वर्षाले खेल नतिजाविहिन हुँदा नेपाल र नामिबियाले बाँडे अंक ( अंकतालिका सहित )

२०७९ मंसिर १६, शुक्रबार २०:२९

आईसीसी विश्वकप लिग-२ अनार्गत नामिबियामा जारि त्रिकोणात्मक एकदिवसीय अन्तर्गत नेपाल र आयोजक नामिबिया बीचको खेल वर्षाले प्रभावित हुँदा नतिजाविहिन टुंगिएको छ।

विन्ढोकमा नेपालले दिएको १९८ रनको लक्ष्य पछ्याएको नामिबियाले दोश्रो इनिंग्समा ०.४ ओभर ब्याटिंग गर्दा विकेट नगुमाई ४ रन बनाएको थियो। सोहि अवस्थामा वर्षाले खेल अवरुद्ध भएपछि पुनः खेल सुचारु हुन सकेन। खेल नतिजाविहिन हुँदा दुवै टिमले १-१ अंक बाँडेका छन्।  स्कोरकार्ड हेर्नुस 

युनाईटेड क्रिकेट क्लब ग्राउण्डमा टस हारेर ब्याटिंग गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ९७ बनायो ।

नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ७५ रनको अर्धशतकीय इनिङ खेले । उनले ९४ बलमा ७ चौका र २ छक्का प्रहार गरे। आजको अर्धशतकसँगै ज्ञानेन्द्र नेपालबाट एकदिवसीयमा छ वटा अर्धशतक बनाउने पहिलो खेलाडी बनेका छन् । उनीपछि आसिफ शेख र रोहित पौडेलले पाँच-पाँच वटा अर्धशतक बनाएका छन् ।

ज्ञानेन्द्र बाहेक अन्य ब्याट्सम्यानले भने ठूलो स्कोर बनाउन सकेनन्। आरिफ शेखले २३ तथा आसिफ शेखले २० रन बनाए। अर्जुन साउद र गुल्सन झाले समान १८ रन, कुशल भुर्तेलले १३ तथा रोहित पौडेल र सोमपाल कामिले समान १० रन बनाए।

८४ रनमा ३ विकेट गुमाएको अवस्थामा ज्ञानेन्द्र र आरिफले ६७ रनको साझेदारी गरे। त्यस बाहेक खेलमा अन्य ठूलो साझेदारी हुन सकेन।

नामिबियाका बलर तांगेनि लुंगामेनिले सर्वाधिक ३ विकेट लिए। कार्ल बिर्केंन्स्टकले २ तथा जेजे स्मित, बर्नार्ड स्कल्ज र जेरार्ड इरास्मसले १/१ विकेट लिए।

सिरिज अन्तर्गत नेपालले आगामी खेल आइतबार ( डिसेम्बर ४ ) स्कटल्याण्डसंग खेल्नेछ। त्यसपछि डिसेम्बर ७ तारिखमा पुनः नामिबियासंग तथा डिसेम्बर ८ तारिखमा स्कटल्याण्डसंग खेल्ने तालिकाछ।

अंकतालिका 

१ अंक पाएपछि नेपालको २१ खेलमा १८ अंक पुगेको छ। २१ खेल खेल्दा नेपालको ८ जित, ११ हार, १ बराबरी र १ खेल नतिजाविहिन रहेको छ। नामिबिया अंकतालिकामा चौंथो स्थानमा छ जसले २८ खेलमा ३३ अंक बटुलेको छ।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy