अमेरिकामा आज नेपालको पहिलो अभ्यास खेल, पृथु र बसन्त नेपाल बिरुद्ध उत्रदै

२०७९ जेष्ठ १९, बिहीबार १०:०८

अमेरिका भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले आज पहिलो अभ्यास खेल खेल्दैछ। भ्रमणको व्यवस्थापन गरिरहेको अमेरिकाको स्थानीय क्लब नेपाली अल स्टार्ससंग नेपालले अभ्यास खेल खेल्न लागेको हो। खेल नेपाली समय ८:४५ बजे राति सुरु हुनेछ।

५० ओभरको खेलको प्रत्यक्ष प्रशारण  युट्युबमा हेर्न सकिनेछ। अमेरिकाको मेजर क्रिकेट लिगको च्यानल MCL Network मा प्रत्यक्ष प्रशारण हुनेछ। खेल टेक्सास स्थित प्रेरि भ्यु क्रिकेट कम्प्लेक्समा खेलिनेछ।

नेपाली अल स्टार्स टिमले नेपालसंगको अभ्यास खेलको लागि बलियो टिम घोषणा गरिसकेको छ। हाल अमेरिकामा बसोबास गर्दै आएका नेपाली राष्ट्रिय क्रिकेटर पृथु बास्कोटाको कप्तानी रहने टिममा अर्का राष्ट्रिय क्रिकेटर बसन्त रेग्मी पनि छन्। दुवै क्रिकेटर केहि समय देखि अमेरिकामा घरेलु क्रिकेट खेल्दै आएका छन्।

टिममा न्युजिल्यान्ड क्रिकेटर कोरे एन्डरसन समेत छन् जो पछिल्लो समय अमेरिकामा घरेलु क्रिकेट खेलीरहेका छन्। एन्डरसनको नाममा विश्वकै दोश्रो छिटो एकदिवसीय अन्तर्राष्ट्रिय शतकको रेकर्ड रहेको छ। २०१४ मा उनले वेस्टइन्डिज बिरुद्ध ३६ बलमा शतक बनाउदै सबैभन्दा छिटो शतकको रेकर्ड बनाएका थिए जसलाई लगत्तै अर्को वर्ष एबि डी भिल्लीयर्सले ३१ बलमा शतक बनाउदै तोडेका थिए।

यस्तै नेपाली अलस्टार्स टिममा लामो समय देखि अमेरिकामा रहँदै आएका पूर्व राष्ट्रिय क्रिकेटर कनिस्क चौगाईं पनि छन्। यस्तै भारतीय पूर्व यु-१९ क्रिकेटर समित पटेल, पन्जाब र हैदरावादबाट आईपीएल खेलीसकेका बिपुल शर्मा, राजस्थान रोयल्सको लागि आईपीएल खेलीसकेका पूर्व भारतीय यु-१९ क्रिकेटर हर्मित सिंह, दक्षिण अफ्रिकी यु-१९ राष्ट्रिय टिममा रहीसकेका एन्ड्रिज गोस, पाकिस्तान सुपर लिग खेलीसकेका मोहम्मद इल्यास, क्यानडा राष्ट्रिय क्रिकेटर नितिश कुमार, अमेरिकी राष्ट्रिय क्रिकेटर आदील भट्टी जस्ता खेलाडी छन्।

नेपाली टिम :- सन्दीप लामिछाने (कप्तान), विनोद भण्डारी (विकेटकिपर), आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, सुनिल धमला, देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, सुशन भारि, किशोर महतो र सागर ढकाल

नेपाली अल स्टार्स टिम : पृथु बास्कोटा, कोरे एन्डरसन, बसन्त रेग्मी, एन्ड्रिज गोस, हर्मित सिंह, मोहम्मद इल्यास, नितिश कुमार, साडले भान स्कालविक, समित पटेल, उदय कौल, कनिस्क चौगाईं, गौरभ बजाज, आदील भट्टी , रेहमान डर, बिपुल शर्मा

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy