जिम्बाब्वे एकदिवसीय सिरिजको लागि नेपाली टिमको घोषणा

शनिवार देखि घरेलु मैदानमा सुरु हुने जिम्बाब्वे ‘ए’ संगको तिन वटा एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको लागि नेपाल क्रिकेट संघ ( क्यान ) ले १६ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेको छ।

सन्दिप लामिछाने कप्तानीको टिममा युवा अलराउण्डर आदील अन्सारी तथा फास्ट बलर किशोर महतोले स्थान बनाएका छन्। यस्तै ब्याट्सम्यान सुनिल धमलाले पनि ५ वर्ष पछि टिममा पुनरागमन गरेका छन्। आदीलले पपुवा न्यु गिनि र मलेसियासंगको घरेलु टि-२० सिरिजमा प्रभावशाली प्रदर्शन गरेका थिए। युवा फास्ट बलर महतो घरेलु क्रिकेटमा लगातार राम्रो प्रदर्शन गर्दै आएका छन्। गत वर्ष मार्चमा आयोजित काठमाडौँ मेयर कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा चौंथो सर्वाधिक रन कर्ता रहेका धमलालाई यो पटक छनोट कर्ताले विश्वास देखाएका छन्।

पपुवा न्यु गिनी संग गत महिना सम्पन्न घरेलु एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा राम्रो प्रदर्शन गरेका देव खनाललाई टिममा निरन्तरता दिईएको छ। पहिलो खेलमा खाता खोल्न नसकेका खनालले दोश्रो एकदिवसीयमा ७२ रन बनाएका थिए।

यस्तै टिममा विकेट किपर ब्याट्सम्यान बिनोद भण्डारीले पुनरागमन गरेका छन्। अनिल शाह र दिलिप नाथले पपुवा न्यु गिनी, मलेसिया सिरिजमा राम्रो प्रदर्शन नगरेपछि भण्डारी पुनः टिममा फर्केका हुन्। फास्ट बलर बिक्रम सोब, देब्रे हाते स्पिनर सुशन भरि, सागर ढकाल पनि टिममा छन्।

पवन सर्राफ, शाहब आलम, बिबेक यादव, लोकेश बम, भिम शार्कीले भने एकदिवसीय टिममा स्थान पाएका छैनन्। उनीहरु टि-२० टिममा छन्।

घोषित १६ सदस्यीय टिम : सन्दिप लामिछाने ( कप्तान ) , आसिफ शेख, देव खनाल, दिपेन्द्र ऐरी, रोहित पौडेल, आरिफ शेख, बिनोद भण्डारी, करन केसी, सोमपाल कामि, कुशल भुर्तेल, सागर ढकाल, बिक्रम सोब, किशोर महतो, सुनिल धमला, सुशन भारि, आदील अन्सारी

नेपालले जिम्बाब्वे ‘ए’ टिमसंग अप्रिल ३०, मे २ र मे ४ तारिखमा तिन वटा एकदिवसीयको सिरिज खेल्नेछ। त्यसपछि मे ६, ७ र ९ तारिखमा तिन वटा टि-२० सिरिज खेलिनेछ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy