यसै वर्ष जनवरी/फेब्रुवरीमा युएईसंग खेलेको टि-२० अन्तर्राष्ट्रिय सिरिज खेलेको झन्डै ६ महिना पछि नेपालले बल्ल अर्को टि-२० सिरिज खेल्न लागेको छ।
नेपालले र मलेसियाले हालसम्म टि-२० अन्तर्राष्ट्रिय खेलेको छैन। दुवै देशले २३ जुलाई देखि सिंगापुरमा आयोजना हुने टि-२० विश्वकप ( एसिया फाइनल ) खेल्दैछ। त्यस अघि तयारी स्वरूप २ वटा टि-२० अन्तर्रास्ट्रिय आयोजना गर्न लागिएको हो। मलेसियासंग १३ र १४ जुलाईमा २ वटा टि-२० अन्तर्राष्ट्रिय खेलेपछि नेपाली टिम जुलाई २० तारिकमा सिंगापुर प्रस्थान गर्नेछ।
दुवै टि-२० किनरारा ओभल मैदानमा नेपाली समय ७:४५ बजे बिहान ( मलेसिया समय १० बजे बिहान ) खेलिनेछ।
मलेसियासंग नेपालले इतिहासमा ४ वटा मात्र टि-२० खेलेको छ। टि-२० अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेल भने नेपाल र मलेसियाले खेलेको छैन। ४ मध्ये नेपालले ३ वटामा जित र एउटा खेलमा हार बेहोरेको छ।
यस्तो छ बिगतमा मलेसियासंग टि-२० मा नतिजा
एसीसी टी-२० कप, २००७ , कुवेत
मलेसियासँगको पहिलो टी-२० भिडन्तमा नेपालले २१ रनको जित दर्ता गरेको थियो। टस हारेर पहिले ब्याटिंग गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १२१ रन बनाएको थियो। नेपालको लागि सातौँ नम्बरमा ब्याटिंग गरेका बसन्त रेग्मीले सर्वाधिक ३३ रन बनाएका थिए भने परेश लोहनीले ३१, बिनोद दासले १८ तथा मेहबुब आलमले १७ रन बनाएका थिए।
बलिंगतर्फ मलेसियालाई १८.५ ओभरमा सबै विकेट लिँदै मात्र १०० रनमा रोकेर नेपालले २१ रनको जित हात पारेको थियो। नेपालको बलिंगमा बसन्त रेग्मी ( ३.५-०-२०-३ ) र राहुल विश्वकर्मा ( ४-०-१५-३ ) ले ३/३ तथा मेहबुब आलम ( ४-०-२४-२ ) ले २ विकेट लिएका थिए।
एसीसी टी-२० कप, २००९ , युएई
शारजाह मैदानमा सम्पन्न खेलमा नेपाललाई स्तब्ध बनाउने क्रममा मलेसियाले ६ विकेटको जित हाँसिल गरेको थियो।
टस जितेर पहिले ब्याटिंग गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ११२ रनमात्र बनाउन सकेको थियो। मेहबुब आलमले ३१ रन, ज्ञानेन्द्र मल्लले २२ रन, परेश लोहनीले १९ तथा पारस खड्काले १० रन बनाउदा अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेका थिएनन्।
जवाफमा ब्याटिंग गरेको मलेसियाले १७.२ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो। मलेसियाको जितमा एहमद फैजले अविजित ४० रन बनाएका थिए। नेपालको बलिंगतर्फ बिनोद दास, शक्ति गौचन, पारस खड्का, सन्जम रेग्मी र बसन्त रेग्मीले समान १/१ विकेट लिएका थिए।
एसीसी टी-२० कप, २०१३ , नेपाल
सन् २०१३ को नेपालमा सम्पन्न एसीसी टि-२० मा नेपाल १९ रनले विजयी भएको थियो। टस हारेर पहिले ब्याटिंग गर्दै नेपालले २० ओभरमा ८ विकेट गुमाएर १६३ रन बनाएको थियो। लक्ष्य पछ्याउने क्रममा मलेसियाले १४४ रन बनाउन सकेको थियो। खेलमा ब्याटिंग तर्फ कप्तान पारस खड्काले ८७ रन ( ५४ बलमा ११ चौका र ३ छक्का ) , सुबास खकुरेलले २५ तथा बिनोद भण्डारीले २० रन बनाएका थिए। बलिङ्गमा सन्जम रेग्मी र पृथु बास्कोटाले २/२ विकेट लिएका थिए।
आईसीसी टि-२० विश्वकप छनौट ( एसिया छनौट बि ) २०१८ , मलेसिया
बायुमास ओभल मैदानमा नेपालले सहज जित हात पारेको थियो।
टस जितेर मलेसियाले ब्याटिंग गर्दै १९.३ ओभरमा सबै विकेट गुमाएर १०० रन बनाएको थियो। शफ्यान सरिफले ४९ र सयद अजिजले १३ रन बनाउनु बाहेक अन्य मलेसियन ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन्। नेपालको बलिंगमा सन्दिप लामिछाने एक्लैले ५ विकेट ( ४-०-२०-५ ) तथा सोमपाल कामिले ३ विकेट ( ३.३-०-१६-३ ) लिएका थिए।
१०१ रनको लक्ष्य नेपालले १२.४ ओभरमै २ विकेट गुमाएर पुरा गर्यो। ओपनर अनिल साह १ तथा बिनोद भण्डारी १२ रन बनाएर आउट भए पछि कप्तान पारस खड्काले अविजित ५२ ( ३७ बलमा ५ चौका र २ छक्का ) तथा ज्ञानेन्द्र मल्लले २७ ( २४ बलमा २ चौका र १ छक्का ) प्रहार गर्दै जित दिलाएका थिए। तेश्रो विकेटको लागि दुवैले ६९ रन बनाएका थिए।
नेपाली टिम :- पारस खड्का ( कप्तान ) , ज्ञानेन्द्र मल्ल, शरद भेसावकर, बसन्त रेग्मी, सोमपाल कामि, करन केसी, प्रदिप ऐरी, बिनोद भण्डारी, सन्दिप लामिछाने, दिपेन्द्र ऐरी, रोहित पौडेल, ललित राजबंशी , पवन सर्राफ, अविनाश बोहरा
मलेसिया टिम :- एहमद फैज मोहम्मद नुर ( कप्तान ) , शफिक शरिफ, भिरनदिप सिंह, अनवर रहमान, स्याहादत रामली, अनवर अरुदीन, फित्री शाम, सयद अजिज सयद मुबारक, पवनदिप सिंह, शर्भिन मुनिएन्डी, नज्रिल रहमान, पासा स्याफिक अलि, अमिनुद्दीन रमली, नेभिल्ले लियांगे