सन्दिप र करनको कीर्तिमानी बलिंग, ओमान १२१ रनमै सिमित

नेपालको ओमान भ्रमण अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम तथा चौंथो खेलमा नेपालले ओमानसंग प्रतिस्पर्धा गरिरहेको छ।

अल अमिरात मैदानमा टस हारेर ब्याटिंग गरेको ओमानले ३७.१ ओभरमा सम्पूर्ण विकेट गुमाएर १२१ रन मात्र बनाएको छ। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल बिरुद्ध ओमानको यो सबैभन्दा कम योगफल हो भने समग्रमा दोश्रो कम योगफल हो।

ओमानको लागि कप्तान जिशान मक्सुदले सर्वाधिक ४१ रन बनाए। जतिन्दर सिंहले १३, नशिम खुसिले १२ रन, कलेमुल्लाहले ११ तथा बिलाल खानले ९ रन योगदान दिए।

खराब सुरुवात गरेको ओमानले सुरुवात देखि निरन्तर विकेट गुमाउन पुग्यो। करन केसीले ओमानका माथिल्लो क्रमका ३ ब्याट्सम्यान जतिन्दर सिंह, सुफ्यान मेहमुद र आयान खानलाई पेभेलियन फर्काए। त्यसपछि नेपाल रोकिएन लेग स्पिनर सन्दिप लामिछानेले मोहम्मद नदीम, सुरज कुमार र नेस्टर धाम्बालाई आउट गरे। सन्दिपले १३ औं ओभरमा चौथों र पाँचौ बलमा सुरज र नेस्टरको विकेट लिए। फलस्वरुप ४३ रनको योगफलमा ओमानले ६ विकेट गुमाउन पुग्यो।

पाँचौ नम्बरमा ब्याटिंग गरेका ओमान कप्तान जिशान मक्सुदले सन्दिप गौडसंग सातौँ विकेटकको लागि २१ रनको साझेदारी गरे। २२ औ ओभरमा शरद भेसावकरले गौडलाई क्याच आउट गराए। त्यसपछि मक्सुदले नवौं विकेटको लागि कलेमुल्लाहसंग २० रन जोड़ा। ३५ औं ओभरमा करनले मक्सुदलाई विकेटकिपर बिनोद भण्डारीबाट क्याच आउट गराए। दशौँ विकेटको लागि कलेमुल्लाह र बिलाल खानले १५ रन जोडे। सन्दिपले बिलाललाई बोल्ड गर्दै ओमानको इनिंग्स समाप्त पारे।

नेपालको बलिंगमा करन केसी ( ८-१-२५-४ ) र सन्दिप लामिछाने ( ८.१-२-१८-४ ) ले समान ४ विकेट लिए भने शरद भेसावकरले २ विकेट ( ६-१-२१-२ ) लिए।

सन्दिप र करनको कीर्तिमान : करन केसी ओमान बिरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन्। नामिबियाका जोनाथन स्मिथ ( ८ विकेट ) लाई उछिन्दै करनले यो कीर्तिमान आफ्नो नाम गरेका हुन्। ओमान बिरुद्ध ४ खेल खेल्ने क्रममा करनले कुल १० विकेट लिएका छन्। यस्तै सन्दिपको स्पेल ८.१-२-१८-४ ) ओमान बिरुद्ध नेपाली बलरको सबैभन्दा उत्कृस्ट बलिंग स्पेल हो।

सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेपछि दोश्रो र तेश्रो खेलमा ओमान र अमेरिकासंग क्रमशः ५ र ६ विकेटले पराजित भएको थियो। आज जित दर्ता गरे नेपाल नामिबिया र युएईलाई पछि पार्दै विश्वकप लिग-२ अंकतालिकाको चौंथो स्थानमा उक्लनेछ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy