एसीसी महिला टि-२० : नेपालको विजयी सुरुवात

भुटानलाई पराजित गर्दै नेपालले मलेसियामा आज सुरु भएको एसीसी महिला टि-ट्वान्टी च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।

युके एम वाईएसडी क्रिकेट ओभल मैदानमा नेपाल ले दिएको ९५ रनको लक्ष पछ्याएको भुटानले १७.५ ओभरमा ४४ रन मात्र बनायो।

भुटानलाई सस्तैमा समेट्न नेपाली अफ स्पिनर संगीता राईले ४ विकेट हात पारिन्। कविता कुँवर र सिता राना मगरले २/२ तथा इदु बर्माले १ विकेट हात पारिन्। छिरिंग जांगमोले १६ रन बनाउनु बाहेक अन्य भुटान ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

यस अघि टस जितेर ब्याटिंग रोजेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट क्षतिमा ९४ रन बनायो।

नेपालको ब्याटिंगमा काजल श्रेष्ठले सर्वाधिक २६ रन, रुबिना क्षेत्रीले २१ तथा इन्दु बर्माले २० रन योगदान दिए। १२ रनमा ३ विकेटको अवस्थाबाट काजल र इन्दुले चौंथो विकेटको लागि ३२ रनको साझेदारी गरे। काजल र रुबिनाले पाँचौ विकेटको लागि ३२ रन जोडे। अन्तिम ओभरमा नेपालले तिन विकेट गुमायो।

भुटान बलर सोनाम पाल्दोनले ४ विकेट हात पारिन् भने अन्जु गुरुङ र टाशी छेकीको नाममा १/१ विकेट रह्यो।

च्याम्पियनसिपको समूह ‘बी’ मा रहेको नेपालले दोस्रो खेल १८ तारिख कुवेत, तेस्रो खेल २० तारिख बहराइन, चौथो खेल २१ तारिख हङकङसँग प्रतिस्पर्धा गर्नेछ । एसीसीले सहभागि १० टोलीलाई दुई समूहमा विभाजन गरेको छ ।

समूह ‘ए’ मा मलेसिया, ओमान, कतार, सिंगापुर र संयुक्त अरव इमिरेट्स (यूएई) रहेको छ । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल पुग्ने दुई टिम महिला एसिया कप खेल्न छनोट हुनेछन्। सेमिफाइनल जुन २४ र फाइनल खेल २५ तारिख हुनेछ ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy