विश्वकप छनोट : नेपाल र ओमान आज तेश्रो स्थानको लागि खेल्दै

ओमानमा जारी टि-ट्वान्टी विश्वकप छनोट प्रतियोगिता अन्तर्गत सेमीफाइनलमा युएईसंग पराजित भएको नेपालले तेश्रो स्थानको लागि आज ओमानसंग खेल्नेछ। युएईसंग पराजित हुँदै नेपालको टि-२० विश्वकप २०२२ छनोट हुने सम्भावना समाप्त भइसकेको छ।

नेपाल र ओमान बीचको तेश्रो स्थानको लागि खेल बिहिबार ( फेब्रुअरी २४ ) दिउँसो ३:४५ बजे सुरु हुनेछ। खेलको प्रत्यक्ष प्रशारण हिमालय टिभी र युट्युबमा ओएसआर स्पोर्ट्सले गर्नेछ। यस्तै ICC.tv बाट पनि नेपाल बाहिर खेल हेर्न सकिनेछ।

आजै प्रतियोगिताको फाइनलमा ३:४५ बजे आयरल्याण्ड र युएई बीच पनि प्रतिस्पर्धा हुनेछ। यस्तै बिहान ११:४५ बजे पाँचौ स्थानको लागि बहराईन र क्यानडा तथा सातौँ स्थानको लागि जर्मनी र फिलिपिन्स बीच खेल हुनेछ। युएई र आयरल्याण्ड टि-२० विश्वकप २०२२ खेल्न छनोट भइसकेका छन्।

नेपाल र ओमान दुवै सेमीफाइनलमा पराजित भएका हुन्। नेपाल युएईसंग ६८ रनले तथा ओमान आयरल्याण्डसंग ५६ रनले पराजित हुन पुग्यो।

प्रतियोगिताको समुह चरणमा नेपाल र ओमान बीच प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा नेपालले ओमानलाई ३९ रनले पराजित गरेको थियो। नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याउने क्रममा ओमान ७८ रनमै समेटिन पुगेको थियो। नेपालको जितमा आरिफ शेखले ३८ रन बनाएका थिए भने बलिंगमा कमल सिंह ऐरीले ३ तथा सन्दिप लामिछाने र दिपेन्द्र ऐरीले २/२ विकेट लिएका थिए।

यस्तै प्रतियोगिता अघि ओमानमै खेलिएको चार देशीय सिरिजमा समेत नेपालले ओमान बिरुद्ध ६ विकेटको जित दर्ता गरेको थियो। ओमानले दिएको १३६ रनको लक्ष्य नेपालले ४ विकेट क्षेतीमा ३ बल बाँकी रहंदा भेटाएको थियो। जितमा दिपेन्द्र ऐरीले सर्वाधिक ७३ रन तथा बलिंगमा अविनाश बोहराले ३ विकेट लिएका थिए।

टि-२० विश्वकप छनोट हुन असफल भएता पनि आयोजक ओमान बिरुद्ध जित दर्ता गर्दै नेपाल प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy