लिग-२ : बलियो नामिबियासंग कायम राख्ला नेपालले पुरानो रेकर्ड

आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले आज (सोमबार) नामिबियासँग प्रतिस्पर्धा गर्दैछ । स्कटल्यान्डको क्याम्बुस्दुन न्यू ग्राउन्डमा हुने खेल नेपाली समय अनुसार दिउँसो ३ : १५ बजे सुरु हुनेछ ।

सिरिजको पहिलो खेलमा नेपाल सुखद नतिजा निकाल्ने तयारीमा छ । तर बलियो नामिबियालाई हराउन नेपालले ब्याटिङमा धेरै सुधार गर्नुपर्ने छ । नेपाल क्यानडामा तयारी गरेर लिग–२ खेल्न स्कटल्यान्ड गएको हो । क्यानडामा नेपालले घरेलु टोलीसँग एउटा एकदिवसीय तथा ओन्टारियो क्लबसँग एउटा एकदिवसीय र अर्को टी–२० अभ्यास खेल खेलेको थियो ।

नेपाल घरेलु टोलीसँग पराजित भएको थियो भने ओन्टारियोविरुद्धको अभ्यास खेलमा विजयी भएको थियो । नेपाल, नामाबिया र आयोजक स्कटल्यान्ड सम्मिलित सिरिजमा नेपालले दोस्रो खेल स्कटल्यान्डविरुद्ध जुलाई १३, तेस्रो खेल नामिबियाविरुद्ध जुलाई १६ र अन्तिम खेल स्कटल्यान्डविरुद्ध जुलाई १७ मा खेल्नेछ । लिग–२ मा १६ खेल खेलेको नेपाल १५ अंकसहित तालिकाको पाँचौं स्थानमा छ । १५ खेल खेलेको नामिबिया १४ अंक सहित छैटौं स्थानमा छ ।

तालिकाको शीर्षस्थानमा रहेको ओमानले सबै ३६ खेल खेल सकेर ४४ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको स्कटल्यान्डको २० खेलबाट २८, तेस्रो स्थानमा रहेको यूएईको २२ खेलबाट २६, चौथो स्थानमा रहेको अमेरिकाको २४ खेलबाट २३ र पुछारमा रहेको पपुवा न्युगिनी (पिएनजी) को २० खेलबाट २ अंक छ । सात टोली सहभागी लिग–२ मा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेटमा छनोट हुनेछन् ।

नेपाल-नामिबिया हेड टु हेड 

नेपाल र नामिबिया पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रियमा प्रतिस्पर्धा गर्न लागेका हुन्। तर लिस्ट ‘ए’ मान्यता प्राप्त एकदिवसीयमा  भने चार पटक दुई देशले प्रतिस्पर्धा गरेका छन्। त्यस क्रममा नेपालले चार पटकनै जित दर्ता गरेको छ। सन् २००१ को आईसीसी ट्रफीमा भने नेपाल नामिबियासंग पराजित भएको थियो।

दुई देश अन्तिम पटक २०१८ को आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२ मा प्रतिस्पर्धा गरेका थिए। नेपालले त्यस क्रममा नामिबियालाई १ विकेटले पराजित गरेको थियो। स्कोरकार्ड हेर्नुस 

सन् २०१६ मा नेपालमा आयोजित विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको दुई खेलमा पनि नेपालले नामिबियालाई ३ विकेटले५ विकेटले पराजित गरेको थियो। त्यस अघि २०१५ आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२ मा पनि नेपालले नामिबियालाई पराजित गरेको थियो।

बलियो नामिबिया , नेपालको ब्याटिंग संघर्ष 

पछिल्लो समय नामिबिया एसोसिएट क्रिकेटमा बलियो टिमको रुपमा उदाएको छ। पछिल्लो ९ खेलमा अपराजित रहेको नामिबियाले त्यस क्रममा जिम्बाब्वेलाई दुई खेलमा पराजित गरेको छ। अधिकांश जित टि-२० फर्म्याटमा भएता पनि नामिबियाको ब्याटिंग बलियो देखिएको छ। हंगकंगसंग भर्खरै खेलिएको एकदिवसीय सिरिजको तिन खेलमा नामिबिया सहजै विजयी भएको थियो।

अर्कोतर्फ नेपालको भने ब्याटिंग पछिल्लो समय कमजोर देखिएको छ। क्यानडासंग गत साता १८९ रनको लक्ष पछ्याएको नेपालले १०५ रन मात्र बनाउन सकेको थियो। नेपालले ब्याटिंग सुधार नगरे जित कठिन हुनेछ। कप्तान सन्दिप नेतृत्वको बलिंग बलियो देखिएको छ। आसिफ शेख लयमा देखिनु राम्रो पक्ष हो भने दिपेन्द्र ऐरी, कुशल भुर्तेल, बिनोद भण्डारी जस्ता ब्याट्सम्यान लय पाउन संघर्ष गरिरहेका छन्।

नेपालको सम्भावित-११ 

कुशल भुर्तेल, आसिफ शेख ( विकेटकिपर ) , देव खनाल, रोहित पौडेल, दिपेन्द्र ऐरी, आरिफ शेख, बसिर एहमद, आदील आलम, सोमपाल कामि, करन केसी, सन्दिप लामिछाने ( कप्तान )

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy