ओमान बिरुद्ध जितमा नेपालको नयाँ कीर्तिमान, मल्ल बने सर्वाधिक टि-२० अन्तर्राष्ट्रिय खेल्ने नेपाली खेलाडी

टि-ट्वान्टी विश्वकप छनोट अन्तर्गत ओमान बिरुद्ध पहिलो खेलमा जित दर्ता गर्दा नेपाली क्रिकेट टिमले नयाँ कीर्तिमान बनाएको छ। खेलमा नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याएको ओमानले १७ ओभरमा ७८ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो र ३९ रनको जित दर्ता गर्यो। खेलको क्रममा बनेका कीर्तिमानहरुलाई यो लेखमा समेटेका छौँ –

– ११७ रन टि-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले रक्षा गरेको सबैभन्दा कम योगफल हो। यस अघि नेपालले रक्षा गरेको सबैभन्दा कम योगफल १४१ रन थियो। सन् २०१४ को टि-ट्वान्टी विश्वकपमा नेपालले अफगानिस्तानलाई पराजित गर्दा नेपालले पहिले ब्याटिंग गदै १४१ रन बनाएको थियो र प्रतिउत्तरमा ब्याटिंग गरेको अफगानिस्तानले १३२ रन मात्र बनाउन सकेको थियो।

– ज्ञानेन्द्र मल्ल नेपालको लागि सबैभन्दा धेरै टि-ट्वान्टी अन्तर्राष्ट्रिय खेल्ने खेलाडी बनेका छन्। ओमान बिरुद्ध ३६ औं टि-ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका मल्लले ३५ खेल खेलेका बिनोद भण्डारीलाई उछिनेका हुन्। करन केसी, पारस खड्का र सोमपाल कामिले समान ३३ खेल खेलेका छन्। दिपेन्द्र ऐरीले ३० सन्दिप लामिछानेले २९ तथा अविनाश बोहराले २७ खेल खेलेका छन्। पूर्वकप्तान मल्लले सन् २०१४ टि-२० विश्वकपमा हंगकंग बिरुद्ध टि-२० अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए। ज्ञानेन्द्र सन्दिप लामिछाने संगै सर्वाधिक एकदिवसीय अन्तर्राष्ट्रिय खेल्ने नेपाली खेलाडी समेत हुन्। दुवैले समान १६ एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका छन्।

– खेलमा ओमानले बनाएको ७८ रन नेपाल बिरुद्ध टि-२० अन्तर्राष्ट्रियमा कुनै पनि टिमले बनाएको तेश्रो कम योगफल हो। यस्तै ओमानको नेपाल बिरुद्ध यो सबैभन्दा कम योगफल हो। ओमान भन्दा कम योगफलमा नेपाल बिरुद्ध समेटिने टिम थाइल्याण्ड ( ६६ ) र हंगकंग ( ६९ ) हो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy