएबाट क्याच आउट भए। तेश्रो विकेटको लागि कप्तान ज्ञानेन्द्र मल्ल र रोहित पौडेलले ८९ रनको साझेदारी गरे। २५ औं ओभरमा मल्ललाई चाड सोपरले एलबिडब्लु पारे।
मल्लको विकेटपछि रोहितले बिनोद भण्डारीसंग ४१ रनको साझेदारी गरे। ३५ औं ओभरमा बिनोद रन आउट भए जसपछि लगत्तै ओभरमा कुशल मल्ल ठूलो सट खेल्ने क्रममा मात्र १ रन बनाएर क्याच आउट भए। त्यसपछि सोमपाल कामि पनि ११ रन बनाएर कबुवा मोरियाबाट क्याच आउट भए।
सोमपालको विकेट पछि क्रिजमा आएका करन केसीले आक्रामक ब्याटिंग गर्दै नेपालको योगफल २ सय पार गराए। रोहित र करन बीच ४६ बलमा ६६ रनको साझेदारी भयो। ४९ औं ओभरमा करनलाई सोपरले क्याच आउट गराए। करनको विकेट लगत्तै बलमा रोहित पनि सोपरबाट क्याच आउट हुन पुगे। अन्तिम ओभरमा बिक्रम सोब १ तथा सन्दिप लामिछाने खाता नखोली आउट भए। फलस्वरुप नेपालले २३२/६ बाट थप १ रन योगफलमा जोड्दा बाँकी ४ विकेट गुमाउन पुग्यो।
पपुवा न्यु गिनीको बलिंगमा चाड सोपरले ३ विकेट ( ९-०-४५-४३ ) तथा कबुवा मोरिया ( १०-१-२६-२ ) र नोर्मन भानुवा ( ९.२-०-४९-२ ) ले समान २ विकेट लिए। चार्ल्स अमिनीले १ विकेट लिए।
पपुवा न्यु गिनीसंग पहिलो खेलमा नेपाल २ विकेटले विजयी भएको थियो। सिरिज पछि नेपालले विश्वकप लिग-२ अन्तर्गत सेप्टेम्बर १३ तारिख देखि ओमान र अमेरिका संग त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ। खेलतालिका हेर्नुस