फिलिपिन्स बिरुद्ध नेपालको कीर्तिमानी विशाल जित, सेमीफाइनल सम्भावना बलियो

फिलिपिन्सलाई १३६ रनको विशाल अन्तरले पराजित गर्दै नेपालले ओमानमा जारी टि-ट्वान्टी विश्वकप छनोट प्रतियोगितामा लगातार दोश्रो जित दर्ता गरेको हो।

अल अमिरात मैदानमा नेपालले दिएको २१९ रनको विशाल लक्ष्य पछ्याउने क्रममा फिलिपिन्सले २० ओभर ब्याटिंग गर्दै ८ विकेट क्षेतीमा ८२ रन मात्र बनौं सक्यो। १३७ रनको जित नेपालको टि-२० अन्तर्राष्ट्रियमा तेश्रो ठूलो जित हो भने विदेशी भूमिमा नेपालको सबैभन्दा ठूलो रन अन्तरको जित हो।

फिलिपिन्सको ब्याटिंगमा जोर्डन अलेग्राले सर्वाधिक २७ रन, ड्यानियल स्मिथले २० रन, कप्तान जोनाथन हिलले ११ रन बनाए।

नेपालको बलिंगमा कप्तान सन्दिप लामिछानेले सर्वाधिक तिन विकेट लिए जुन क्रममा ४ ओभरमा ९ रन मात्र खर्चिए। यस्तै गुल्सन झा ( ३-०-१६-१ ) , जितेन्द्र मुखिया ( ३-०-५-१ ) , कुशल मल्ल ( ४-०-१८-१ ) , अविनाश बोहरा ( ३-०-२१-१ ) र दिपेन्द्र सिंह ऐरीले ( २-०-९-१ ) समान एक विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट क्षेतीमा २१८ रन बनाएको थियो।

ओपनर आसिफ शेख खाता नखोली तथा कुशल मल्ल १२ रन बनाएर आउट भए पछि। तेश्रो विकेटको लागि कीर्तिमानी साझेदारी गरे। १७१ रनको साझेदारी गरेपछि दिपेन्द्र उन्नाईसौं ओभरमा गुरभुपिन्दर चोहानबाट बोल्ड भए। दिपेन्द्रले ४७ बलमा ६ चौका र ४ छक्का मद्दतले ८३ रन बनाए। १७१ रनको साझेदारी टि-२० अन्तर्राष्ट्रियमा नेपालको सर्वाधिक साझेदारी हो भने टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा विश्वकै आठौँ ठूलो साझेदारी हो। यस अघि पारस खड्का र आरिफ शेखले २०१९ मा सिंगापुर बिरुद्ध दोश्रो विकेटको लागि १४५ रनको साझेदारी गरेका थिए जुन रेकर्ड टुटेको हो।

दिपेन्द्रको विकेट पछि कुशलले अन्तिमसम्म ब्याटिंग गरे। उनले ६१ बलमा १३ चौका र १ छक्का मद्दतले अविजित १०४ रन बनाए। लोकेश बम ६ रनमा अविजित रहे जसले ३ बलमा १ छक्का प्रहार गरे। पारस खड्का र ज्ञानेन्द्र मल्लपछि कुशल नेपालको लागि टि-ट्वान्टी अन्तर्राष्ट्रिय शतक बनाउने तेश्रो खेलाडी बनेका छन्। कुशलले ५७ बलमा शतक पुरा गरे।

फिलिपिन्सको बलिंगमा ड्यानियल स्मिथ, मिगी पोडोस्कि र गुरभुपिन्दर चोहानले समान एक विकेट लिए।

प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले आयोजक ओमनालाई ३९ रनले पराजित गरेको थियो। नेपालले समुह चरणको अन्तिम खेल क्यानडा बिरुद्ध सोमबार खेल्नेछ। खेल नेपाली समय ३:४५ बजे बेलुका सुरु हुनेछ।

आजै सम्पन्न समुह ‘बि’ अन्तर्गतको खेलमा ओमानले क्यानडालाई ९ विकेटले पराजित गर्दै सेमीफाइनल सम्भावना कायमै राखेको छ। नेपाल र क्यानडा बीचको खेलमा नेपाल विजयी भए समुह विजेताको रुपमा सेमीफाइनल पुग्नेछ र समुह ‘ए’ को उपविजेतासंग प्रतिस्पर्धा गर्नेछ। नेपाललाई क्यानडाले पराजित गरेको खण्डमा पनि नेपाल नेट रन रेटमा शिर्ष दुईमा रहँदै सेमीफाइनल पुग्ने सम्भावना जीवित रहन्छ।

Leave a Reply

© 2025 WicketNepal - WordPress Theme by WPEnjoy