नेपालले मलेसियालाई दोश्रो टि-२० अन्तर्राष्ट्रियमा पराजित गर्दै सिरिज २-० ले जितेको छ। पहिलो टि-२० ७ विकेटले जितेको नेपालले दोश्रो टि-२० मा ६ रनको रोमान्चक जित निकाल्यो। पहिले ब्याटिंग गर्दै नेपालले ६ विकेट गुमाएर १७३ रन बनाएपछि लक्ष्य पछ्याउने क्रममा मलेसियाले पुरै ओभर ब्याटिंग गर्दै ७ विकेट गुमाएर १६७ रन मात्रै बनाउन सक्यो।
खेलको क्रममा बिभिन्न रेकर्डहरु बनेका छन् जसलाई यो लेखमा प्रस्तुत गरेका छौँ –
१. सिरिज क्लिन स्विप
नेपालले टि-२० अन्तर्राष्ट्रिय सिरिजको सबै खेल जित्दै क्लिन स्विप गरेको यो पहिलो पटक हो। नेपालले यस अघि सन् २०१५ मा नेदरल्याण्डसंग ४ खेलको सिरिज खेल्दा ३-१ ले पराजित भएको थियो भने युएईसंग यसै वर्ष जनवरी/फेब्रुअरीमा खेलेको ३ खेलको सिरिज २-१ ले जितेको थियो । यस्तै सन् २०१४ मा हंगकंगसंग खेलिएको ५ खेलको सिरिज १-० ले हारेको थियो। उक्त सिरिजको अन्य सबै खेल वर्षाले अबरुद्ध भएको थियो।
२. सबैभन्दा छिटो अर्धशतक
मात्र २५ बलमा अर्धशतक पुरा गर्दै बिनोद नेपालको लागि छिटो टि-२० अन्तर्राष्ट्रिय अर्धशतक बनाउने ब्याट्सम्यान बनेका छन्। मलेसियासंग जारि सिरिजकै अघिल्लो खेलमा पारस खड्काले ३२ बलमा अर्धशतक पुरा गर्दै छिटो अर्धशतकको रेकर्ड बनाएका थिए जुन १ खेलमै बिनोदले तोडेका हुन्।
बिनोद भण्डारी – २५ बल ( बिरुद्ध मलेसिया २०१९ ) , पारस खड्का – ३२ बल ( बिरुद्ध मलेसिया २०१९ ) पारस खड्का – ३५ बल ( बिरुद्ध नेदरल्याण्ड २०१५ ) , सन्दिप जोरा – ४१ बल ( बिरुद्ध युएई २०१९ ) , सुबास खकुरेल – ४८ बल ( बिरुद्ध अफगानिस्तान २०१४ )
३. सबैभन्दा ठुलो योगफल
मलेसिया बिरुद्ध नेपालले बनाएको १७३/६ टि-२० अन्तर्राष्ट्रियमा नेपालले बनाएको सबैभन्दा ठुलो योगफल हो। सन् २०१४ टि-२० विश्वकपमा हंगकंग बिरुद्ध नेपालले १४९ रन बनाएको थियो जुन योगफल बल्ल पार भएको हो।
सर्वाधिक योगफल – १७३/६ बिरुद्ध मलेसिया ( २०१९ ) , १४९/८ बिरुद्ध हंगकंग ( २०१४ टि-२० विश्व कप ) , १४१/७ बिरुद्ध नेदरल्याण्ड ( २०१५ ) , १४१/५ बिरुद्ध अफगानिस्तान ( २०१४ टि-२० विश्व कप ) , १३२/७ बिरुद्ध युएई ( २०१९ )
४. सबैभन्दा कम अन्तरको जित
६ रनको जित टि-२० अन्तर्राष्ट्रियमा नेपालको सबैभन्दा कम अन्तरको जित हो। यस अघि सन् २०१४ विश्वकपमा नेपालले अफगानिस्तानलाई ९ रनले पराजित गरेको थियो। सबै भन्दा बढी रन अन्तरको जित भने नेपालले हंगकंगसंग टि-२० विश्वकप २०१४ मा हात पारेको ८० रनको जित हो।
५. नेपाल बिरुद्ध तेश्रो ठुलो योगफल
१७३ रन – दोश्रो ब्याटिंग गर्दै नेपाल बिरुद्ध कुनै पनि टिमले बनाएको सर्वाधिक योगफल हो भने समग्रमा तेश्रो सर्वाधिक योगफल हो। नेपाल बिरुद्ध नेदरल्याण्डले २०१८ मा त्रिकोणात्मक सिरिज खेल्दा १६.४ ओभरमा १७४ रन बनाएको थियो। उक्त खेल वर्षाले सोहि अवस्थामा रोकिएको थियो। नेदरल्याण्डलेनै सन् २०१५ मा नेपालसंग १७२ रनको योगफल बनाएको थियो।
६. तेश्रो नम्बरमा ब्याटिंग गर्दा ज्ञानेन्द्र मल्ल विश्वकै कमजोर
मलेसियासंग २ वटा खेलमा समान ७/७ रन बनाएका ज्ञानेन्द्र मल्ल टि-२० अन्तर्राष्ट्रियमा तेश्रो नम्बरमा ब्याटिंग गर्दै १० भन्दा बढी इनिंग खेल्दा सबैभन्दा कम औशत भएको ब्याट्सम्यान बनेका छन्। मल्लको एभरेज १३.८१ रहेको छ जो पछि यो सुचीमा दोश्रो नम्बरमा अस्ट्रेलियाको ग्लेन म्याक्सवेल रहेका छन् जसको औशत १४.३३ रहेको थियो।
२०१४ देखि १९ सम्म ज्ञानेन्द्रले ११ पटक तेश्रो नम्बरमा ब्याटिंग गरेका छन् र कुल १५८ रन बनाउन सकेका छन्। म्याक्सवेलले पनि सन् २०१२ देखी २०१८ सम्म तेश्रो नम्बरमा ब्याटिंग गर्दा ११ खेल खेल्दै मात्र १२९ रन बनाउन सकेका थिए। अस्ट्रेलियाकै शेन वाटसन यो सुचीमा तेश्रो स्थानमा रहेका छन्।
७. छैठौं नम्बरमा सर्वाधिक स्कोर
बिनोद भण्डारीले बनाएको अविजित ५१ रन नेपाली ब्याट्सम्यानले छैठौं नम्बरमा ब्याटिंग गर्दै बनाएको टि-२० अन्तर्राष्ट्रियमा सर्वाधिक योगफल हो। यस अघि छैठौं नम्बरमा ब्याटिंग गर्दै राजेश पुलामीले सन् २०१५ को टि-२० विश्वकप छनौटमा २५ रन बनाएका थिए जुन रेकर्ड बिनोदले तोडेका हुन्।
सोमपाल सर्वाधिक विकेट लिने बलर
मलेसियासंग दोश्रो टि-२० मा २ विकेट लिएसंगै सोमपाल कामि नेपालको लागि टि-२० अन्तर्राष्ट्रियमा बसन्त रेग्मीसंगै सबैभन्दा धेरै विकेट लिने बलर बनेका छन्। बसन्त र सोमपाल दुवैले समान २० विकेट लिएका छन्। सोमपालले १७ खेलको १७ इनिंगमा तथा बसन्तले १४ खेलको १४ इनिंगमा उक्त विकेट लिएका हुन्।
बसन्त रेग्मी – २० विकेट ( ११ इनिंग ) , सोमपाल कामि – २० विकेट ( १७ इनिंग ) , ,करन केसी – १३ विकेट ( ११ इनिंग ) , सन्दिप लामिछाने – ९ विकेट ( ६ इनिंग ) , शक्ति गौचन – ८ विकेट ( ८ इनिंग )
अर्धशतक पछि पनि बिनोदको औशत सबैभन्दा कम
मलेसियासंग पहिलो अर्धशतक बनाउदा पनि बिनोद भण्डारीको औशत १० भन्दा बढी टि-२० इनिंग खेल्ने नेपाली ब्याट्सम्यानहरुमा दोश्रो सबैभन्दा कम हो। प्रदिप ऐरीले १० इनिंग खेल्दा ७.५० को औशतले रन बनाएका छन् जुन सबैभन्दा कम हो। दोश्रो कम औशत भएका बिनोद भण्डारीले १२ इनिंगमा ११.४४ को औशतले रन बनाएका छन्।
१० भन्दा बढी इनिंग खेल्ने नेपाली ब्याट्सम्यान , औशत र रन
प्रदिप ऐरी – १० खेल १० इनिंगमा – औशत ७.५० ( कुल रन – ७५ )
बिनोद भण्डारी – १३ खेलको १२ इनिंगमा – औशत ११.४४ ( कुल रन – १०३ )
सोमपाल कामि – १७ खेलको ११ इनिंगमा – औशत १६.१४ ( कुल रन – ११३ )
शरद भेसावकर – १३ खेलको १२ इनिंगमा – औशत २३.१८ ( कुल रन – २५५ )
पारस खड्का – १७ खेलको १६ इनिंगमा – औशत २८.५० ( कुल रन – ३९९ )