नेपाली राष्ट्रिय क्रिकेट टिमको ओमान भ्रमण अन्तर्गत सेप्टेम्बर ५ र ८ तारिखमा ( भदौ २० र २३ गते ) खेलिने पपुवा न्यु गिनीसंगको दुई वटा एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज एक्सन स्पोर्ट्स च्यानलबाट प्रत्यक्ष प्रशारण हुने भएको छ।
नेपाल क्रिकेट संघ र डीश मिडिया नेटवर्क बीच मंगलबार पपुवा न्यु गिनीसंग दुई खेलको सिरिज प्रत्यक्ष प्रशारण गर्ने सम्झौता भएको हो। सम्झौतामा डीश मिडिया नेटवर्कका सुदिप आचार्य र क्यानका कोषाध्यक्ष रोशन कुमार सिंहले हस्ताक्षर गरेका थिए।
पपुवा न्यु गिनीसंग नेपालले खेल्ने दोश्रो एकदिवसीय अन्तर्राष्ट्रिय दिवा रात्रि हुनेछ जुन नेपालले खेल्न लागेको पहिलो दिवा रात्री एकदिवसीय अन्तर्राष्ट्रिय खेल हो।
दुई देश बीचको खेल एक्सन स्पोर्ट्स बाहेक GO OTT APP बाट समेत प्रत्यक्ष प्रशारण हुने बताईएको छ।
ओमान भ्रमण अन्तर्ग नेपालले सेप्टेम्बर १३ देखि २० तारिखसम्म ओमान र अमेरिकासंग विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय खेल्नेछ। उक्त सिरिजको प्रत्यक्ष प्रशारण कसले गर्ने हालसम्म घोषणा भएको छैन। अन्तर्राष्ट्रिय क्रिकेट परिषदले आईएमजी ग्रुपसंग विश्वकप लिग-२ लगायत अन्य आईसीसीका छनोट प्रतियोगिताहरुको प्रत्यक्ष प्रशारण गर्ने सम्झौता गरेता पनि खेलहरु आईएमजीले कुन माध्यमबाट प्रत्यक्ष प्रशारण गर्नेछ खुलाएको छैन।
