नेपाल बिरुद्ध जितमा नेदरल्याण्डले बनायो ६ ठुला रेकर्ड

नेपाललाई ३ विकेटले स्तब्ध पार्दै नेदरल्याण्डले नेपालमा जारी त्रि-देशीय टि-ट्वान्टीमा दोश्रो जित दर्ता गर्न सफल रह्यो। नेपालले दिएको २०७ रनको लक्ष्य ३ बल बाँकी हुँदा ७ विकेट गुमाएर पुरा गर्दै घरेलु भुमिमा नेपाललाई हारको स्वाद चखायो। नेदरल्याण्डले खेल जितेसंगै बिभिन्न किर्तिमानहरु समेत आफ्नो नाम गरेको छ जसमध्ये ६ ठुला रेकर्डहरुलाई यो लेखमा प्रस्तुत गरेका छौँ –

१. नेपाल बिरुद्ध सर्वाधिक रन चेज 

नेदरल्याण्डले पछ्याएको २०७ रनको लक्ष्य नेपाल बिरुद्ध टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा पछ्याईएको इतिहासकै सर्वाधिक लक्ष्य हो। यस्तै टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेदरल्याण्डले पछ्याएको यो सर्वाधिक लक्ष्य हो।

नेपाल बिरुद्ध यस अघि सर्वाधिक रन पछ्याउने कीर्तिमान जिम्बाब्वेको नाममा रहेको थियो जसले २०१९ मा सेप्टेम्बरमा सिंगापुरमा सम्पन्न त्रिकोणात्मक टि-२० सिरिजमा नेपालले दिएको १३३ रनको लक्ष्य १८.१ ओभरमा ५ विकेट गुमाएर पछ्याएको थियो।

नेदरल्याण्डले यस अघि पछ्याएको सबैभन्दा ठुलो लक्ष्य १९० रन थियो। २०१४ को टि-२० विश्वकपमा नेदरल्याण्डले आयरल्याण्डले दिएको १९० रनको लक्ष्य मात्र १३.५ ओभरमा ४ विकेट मात्र गुमाएर पछ्याएको थियो।

२. नेपाल बिरुद्ध सर्वाधिक योगफल 

लक्ष्य पछ्याउने क्रममा नेदरल्याण्डले १९.३ ओभरमा बनाएको २०९ रन नेपाल बिरुद्ध कुनै पनि टिमले टि-ट्वान्टी अन्तर्राष्ट्रियमा बनाएको सर्वाधिक टिम योगफल हो। यस अघि यो रेकर्ड सिंगापुरको नाममा रहेको थियो। सिंगापुरले २०१९ जुलाईमा सम्पन्न टि-२० विश्वकप एसिया रिजन प्रतियोगितामा पहिले ब्याटिंग गर्दै नेपाल बिरुद्ध २० ओभरमा ६ विकेट गुमाएर १९१ रन बनाएको थियो। उक्त रेकर्ड नेदरल्याण्डले तोडेको हो।

नेदरल्याण्डले यस अघि नेपाल बिरुद्ध बनएको सर्वाधिक योगफल १७४ रन थियो। लर्ड्स मैदानमा २०१८ मा आयोजित त्रिकोणात्मक टि-२० सिरिजमा नेदरल्याण्डले १६.४ ओभरमा ४ विकेट क्षेतीमा १७४ रन बनाएको थियो। तर उक्त खेल सोहि समयमा वर्षाको कारण रोकिन पुगेको थियो।

३. नेपाल बिरुद्ध सर्वाधिक व्यक्तिगत रन 

नेदरल्याण्डका बास डी लिडेले बनाएको अविजित ८१ रन नेपाल बिरुद्ध टि-२० अन्तर्राष्ट्रिय इतिहासमा कुनै पनि ब्याट्सम्यानले बनाएको सर्वाधिक व्यक्तिगत रन हो। यस अघि नेपाल बिरुद्ध सर्वाधिक रन बनाउने किर्तिमान सिंगापुरका टिम डेभिडको नाममा रहेको थियो जसले २०१९ टि-२० विश्वकप एसिया रिजन प्रतियोगितामा नेपाल बिरुद्ध ७७ रन बनाएका थिए। नेदरल्याण्ड ब्याट्सम्यानको रुपमा यस अघि नेपाल बिरुद्ध धेरै रन बनाउने किर्तिमान माइकल स्वार्टको नाममा रहेको थियो जसले २०१५ मा नेपालको नेदरल्याण्ड भ्रमणमा ओपनिंग ब्याटिंग गर्दै अविजित ७६ रन बनएका थिए।

बास डी लिडेले बनाएको अविजित ८१ रन नेपाल बिरुद्ध सर्वाधिक व्यक्तिगत रन हो

४. नेपाल बिरुद्ध सर्वाधिक जित 

नेपाल बिरुद्ध ३ विकेटको जित दर्ता गर्दै नेदरल्याण्डले टि-२० अन्तर्राष्ट्रियमा नेपाल बिरुद्ध जित संख्या ४ पुर्याएको छ। टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेदरल्याण्ड नेपाल बिरुद्ध सबैभन्दा धेरै जित दर्ता गर्ने टिम बनेको छ। नेदरल्याण्डले नेपाल बिरुद्ध २०१५ देखि हालसम्म कुल ८ खेल खेलेको छ जसमा ४ जित र ३ हार बेहोरेको छ भने एउटा खेल नतिजाविहिन टुंगिएको छ।

नेदरल्याण्ड पछि नेपाललाई धेरै पराजित गर्ने टिम हंगकंगले जसले ५ खेल खेल्दा नेपाललाई ३ जितमा पराजित गरेको छ भने २ वटामा हार बेहोरेको छ। आयरल्याण्ड र जिम्बाब्वेले नेपाललाई समान २ खेलमा पराजित गरेको छ।

५. घरेलु मैदानमा नेपाल बिरुद्ध पहिलो जित 

नेपाललाई टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालकै घरेलु मैदानमा पराजित गर्ने नेदरल्याण्ड पहिलो टिम बनेको छ। यस अघि नेपालले घरेलु मैदानमा टि-२० अन्तर्राष्ट्रिय खेलमा हार बेहोरेको थिएन। घरेलु भुमिमा नेपालले २०१९ को साग क्रिकेटमा डेब्यु गरेको थियो। उक्त प्रतियोगितामा भुटान र माल्दिभ्स बिरुद्धको खेलले मात्र टि-२० अन्तर्राष्ट्रियको मान्यता पाएको थियो। भुटान बिरुद्ध एउटा खेल र माल्दिभ बिरुद्ध दुईवटा खेल नेपालले जितेको थियो। त्यसपछि नेपालले जारि सिरिजको पहिलो दुई खेलमा नेदरल्याण्ड र मलेसियालाई पराजित गर्दै अपराजित यात्रा कायम राखेको थियो। नेदरल्याण्डले ३ विकेटले नेपाललाई पराजित गर्दै घरेलु भुमिमा पहिलो टि-२० अन्तर्राष्ट्रिय हार चखाएको हो।

६. तेश्रो विकेटको लागि सर्वाधिक साझेदारी 

बेन कुपर र बास डी लिडेले तेश्रो विकेटको लागि गरेको ६८ रनको साझेदारी नेपाल बिरुद्ध टि-२० अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमै तेश्रो विकेटको लागि कुनै जोडीले गरेको सर्वाधिक साझेदारी हो। यस अघि यो रेकर्ड सिंगापुरका टिम डेभिड र मनप्रित सिंहको नाममा रहेको थियो जसले तेश्रो विकेटको लागि २०१९ मा ६६ रनको साझेदारी गरेका थिए। टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म एउटा जोडीले मात्र नेपाल बिरुद्ध शतकीय साझेदारी गरेका छन्। नेदरल्याण्डका बेन कुपर र माइकल स्वार्टले २०१५ मा दोश्रो विकेटको लागि नेपाल बिरुद्ध १३१ रनको साझेदारी गरेका थिए।

धेरैले पढेको 

https://wicketnepal.com/nl-vs-nep-3rd-m-rep-wn21/

https://wicketnepal.com/nep-vs-net-1st-inn-m2-2n21/

https://wicketnepal.com/gyanendra-mall-abuout-18th-ov-wn21/

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy