नेपाली क्रिकेट टिम ओमान प्रस्थान, सागर ढकाल टिममा समाबेश

टोलीमा सागर ढकाललाई समेट्दै नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार बेलुका ६:३० बजे ओमान प्रस्थान गरेको छ।

क्यान र प्रशिक्षक पुबुदु दसानायकेले यस अघिनै घोषणा गरेको १६ सदस्यीय टोलीमा देब्रे हाते स्पिनर सागर ढकाललाई पनि समाबेश गरिएको छ। सागरलाई समेटेपछि १७ सदस्यीय टोलि बनेको छ। सागरले हालै सम्पन्न प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगितामा तथा एभरेस्ट प्रिमियर लिगमा समेत उत्कृस्ट प्रदर्शन गरेका थिए। प्रधानमन्त्री कपमा तिन वटा मात्र खेल खेलेका ढकालले ६ विकेट लिएका थिए भने एभरेस्ट प्रिमीयर लिगमा प्रतियोगिताकै उत्कृष्ट घोषित हुने क्रममा ७ खेलमा १४ विकेट लिएका थिए। उनले यस अघि यु-१९ राष्ट्रिय टिमको लागि खेलीसकेका छन्।

नेपाली टोल ओमानमा फेब्रुअरी १८ देखि २४ तारिखसम्म आयोजना हुने आईसीसी टी–२० विश्वकप ग्लोबल छनोट खेलमा सहभागी हुन ओमान प्रस्थान गरेको हो। नेपाली टोलीलाई मंगलबारनै युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले बिदा गरेका छन्। यही वर्ष अष्ट्रेलियामा आयोजना हुने विश्वकप छनोटका लागि नेपाल समूह ‘ए’ मा परेको छ।

समूहमा नेपालसहित ओमान, बहराइन, क्यानडा, जमर्नी, आयरल्यान्ड, फिलिपिन्स र यूएई गरेर आठ टोली छन्। आठ टोलीलाई पनि दुई समूहमा विभाजन गरिएको छ। नेपालको समूहमा क्यानडा, ओमान र फिलिपिन्स छन्। अर्को समूहमा आयरल्यान्ड, यूएई, बहराइन र जमर्नी छन्। नेपालले उद्घाटन खेलमा नेपालले फेब्रुअरी १८ तारिख आयोजक ओमानसँग खेल्नेछ।

ग्लोबल छनोट खेलअघि नेपालले तयारीका लागि ओमानमा चार देश सम्मिलित सिरिज पनि खेल्नेछ। उक्त सिरिजमा नेपालसहित ओमान, यूएई र आयरल्यान्ड रहेका छन्। सिरिजमा नेपालले फेब्रुअरी ११ तारिख ओमान, १३ तारिखमा यूएई र १४ तारिखमा आयरल्यान्डसँग खेल्नेछ।

यसैगरी ग्लोबल छनोटका लागि समूह ‘बी’ मा जिम्बावे, हङकङ, जर्सी, नेदरल्यान्ड्स, पपुवा न्युगिनी, सिंगापुर, युगान्डा र अमेरिका छन्। समूह ‘बी’ को छनोट खेल भने जुलाई ११ देखि १७ सम्म जिम्बावेमा हुनेछ। दुवै समूहका शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन्।

नेपाली टोली : सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, शरद भेषवाकर, करण केसी, आरिफ शेख, कुशल मल्ल, आसिफ शेख, कमलसिंह ऐरी, शाहब आलम, अविनाश बोहरा, प्रदिप ऐरी, जितेन्द्र मुखिया, विवेक यादव, लोकेश बम र सागर ढकाल

ग्लोबल छनोटको खेल तालिका :
फेब्रुअरी १८ – नेपालविरुद्ध ओमान
फेब्रुअरी १९ – नेपालविरुद्ध फिलिपिन्स,
फेब्रुअरी २१ – नेपालविरुद्ध क्यानडा
फेब्रुअरी २२ – सेमिफाइनल
फेब्रुअरी २४ – फाइनल

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy