- विकेटनेपाल, चैत-६ , बुधबार
अप्रिल १० देखि २० तारिकसम्म मलेसियामा आयोजना हुने आईसीसी अन्डर-१९ विश्वकप छनौट प्रतियोगिताको तयारी स्वरूप भारत भ्रमणमा रहेको नेपाली अन्डर-१९ क्रिकेट टिमले पहिलो अभ्यास खेलमा आन्द्रा स्टेट अन्डर-१९ क्रिकेट टिमलाई ६२ रनले पराजित गरेको छ।
खेलमा पहिले ब्याटिंग गर्दै नेपालले दिएको २७७ रनको लक्ष्य पछ्याउने क्रममा आन्द्राले ४४.१ ओभरमा सम्पूर्ण विकेट गुमाएर २१४ रन मात्रै बनाउन सक्यो।
नेपालको बलिंगमा देब्रे हाते स्पिनर कुशल मल्लले सर्वाधिक ४ विकेट लिए जुन क्रममा १० ओभरमा २ मेडन ओभर गर्दै ४१ रन खर्चिए। यस्तै पवन सर्राफ र कमल सिंह ऐरीले २/२ विकेट लिए।
आन्द्राको ब्याटिंगमा ओपनर हर्षावर्दनले सर्वाधिक ४६ तथा तेजस्वाईले ४३ रनको योगदान दिए।
राम्रो सुरुवात गरेको आन्द्राको लागि ओपनर हर्षावर्दन र हेमन्त रेड्डीले ८५ रनको साझेदारी गरेका थिए। पहिलो विकेटको रुपमा पवन सर्राफले रेड्डीलाई ३८ रनमा आउट गरेपछि आन्द्राले लगातार विकेट गुमाउन पुग्यो।
८५/१ बाट आन्द्राले १३७ रनमा ७ विकेट गुमाउन पुग्यो। ७ विकेट गुमेपछि तेजस्वी र भेंकटेसले ६५ रनको साझेदारी गर्दै नेपालको जितको प्रतीक्षा लम्ब्याएका थिए। तेजस्वीलाई कमल सिंह ऐरीले २० रनको स्कोरमा आउट गरेपछि बाँकी विकेट लिन नेपालले धेरै कुर्न परेन। फलस्वरुप ४५.१ ओभरमा आन्द्रा यु-१९ टिम २१४ रनमा अल आउट हुन पुग्यो। ( स्कोरकार्ड )

रोहित र सन्दिपको अर्धशतक तथा कमलको विस्फोटक इनिंग
यस अघि पहिले ब्याटिंग गरेको नेपालले ५० ओभरको खेलमा ४८ ओभरमा सबै विकेट गुमाउदै २७६ रनको योगफल तयार गरेको थियो।
कमजोर सुरुवात गरेको नेपालले ४९ रन बनाउदा पहिलो ४ विकेट गुमाउन पुगेको थियो। ओपनर रित गौतम ५ रन, पवन सर्राफ ४ रन, आसिफ शेख ९ रन तथा रभी शाह ५ रन बनाएर आउट हुन पुगेका थिए।
पाँचौ विकेटको लागि कप्तान रोहित पौडेल र सन्दिप जोराले शतकीय साझेदारी गर्दै टिमलाई ठुलो योगफलतर्फ डोर्याएका थिए। १४५ रनको साझेदारी पछि सन्दिप ६९ रन बनाएर आउट हुन पुग्दा टुटेको थियो। जोराले ६४ बलमा ६ छक्का र २ चौका प्रहार गरे।

सन्दिपको विकेट पछि एउटा किनार सम्हालीरहेका रोहित पौडेललाई अन्य ब्याट्सम्यानले राम्रो साथ दिन सकेनन्। लोकेस बम ५ रन, कुशल मल्ल १७ रन बनाएर आउट हुन पुगे।
त्यसपछि रोहित पनि आठौँ विकेटको रुपमा ८१ रन बनाएर आउट हुन पुगे। पौडेलले ११६ बलमा ६ चौका र १ छक्का प्रहार गरे।
तल्लो क्रममा कमल सिंह ऐरीले आक्रामक इनिंग खेल्दै २५ बलमा ४४ रन बनाउदै टिमको योगफल २५० कटाएका थिए। ऐरीले २ चौका र ५ छक्का प्रहार गरे।
कमलले ४८ औं ओभरमा लगातार ५ छक्का प्रहार गरेका थिए र सोहि ओभरको अन्तिम बलमा विकेट गुमाएका थिए।
४८ ओभरमा नेपालले सबै विकेट गुमाएर २७६ रनको योगफल तयार गर्यो र २७७ रनको लक्ष्य प्रस्तुत गर्यो।

आन्द्राको लागि बलिंगमा तेजस्वाईले सर्वाधिक ४ विकेट ( १०-०-४१-४ ) तथा श्रीकर्साई रेड्डीले र भेंकटेसले २/२ विकेट हात पारे। नेपालले ३२ रन अतिरिक्तको रुपमा प्राप्त गर्यो।
भ्रमण अन्तर्गत नेपालले कुल ४ वटा अभ्यास खेल खेल्ने कार्यक्रम रहेको छ ।
नेपालको अन्तिम ११ – रोहित पौडेल ( कप्तान ) , रभी शाह, रित गौतम , पवन सर्राफ, आसिफ शेख,, सन्दिप जोरा , लोकेस बम , कुशल मल्ल , रासिद खान, सागर ढकाल, कमल सिंह ऐरी, प्रतिस जिसी