विश्वकप लिग-२ : नेपालले ओमान र अमेरिकासंग सेप्टेम्बरमा त्रिकोणात्मक ओडीआई सिरिज खेल्न सक्ने

२०७८ श्रावण ५, मंगलवार २०:१८

आईसीसी विश्व कप लिग-२ अन्तर्गत नेपालले ओमान र अमेरिकासंग खेल्ने त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज ओमानमा सेप्टेम्बरमा आयोजना गर्ने अन्तरिक तयारी भैरहेको छ।

अक्टोबर १७ तारिख देखि युएई सहित ओमानमा पनि २०२१ टि-ट्वान्टी विश्वकपको खेलहरु संचालन हुँदैछन्। भारतले कोरोना महामारीका कारण भारतमा प्रतियोगिता आयोजना गर्न नसक्ने भएपछि आयोजक भारत रहेता पनि खेलहरु ओमान र युएईमा हुन लागेको हो। टि-२० विश्वकप सुरु हुनु अघि आईसीसीले विश्वकप लिग-२ को सिरिज ओमानमा गर्ने तयारी गरिरहेको छ।

ओमानको अल अमारत स्थित ओमान क्रिकेट एकेडेमी मैदानमा त्रिकोणात्मक सिरिजको खेलहरु हुनसक्नेछन् जहाँ टि-२० विश्वकपको खेलहरु समेत खेलिने पक्का भैसकेको छ। मैदानमा नेपालले पहिलो पटक फ्लड लाइटमा डे-नाइट एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्ने सम्भावना छ। टि-२० अन्तर्राष्ट्रिय खेलेता नेपालले यस अघि डे-नाइट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेको छैन।

नेपालमा सेप्टेम्बर २५ तारिख देखि घरेलु टि-२० प्रतियोगिता एभरेष्ट प्रिमियर लिग ( ईपीएल ) सुरु हुने हुँदा त्यसको केहि दिन अघि त्रिकोणात्मक सिरिज सम्पन्न हुनसक्नेछ। अर्थात् सेप्टेम्बरको दोश्रो साता सुरु भएर तेश्रो साताको सुरुवातसम्म सिरिज चल्ने सम्भावना छ। क्यान र आईसीसीले ईपीएल टि-२० लाई मान्यता दिईसकेको छ। क्यानलेनै सेप्टेम्बर २५ देखि अक्टोबर ९ सम्मको मिति ईपीएल आयोजनाको लागि दिएको हो।

विश्व कप लिग-२ को पुरानो खेल तालिका अनुसार नेपालले ओमान र अमेरिकासंग त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज यो वर्ष मार्च १९ देखि २८ तारिखसम्म खेल्ने तालिका रहेको थियो। तर कोभिड-१९ का कारण यो वर्ष फेब्रुअरीमा सिरिज स्थगित गरिएको थियो। सिरिजको लागि नेपालले ३२ सदस्यीय प्रारम्भिक टोलि घोषणा गरेर बन्दप्रशिक्षणनै सुरु गरेको थियो।

नेपाली राष्ट्रिय क्रिकेट टिमले विश्व कप लिग-२ मा अन्तिम पटक गत वर्ष फेब्रुअरीमा ओमान र अमेरिकासंगनै घरेलु मैदानमा प्रतिस्पर्धा गरेको थियो। त्यसपछि लिग-२ को खेलहरु कोरोनाका कारण बारम्बार सर्दै आएको छ। पछिल्लो पटक स्पेनमा जुलाई २० तारिख देखि निर्धारित नामिबिया र स्कटल्याण्डसंगको सिरिज नामिबियामा कोरोना महामारीको लहर बढेपछि यात्रा प्रतिबन्ध हुँदा स्थगित गर्नु परेको थियो। नेपालले सिरिजको लागि प्रशिक्षणनै सुरु गरिसकेको थियो तर सिरिज स्थगित भएपछि बन्दप्रशिक्षण स्थगित भएको थियो जसपछि एक महिनाको विदा लिएर प्रमुख प्रशिक्षक डेभ व्हाटमोर श्रीलंका प्रस्थान गरेका थिए।

सेप्टेम्बरमा सिरिज हुने लगभग पक्का हुँदा जुलाईको सुरुवातमा श्रीलंका पुगेका प्रशिक्षक व्हाटमोर जुलाई अन्तिममा नेपाल फर्कनेछन्। त्यसपछि नेपालले तयारी थाल्नेछ। सेप्टेम्बरको सिरिजलाई लक्षित गर्दै क्यानले केहि दिन अघि नेपाली टिमको फिटनेस ट्रेनरको लागि पदपूर्ति आव्हान गरेको थियो। 

नेपाली क्रिकेट टिमको बन्द प्रशिक्षण नभएता पनि टियु मैदान किर्तिपुरमा काठमाडौँमा भएका क्रिकेटरहरुले नियमित अभ्यास भने गरिरहेका छन्।

ओमान र अमेरिकासंग सेप्टेम्बरमा सिरिज भएपछि तुरुन्तै लिग-२ अन्तर्गतको अर्को सिरिजको तालिका भने घोषित भएको छैन। नेपालले त्यसपछि आगामी वर्ष २०२२ फेब्रुअरीमा युएई र पपुवा न्युगिनीसंग खेल्ने तालिका रहेको छ।

नेपालको प्रमुख प्रशिक्षकमा गत वर्ष पुषमा डेभ व्हाटमोर नियुक्त भएपछि नेपालले एउटा मात्र प्रतियोगिताको रुपमा वैशाखमा नेदरल्याण्ड र मलेसियासंग त्रिकोणात्मक टि-२० अन्तर्राष्ट्रिय सिरिज खेलेको थियो जसमा नेपाल विजयी भएको थियो। कोरोना महामारीका कारण प्रतियोगितानै आयोजना हुन नसक्दा व्हाटमोरको कार्यकालको अधिकांश समय नेपाली क्रिकेट टिम प्रतियोगिताविहिन रहने सम्भावना देखिएको छ। त्यसैले पनि क्यान तुरुन्तै एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्न चाहिरहेको छ।

नेपालले विश्वकप लिग-२ अन्तर्गत पहिलो र अन्तिम सिरिज गत वर्ष फेब्रुअरीमा ओमान र अमेरिकासंग खेलेको थियो। उक्त सिरिजमा नेपालले दुवै खेलमा अमेरकालाई पराजित गर्दा ओमनासंग भने दुवै खेलमा पराजित भएको थियो। विश्वकप लिग-२ अंकतालिकामा नेपाल ४ खेलमा २ जित र २ हार पछि छैठौं स्थानमा रहेको छ। विश्वकप लिग-२ अन्तर्गत नेपालले अझै ३२ वटा खेलहरु खेल्न बाँकी रहेको छ।

विश्वकप लिग-२ अंकतालिकाको शिर्ष-३ स्थानमा रहन सके नेपालले सन् भारतमा आयोजना हुने २०२३ एकदिवसीय विश्वकपको लागि छनोट प्रतियोगिता खेल्न पाउनेछ भने अर्को साइकलको लागि विश्वकप सुपर लिगमा समेत छनोट हुनेछ। विश्वकप लिग-२ को शिर्ष-३ स्थानमा पर्न असफल भए २०२२ विश्वकप छनोट प्ले-अफमा नेपालले विश्वकप छनोट प्रतियोगिता पुग्ने अर्को मौका पाउनेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy