फाइनल जित्न नेपाललाई १२२ रनको लक्ष्य

  • विकेटनेपाल, माघ-५ , शनिवार 

थाईल्याण्ड वुमेन्स टि-२० स्म्यास प्रतियोगिता अन्तर्गत फाइनल खेलमा पहिले ब्याटिंग गरेको थाईल्याण्डले नेपाललाई १२२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस जितेर नेपालले पहिले फिल्डिंग गरेपछि ब्याटिंग गरेको थाईल्याण्डले उत्कृस्ट सुरुवात गर्यो। ओपनर नट्टाकन चान्थम र नरुमल चाईवाईले पहिलो विकेटको लागि ९४ रनको बिशाल साझेदारी गरे।

७ जना बलर प्रयोग गरे पनि पहिलो विकेट पाउन नेपालले १७ औं ओभरको अन्तिम बलसम्म कुर्नु परेको थियो। २७ रन ( ४२ बल ) बनाएकी चाईवाई पनि रन आउट हुँदै आउट भएकी थिईन्।

१ विकेट गुमेपछि पनि थाईल्याण्डले थप विकेट गुमाएन र पुरै २० ओभर ब्याटिंग गर्दै १२१ रनको योगफल तयार गर्यो।

नट्टाकन चान्थमले अविजित ६९ रन बनाउदा ६७ बलमा ४ चौका प्रहार गरिन् भने चनिडा सुत्थीरुआङ्गले अविजित १९ रन बनाउन ११ बलमा १ चौका प्रहार गरिन्। दोश्रो विकेटको लागि दुवैले अविजित २७ रनको साझेदारी गरे।

नेपालको बलिङ्गमा कुनै पनि बलरले विकेट निकाल्न सकेनन्। कविता कुँवर ( ३-०-१०-० ) र सिता राना मगर ( ४-०-२१-० ) ले किफायती बलिङ्ग गरे भने सरिता मगर ( ३-०-१९-० ) , रुबिना क्षेत्री ( ४-०-३०-० ) , करुना भण्डारी ( ३-०-२१-० ) , आरति बिडारी ( २-०-१२-० ) र नेरी थापा ( १-०-७-० ) ले प्रतिओभर ६ भन्दा बढी रन खर्चिए।

प्रतियोगिताको शुक्रबार सम्पन्न पहिलो सेमीफाइनलमा नेपालले इन्डोनेसियालाई ९२ रनले तथा दोश्रो सेमीफाइनलमा थाईल्याण्डले युएईलाई ४९ रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो। नेपाल र थाईल्याण्डले प्रतियोगितामा खेलेको ५ वटै खेलमा जित हाँसिल गरेको छ। दुवै टिम आफ्नो-आफ्नो समुहको विजेताको रुपमा सेमीफाइनल पुगेको थियो।

नेपालले समुह चरण अन्तर्गत पहिलो खेलमा चिनलाई १० विकेट, दोश्रो खेलमा म्यानमारलाई ५२ रनले, तेश्रो खेलमा युएईलाई ६ विकेटले तथा चौथो खेलमा थाईल्याण्ड ‘ए’ लाई ९ विकेटले पराजित गरेको थियो। थाईल्याण्डले समुह चरणमा म्यानमारलाई १० विकेटले, हंगकंगलाई ६५ रनले, इन्डोनेसियालाई ९३ रनले तथा भुटानलाई १० विकेटले पराजित गरेको थियो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy